राजनीति

बालुवाटारमा ओली समूहको बैठक, रणनीति बनाइँदै

बहुमत जुटाउने प्रयास, साँझ सचिवालय बैठक

बैशाख १७, २०७७

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्किँदै गइरहेका बेला बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी ओली समूहको बैठक बसिरहेको छ।

    बुधबार दिउँसो काठमाडौं उपत्यकामा उपलब्ध ओली पक्षका सांसद र केन्द्रीय सदस्यहरु बालुवाटार पुगेका हुन्। 'हामी अहिले बालुवाटारमा छौं', एकजना सांसदले थाहाखबरसँग भने, 'बैठक चलिरहेको छ। साँझमा सचिवालय बस्‍ने भएकाले सम्भावित रणनीतिबारेमा छलफल भइरहेको छ।'

    नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईमध्ये एक पद छाड्न माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहले दबाब बढाउँदै लगेपछि यो बैठक भएको हो। 

    यो बैठकले अब आइपर्ने जुनसुकै चुनौतीसँग मुकाविला गर्ने गरी रणनीति बनाउने भएको छ। सांसद र केन्द्रीय सदस्यहरुलाई पनि त्यही अनुसार तयार रहन निर्देशन दिइने भएको छ।

    प्रचण्डले आफूलाई एकल अध्यक्ष बनाउन ओलीमाथि दबाब बढाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीलाई दुईमध्ये एक पद त्याग्‍न भनिरहेका छन्। तर ओलीले भने तीनजना अध्यक्षमा सहमति गरेर जान प्रस्ताव गरेका छन्। तर नेपाल समूहले उक्त कुरालाई अस्वीकार गरेको छ।

    संघीय सरकारका मन्त्री र प्रदेशका मुख्यममन्त्री चयनका बेला बहुमतको आडमा आफूहरुलाई पेलेको भन्दै नेपाल पक्ष क्रुद्ध छ। यस्तोमा ओलीले संघीय सरकारका केही मन्त्री र प्रदेशका कम्तीमा दुईजना मुख्यमन्त्री नेपाल पक्षबाट थप्‍ने प्रस्ताव पनि गरेका छन्। तर नेपाल पक्षले हाताहाती सहमति कार्यान्वयन हुनुपर्ने अडान राखेपछि ओलीलाई अफ्ठ्यारो परेको छ।

    तर ओली पक्षले नेपाललाई जति पेले पनि प्रचण्ड पक्षमा जान नसक्ने आंकलन गरेर पेल्ने रणनितीमा रहेको छ । यो बुझेका ओली पक्षका नेताहरु चाहिं यो बेलामा प्रचण्डसँग मिलेर भए पनि ओली फाल्नु पर्ने दवाव दिइरहेका छन् भने केहिले प्रचण्डको ढुलमुले एवं फुटाउ र राजगर नीतिको इतिहास भएकाले सबैपक्षलाई मिलाएर जाने पक्षमा छन् । 

    नेकपामा अहिलेसम्म संसदीय दलमा ७८ जना सांसदका साथ रहेको छ। अर्कातिर नेपालतर्फ ४३ जना र प्रचण्डको पक्षमा ५३ जना सांसद रहेको बताइन्छ। ‌ओलीले यो पटक पनि विवादलाई सकेसम्म प्रचण्ड र नेपालसँगै बसेर टुंग्याउन चाहेको ओली पक्षका नेताहरु बताउँछन्। तर ओली व्यवहारमा नरम  देखिएका छैनन्।  त्यसैले नेपाल र दाहाल समूह अहिले देखिएको विवाद सचिवालयमा छलफलपछि स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर छलफल हुनुपर्ने अडानमा छन्।

    नेकपाका सचिवालय बैठक आजै बालुवाटारमा अपरान्ह ५ बजे बस्‍ने कार्यक्रम छ। यस्तोमा ओली समूहको गुटभेला अहिले बालुवाटारमा बसिरहेको छ। मंगलबार मात्रै ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटारमै भेटेका थिए। उक्त भेटमा प्रचण्डले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद त्याग्‍न दबाब दिएको खुलेको छ। 

    सोमबार मात्रै बालुवाटारमै भएको सांसदहरुसँगको अन्तरक्रियामा ओलीले अन्य समूहहरु आक्रमक ढंगले आएकाले परिआएमा पार्टी विभाजनसम्मको अवस्थाको सामनाका लागि तयार रहन आग्रह गरेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]