जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको पीसीआर मेसिन कीट अभावमा प्रयोगविहीन भएको छ।
कोराना परिक्षणका लागि आवश्यक पर्ने कीट नहुँदा ल्याइएको पीसीआर मेसिन प्रयोगमा ल्याउन नसकिएको हो। उक्त मेसिन सोमबार जुम्ला ल्याएर जडानसमेत भइसकेको छ।
अस्पताल निर्देशक डाक्टर मंगल रावलका अनुसार कीट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था छैन। आवश्यक जनशक्ति तयारी अवस्थामा रहेपनि कीट नहुँदा मेसिन प्रयोगमा ल्याउन नसकिएको उनले बताए। 'सरकारसँग कीट माग गरिएको छ, आगामी शुक्रबारसम्म काठमाडौंमा आइपुग्ने जानकारी पाएका छौँ,' उनले भने, ‘कीट आउनासाथ परीक्षण कार्य थालिनेछ।
प्रतिष्ठानले यसअघि सरकारसँग पीसीआर मेसिन माग गरेको थियो। तर सरकारबाट प्राप्त गर्न संभव नदेखिएपछि प्रतिष्ठानले आफ्नै लगानीमा बोलपत्र आह्वान गरी चीनबाट पीसीआर मेसिन जुम्ला ल्याएको हो।
पीसीआर मेसिन ल्याएपनि रिएजेण्ट र कीट उपलब्ध नहुँदासम्म कोरोना परीक्षण गर्न सकिँदैन। साविकको समयमा खुला बजारमै कीट पाइने गरेपनि यतिखेर सो समेत सजिलै खरिद गर्न सकिने अवस्था नरहेको प्रतिष्ठानले जनाएको छ।
सरकारले ल्याउन सक्ने भएकोले ५०० वटा कीट माग गरिएको छ। तत्काललाई ३०० वटा कीट आएपनि परीक्षण कार्य अघि बढाउन सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।
पीसीआर मेसिनबाट एक पटकमा ९६ जनाको स्वाब परिक्षण गर्न सकिन्छ। मेसिन सञ्चालन गर्ने दुईजना कर्मचारीले सुर्खेतमा तालिम लिइरहेका छन्। कीट र कर्मचारी आएलगत्तै जुम्लामै पीसीआर मेसिनबाट कोरोना परीक्षण गर्न सकिनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।