स्थानीय निर्वाचन-२०७९

काेराेना संक्रमितकाे सम्पर्कमा आएका बाह्रदशीका ६२ जनाकै पिसिआर नेगेटिभ

सिल गरिएकाे क्षेत्र हटाउने तयारी

बैशाख १८, २०७७

    झापा : झापाको बाह्रदशी गाउँपालिकामा कोरोना सङ्क्रमितका सम्पर्कमा आएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

    कोरोना सङ्क्रमित बिरामीका सम्पर्कका आएका उनका तीन जना परिवारका सदस्यसहित आफन्तजन र छरछिमेक गरी ६२ जनाको स्वाब परीक्षणका लागि कोसी अस्पताल विराटनगरको प्रयोगशालामा पठाइएको थियो।

    सबैको रिपोर्ट नेगेटिभ आएपछि हाललाई बाह्रदशी गाउँपालिका कोरोनाको त्रासबाट मुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए। ‘पहिलो चरणकै सबै रिपोर्ट नेगेटिभ आएकोले अब दोस्रो चरणको परीक्षण गर्नु पर्दैन,' उनले भने।

    दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सभाबाट फर्किएका बाह्रदशी गाउँपालिका– ४ स्थित चकचकी निवासी ५० वर्षीय जमाती पुरुष कोरोना भेटिएको हो। उनी स्थानीय मदरसा दारुल उलुम प्राविका प्रधानाध्यापक हुन्।

    यता गाउँपालिकामा कोरोना भाइरस फैलिन नदिन वडा नम्बर ४ स्थित पूर्वतर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रिवास र दक्षिणमा राधानगर घाग्रा खोलासम्मको चार किल्ला गाउँपालिकाले सिल गरिसकेको छ। त्यहाँ आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ। पिसिआरमा सबैको रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकाले सिल हटाउने तयारी गरिरहेको जनाइएको छ। 

    जिल्लाका १५ वटै स्थानीय तहमा अहिलेसम्म २ सय ७० जनाको पिसिआर परीक्षण गरिएको छ। त्यसमध्ये दमक र बाह्रदशी गरी दुई जनामा कोरोना सङ्क्रमित देखिएको हो। उनीहरूको कोरोना अस्पताल विराटनगरमा उपचार भइरहेको फोकल पर्सन चौलागाईंले बताए। उनका अनुसार ४० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। 

    जिल्लामा ९ सय ७० जनाको आरडिटी परीक्षणसमेत गरिएको छ। ‘आरडिटी परीक्षणको कार्य अहिले पनि भइरहेको छ,’ उनले भने, ‘जिल्लाका क्‍वारेन्टाइनमा बसेका १ सय ३३ जनाको आरडिटी र पिसिआर परीक्षण गर्न बाँकी छ।’ क्‍वारेन्टाइनमा आउने जाने क्रम जारी रहेकोले परीक्षण पनि भइरहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]