काठमाडौं : बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका ...
इलाम : सूर्योदय नगरपालिकाका किसान डम्बर कटुवालले ५० रोपनीमा चिया खेती गरेका छन्। अघिल्ला वर्षहरुमा चियाबाट आएको पैसाले नै उनको परिवार धानेको थियो। तर, यो वर्ष उनी जस्ता इलामका धेरै किसानलाई समस्या छ। कोरोनाका कारण चियाको मुख्य सिजनमा सबै उत्पादन बिक्री गर्न नपाउँदा किसानलाई चिया निल्नु र ओकल्नु भएको छ।
अघिल्ला वर्षहरुमा त चिया बेचेर अन्न किनेर खाइएकै थियो। यो वर्ष त त्यो पनि रहेन्। ’ उनी गुनासो गर्छन्,‘जेनतेनले अलि अलि चिया त टिपेर उद्योगमा पठाइयो पैसा कहिले आउने हो टुंगो छैन्। अब त चियाको पैसा आउला र खाउला भन्ने आस नै छैन।’ सरकारले लगाएको लकडाउनका कारण किसानहरुले समयमा चिया टिप्न पाएनन्। जसले गर्दा चिया बाँझिन सुरु गर्यो। ढिला भए पनि चिया टिपेका किसानहरुले यस वर्ष आफनो उत्पादनको मुल्य कसरी पाउने भन्ने यकिन नै छैन।
‘चिया उधारोमा दिइयो साहुले चामल उधारो दिँदैन’, कट्वाल गुनासो पोख्छन्,‘अब त सिजन सकिन लागेर चिया पनि बाँझिन लाग्यो।’ यस वर्ष कोरोनाले प्रभाव पारेको चिया क्षेत्रलाई अघिल्लो वर्ष मजदुरहरुको आन्दोलनको प्रभावमा पर्यो।
२०७५ चैत्र १७ गतेबाट श्रम ऐन कार्यान्वयनको माग राख्दै ४५ दिनसम्म मजदुरले उद्योग ठप्प पारे। जसको प्रभावले थलिएको चिया उद्योग तङ्ग्रिन पाएको ८ महिना नवित्दै कोरानोले गाज्न सुरु गर्यो। अघिल्लो वर्ष वैशाख १५ गते २३ औ राष्ट्रिय चिया दिवस आफूहरूलाई भोकै पेट राखेर सरकारले चिया उद्योगीसँग ‘साँठगाँठ’ गरेको भन्दै श्रमिकले आन्दोलन गर्दा खल्लो बन्यो। २४ औ दिवसलाई अहिले कोरोनाले।
उद्योगीलाई समेत किसानलाई भुक्तानी दिन समस्या छ। ‘विश्व बजारको अवस्था अहिले तहसनहस छ। किसानले उत्पादन गरेको कच्च पर्दाथ खेर नजाओस भनेर खरिद गरेका छौ। भोली बजारमा तयारी चिया कसरी बिक्छ त्यसैको आधारमा हरियोपत्तीको मुल्य दिने हो’, बर्दुभ्याली चिया उद्योगका संचालक तथा सूर्योदय टि प्रोडयुसर्स एसोसिएसनका प्रवक्ता बुद्ध तामाङले भने।
कोरोनाको अवस्थामा उद्योग संचालनमा घाटा भएपनि किसानहरुको हितका लागि संचालनको विकल्प नभएको तामाङको भनाई छ।
नेपाली चिया क्षेत्रको भविष्य अन्योलग्रस्त छ। एका तर्फ किसानले आफनो श्रम अनुसारको मूल्य नपाइरहँदा तयारी चियाले अन्तर्राष्ट्रिय बजारमा मूल्य पाउँदैन। अर्को उद्योगीहरुले कौडीको भाउमा चिया बेच्नुपर्ने बाध्यता छ।
भारत परस्त बजारले सधैँ समस्या
भारत परस्त बजार रहेको नेपालको चियामा बारम्बार समस्या आइरहन्छ। कहिले गुणस्तर त कहिले प्रेस्टिसाइडको असर देखाएर नेपाली चिया सिमामा नरोकिएको वर्ष नै छैन्।
नेपालबाट तयारी चिया कोलकातास्थित ‘सेन्ट्रल फुड ल्याबोरेटरी’ मा नमूना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने गरिएको छ। जसले नेपाली किसान र व्यापारी दुवै मारमा परेका छन्। तयारी चिया युरोप पठाउन समेत नेपालका उद्योगीलाई समस्या छ। तेश्रो मुलुक पठाउने चियालाई अर्गानिक प्रमाणिकरण गर्नुपर्ने हुन्छ। जुन नेपाली किसानको क्षमताले धान्न समस्या छ।
प्रदेशसभा सदस्य तथा चिया उद्यमी काजीमान कागते किसान एक्लैले अर्गानिक प्रमाणिकरण गर्न नसक्ने बताउँछन्। ‘अर्गानिक प्रमाणित गर्न लाखौ खर्च लाग्छ जुन साना किसानको क्षमताले भ्याउन मुस्किल छ। वर्षेनी नविरकण समते गर्नुपर्ने हुन्छ’, उनी भन्छन्।
जर्मन टी काउन्सिल र युरोपियन टी कमिटीले सन् २००५ मा खाद्य पदार्थको रहल अवशेषको नयाँ मापदण्ड तयार गरेपछि रासायनिक पदार्थ मिसिएको चिया तेश्रो मुलुकमा निकासी हुन छाडेको छ। त्यसअघि काउन्सील र कमिटीमार्फत नै नेपाली अर्थोडक्स चिया युरोप र अमेरिका जाने गर्दथ्यो। किसानहरुले अन्तर्राष्ट्रिय बजारलाई नै लक्षित गरेर जैविक चिया तयार गरिरहेका छन्।
नेपाली बजारमा सस्तो सिटिसी चिया खपत बढी हुन्छ। सिटिसीसरह मूल्यमा अर्थोडक्स चिया बेच्न नसकिने भएकाले अन्तर्राष्ट्रिय बजारमा जानुको विकल्प नभएको साना उद्यमीहरुको गुनासो छ।
युरोप निर्यातमा पहुँच पुग्दैन
नेपालको चिया भारत बाहेक १८ वटा भन्दा बढि देशमा पुग्ने गरेको व्यापार तथा निकासी प्रवद्धन केन्द्रको तथ्यांकले देखाउँछ। तर साना चिया उद्यमीका लागि प्रशोधीत चियाको ९० प्रतिशत बजार भारत नै रहेको चिया तथा कफि विकास वोर्डको विवरणमा उल्लेख छ। नेपालको करिब ८५ प्रतिशत चिया भारत जाने गरेका छ।
सन्दकफु टि प्रोसेर्ससका प्रोपाइटर एवम चियाबिज्ञ चन्द्रभुषण सुब्बाका अनुसार नेपालमा वार्षिक उत्पादन हुने ५० लाख किलो चियामध्ये ८५ प्रतिशत भारत जान्छ। भारत निकासी भएर बाँकी रहेको १५ प्रतिशत चियाको पनि ३० देखी ४० प्रतिशत मात्र अर्गानिक प्रमाणित भइ तेश्रो मुलुक निर्यात हुने गरेको छ।
तयारी चिया अमेरिका वा जर्मन निर्यात गर्नका लागि १२ डलरसम्म कार्गो भाडा तिर्नु परिरहेको चन्द्रभुषण सुब्बाले बताए। उनले भने,‘तीन हजारको चिया १२ सय रुपैँयासम्म कार्गो भाडा खर्चेर पठाउनुपर्छ।’ थोरै चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको छ। धेरै चिया निर्यात गर्दा भने पाँच डलर जति मात्रै पर्ने उनी बताउँछन्।
१४ जिल्लामा व्यावसायिक चिया खेती
व्यावसाकिय चिया खेती सर्वेक्षण प्रतिवेदन २०७५ का अनुसार १४ जिल्लामा व्यवसायिक खेती हुने चियामा ९ हजार २ सय ३६ कृषक तथा चिया उत्पादक व्यवसायीहरु आवद्ध रहेका छन्। जसमध्ये ९ हजार १ सय २७ ले व्यक्तिगत रुपमा र एक सय ८ संस्थाहरु संस्थागत रुपमा चिया उत्पादन गर्दै आएका छन्।
१२ हजार ६६ हेक्टर जमिनमा चिया खेती हुँदै आएको नेपालमा कुल ११ हजार ४१ वटा बगानहरु रहेको छन्। जसमध्ये इलाममा मात्र ६ हजार ९ सय ९५ वटा रहेका छन्। चिया क्षेत्रमा ५० हजार बढी मजदूरहरु स्थायी रुपमा काम गर्दै आएका छन्।
इलामका ९६ प्रतिशत किसानले आफ्नै बारी र ४ प्रतिशतले भाडामा जग्गा लिएर चिया खेती गरेका छन्। ५० को दशकमा पूर्वी नेपालका इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुममा अधिक विस्तार भएको र बाँकी ९ जिल्लामा त्यसपछि चिया खेती विस्तार भएको पाइन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।