समाज

लकडाउनले सिन्धुली, रामेछाप, दोलखामा मल अभाव

बैशाख १९, २०७७

    सिन्धुली : घ्याङलेख गाउँपालिका–४ नेत्रकालीस्थित नेत्रकाली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बुद्धिमान स्याङतानका अनुसार नेत्रकालीमा मात्रै करिब ९०० बोरा मल आवश्यक पर्छ। किसानले सहकारीमा माग गरेका आधारमा बिहीबार मल लिन उनी गाडी लिएर सिन्धुलीस्थित कृषि सामग्री संस्थान कार्यालयमा पुगे। 

    तर, कृषि सामग्री संस्थान सिन्धुली कार्यालयले भने लकडाउनका कारण पर्याप्त मल आउन नसकेको भन्दै उनले माग गरे जति मल दिएन। उनले भने, ‘लकडाउनका कारण मल नै आएको छैन भनेर कार्यालयले मल नै दिएन। उता किसानले मल मागेका मागै छन्।’

    लकडाउनका कारण कृषि सामग्री संस्थान सिन्धुलीमा वीरगञ्जबाट पर्याप्त युरिया मल नआउँदा अभाव भएको छ। सिन्धुलीसहित रामेछाप र दोलखा जिल्लालाई आवश्यक मल वितरण गर्दै आएको कृषि सामग्री संस्थान सिन्धुलीमा लकडाउनका कारण मल आउन नसकेपछि मलको अभाव भएको हो। 

    तीनपाटन गाउपालिका–४ चकमकेस्थित शुभप्रभात कृषि सहकारी संस्थाका अध्यक्ष दिनानाथ घिमिरे पनि मागअनुसार सहकारीमा मल लिन कार्यालयमा आएका थिए। तर, आफुले चाहेजति मल पाएनन्। मल अभाव भएपछि खेतीबालीमा उत्पादन घट्ने उनको चिन्ता छ।

    सिन्धुलीमा अहिले सबैभन्दा बढी युरिया मलको अभाव रहेको छ। कृषि सामग्री संस्थान सिन्धुलीमा लकडाउन सुरु भएपछि अहिले ५२ दशमलब ८५० मेट्रिकटन अर्थात् एक हजार ५७ बोरा युरिया मल आएकोमा सबै मल बिक्री भइसकेको कार्यालयका निमित्त प्रमुख वरिष्ठ सहायक सन्तोषकुमार यादवले बताए।

    यादवका अनुसार डिएपी मलको भने अभाव छैन। लकडाउनको अवधिमा डिएपी मल १०२ दशमलब ३५० मेट्रिकटन अर्थात् दुई हजार ४७ बोरा स्टक रहेकामा २८ दशमलब ८५० मेट्रिकटन अर्थात् ५७७ बोरो मात्रै बिक्री भएको छ। किसानले डिएपी मल कम प्रयोग गरेकाले बिक्री पनि कम भएको उनको भनाइ छ।

    पोटास १९ दशमबल ९०० मेट्रिकटन अर्थात् ३९८ बोरामध्ये १ दशमलब १०१ मेट्रिकटन बिक्री भएको छ। ‘हाम्रो वार्षिक बजेट भनेको युरिया दुई हजार मेट्रिकटन, डिएपी ५०० मेट्रिकटन र र पोटास भनेको ३० देखि ३५ मेट्रिकटन बजेट परित हुने गर्छ,’ यादवले भने, ‘यस वर्ष पनि यही आधारमा बजेट पास भएको छ तर लकडाउनले गर्दा सबै ठाउँमा आयता ठप्प छ। यही कारण मलको हाहाकार भएको हो।’

    कृषि सामग्री संस्थान सिन्धुलीले सिन्धुली, रामेछाप र दोलखाका सहकारी संस्थामार्फत किसानलाई मल वितरण गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]