स्वास्थ्य

अलपत्रको उद्धारमा कुरुप द‌ृश्य ! सोलुदुधकुण्डका मेयर र उपमेयर यसरी भिड्दैछन्‌

बैशाख १७, २०७७

    सोलुखुम्बु : कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनका बेला अन्यत्र अलपत्र परेका नागरिक उद्धारको विषयलाई लिएर साेलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा विवाद भएको छ। 

    नगरका मेयर नाम्गेल जाङबु शेर्पा र उपमेयर कल्पना राईबीच नागरिक उद्धारको जस कसले लिने भन्ने सवालमा विवाद भएको हो। मेयर र उपमेयरले विज्ञप्तिबाजी नै गरेर एक-अर्कोलाई खुइल्याउन लागिपरेका छन्‌।


    उपप्रमुख कल्पना राईले निकालेको प्रेस नोट ।

    उपमेयर कल्पना राईले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो नेतृत्वमा खटिएको टोलीले लकडाउनमा अलपत्र ६३३ जना नगरवासीको उद्धार गरेको दावी गरेकी छिन्‌। सो विज्ञप्तीको खण्डन गर्दै मेयर नाम्गेल जाङबु शेर्पा पक्षले मगंलबार अर्को विज्ञप्ती जारी गरेको छ।

    नगरप्रवक्ता शारदा माया तामाङले हस्ताक्षर गरेको विज्ञप्तीमा ९६ जना आफ्नै पहलकदमीमा, ३६० जना निजी खर्चमा र ४३९ जना मेयर नाम्गेल जाङबु शेर्पाको व्यक्तिगत खर्चबाट उद्धार गरी नगरपालिका ल्याइएको दावी गरिएको छ। विपद्को घडीमा सामुहिक रुपमा राहत र उद्धारमा खटिनुको सट्टा उपमेयर राईले कोठाभित्र बसेर ६३३ जनाको उद्धार गरेको भन्ने भ्रमपुर्ण र आधारहीन दावी गरेको सो विज्ञप्तिमा उल्लेख छ। 


    मेयर नाम्गेल जाङबु शेर्पाका तर्फबाट नगर प्रवक्ता शारदा मायाँ तामाङले निकालेको प्रेस विज्ञप्ति ।

    मेयर पक्षले आफूमाथि निशाना साँधेपछि उपमेयर पक्षले उद्धार गरिएका नागरिकको सम्पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ। नागरिकको उद्धार गरिरहँदा भएको सम्पुर्ण गतिविधिको प्रमाण पेश गर्न आफूहरु तयार रहेको समेत उनीहरुले सामाजिक सञ्जालमा दावी गरिरहेका छन्‌।

    उता संघीय सांसद हेमकुमार राई (शुरवीर)ले जिल्लाको आठवटै स्थानीय तहको नागरिकलाई जिल्ला ल्याउने सवालमा आफूले विशेष पहल गरेको बताएका छन्‌। उनका अनुसार करिब तीन हजार आठ सय नागरिकलाई जिल्ला ल्याइएको छ।

    अलपत्र नागरिकको उद्धार र राहतमा भएको खिचातानीले विपद्‌को मौकामा जनप्रतिनिधिमा निकै तल्लो हदको राजनीतिक संस्कार रहेको पुष्टि भएको नगरवासीहरू बताउँछन्‌।

    बरू गाउँपालिका नै अब्बल !

    सोलुदुधकुण्ड नगरपालिकाले मात्रै अन्यत्र अलपत्र परेका नागरिक उद्धार गरेको होइन। बरू जिल्लाका सातवटा गाउँपालिकाले पनि कार्यपालिका बैठकबाट निर्णय गराएरै स्थानीयको उद्धार र राहतमा काम गरिरहेका छन्‌। ती गाउँपालिकामा सोलुदुधकुण्डमा झैं राजनीतिक रडाको मच्चिएको छैन। 

    गाउँपालिकाहरूले कार्यपालिका बैठकबाटै निर्णय गरी उद्धार र राहतमा जुटेपनि सोलुदुधकुण्ड नगरपालिकाले यो काम गर्न कुनै औपचारिक निर्णय नै गरेको थिएन। अर्थात, नागरिक उद्धारका नाममा एक-अर्को पक्षले जस लिन व्यवस्थित ढंगले काम नगरेका हुन्‌। 

    गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नै नपुगेको खुम्बुपासाङल्हामु गाउँपालिकाले वैशाख ३ गते कार्यपालिकाको बैठक बोलाएर अन्यत्र अलपत्र नागरिकको उद्धार गर्ने निर्णय गरेको थियो। यो गाउँपालिकाको स्थानीय सरकारले अहिलेसम्म ३४० जनाको उद्धार गरिसकेको छ।

    यस्तै, थुलुङदुधकोशी गाउँपालिकाले पनि वैशाख ८ गते कार्यपालिका बैठक डाकेर पालिका बाहिर असहज अवस्थामा रहेका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो। यसले सबैभन्दा धेरै ११९८ जना नागरिकको उद्धार गरेको छ। आफूहरूले निकै व्यवस्थित ढंगबाट स्थानीय नागरिकको उद्धार गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए।

    विभिन्न स्थानीय तहले कार्यपालिका बैठकले निर्णय गरेर राहत तथा उद्धार कार्य थालनी गरेको भएपनि जिल्लाको एक मात्र नगरपालिकाले यस सम्बन्धमा निर्णय नै गरेको छैन। नगरपालिकाको आधिकारीक वेवसाइटमा उल्लेख भएअनुसार माघ २९ यता नगरकार्यपालिकाको बैठक समेत बसेको छैन।

    नगरपालिकाको तर्फबाट राहत तथा उद्धार गरिनुपर्ने भएपनि जनप्रतिनिधि आफैँले व्यक्तिगत ढंगबाट राहत वितरण गर्ने र उद्धारको तमासा देखाएको तथा सबै स्थानीय तहका कर्मचारी र सम्पुर्ण जनप्रतिनिधि एकजुट भएर विपद्को सामना गरिरहेका बेला नगरपालिकामा विवाद देखिनु लज्जासपद भएको स्थानीयको भनाई छ।

भोजराज कार्की

कार्की थाहा खबरका सोलुखुम्बु समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]