समाज

कोरोनाको नयाँ 'इपिसेन्टर' बन्दै छ कर्णाली

सुस्त परीक्षण, कमजोर व्यवस्थापनले महामारी रूप लिँदै

जेठ २२, २०७७

    सुर्खेत। चिंगाड गाउँपालिका सुर्खेतका ९ स्थानीय तहमध्ये सबैभन्दा सानो हो। जम्मा ६ वटा वडा रहेको चिंगाडमा २०६८ सालको जनगणनाअनुसार साढे १७ हजार जनसंख्या छ। 

    सानो पालिकामा भए पनि अहिले भारतबाट आएका नागरिकलाई व्यवस्थापन गर्न गाउँपालिकालाई भ्याइनभ्याई छ। यहाँका १ हजार ८ सय २० जना रोजगारीका लागि भारत गएका छन्। अन्य तेस्रो मुलुकमा गएका सहित साढे २४ सय नागरिक विदेशमा रहेका गाउँपालिकासँग तथ्यांक छ।

    गत मंगलबारसम्म भारतबाट मात्रै ९ सय २७ जना यहाँका क्वारेन्टाइनमा छन्। भारतमा रोजगारीमा गएका संख्याको यो आधा मात्र हो। अरु पनि आउने क्रममै रहेका गाउँपालिकालाई जानकारी आएको छ। 

    तर गाउँपालिकालाई भने अहिले नै क्वारेन्टाइन व्यवस्थापन गर्न हैरान भइसकेको छ। गाउँपालिका अध्यक्ष देवबहादुर चन्दले व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको बताइसकेका छन्। 

    ‘हाम्रो बिजोग भएको छ’, उनले भने, ‘भारतबाट मान्छे आउने क्रम जारी छ। तर हामीसँग व्यवस्थापन गर्ने कुनै प्रकारका पूर्वाधार छैनन्।’ भारतबाट करिब एक हजार मानिस गाउँपालिकाको सम्पर्कमा आइसकेका छन्। उनीहरुलाई स्कुल तथा सार्वजनिक भवन र केही निजी आवास गरी १८ ठाउँमा क्वारेन्टाइन बनाएर राखिएको छ। एउटा कोठामा  १०÷१२ जनाको संख्या उनीहरु छन्। 

    २०६८ सालको जनगणनाअनुसार साढे १७ हजार जनसंख्या यो गाउँपालिकामा छन्। यो त एउटा सानो गाँउपालिकाको झलक मात्र हो। कर्णालीका प्रायः नागरिक वैदेशिक रोजगारीका लागि भारत र सानो संख्यामा तेस्रो मुलुकमा जाने गरेका छन्। 

    प्रदेशभर अहिले भारतमा रहेका नागरिक धमाधम गाउँ फर्किँदै छन्।  गाउँगाउँका स्कुलसहित सार्वजनिक भवन क्वारेन्टाइनमा परिणत भएका छन्। तर क्वारेन्टाइन नाम मात्रको छ। कुनै पनि प्रकारको मापदण्ड पूरा गरिएका छैनन्। जसले गर्दा संक्रमणले ठूलो रुप लिने देखिएको छ। पछिल्लो समय पिसिआर परीक्षण गरिएकामा कोरोना संक्रमण देखिने क्रम बढ्दो छ। 

    कर्णालीको सुगम जिल्ला भनेर चिनिने सुर्खेत प्रदेश राजधानीसँगै जोडिएको गाउँपालिकाको त यो अवस्था छ भने प्रदेशका अन्य स्थानीय तहको अवस्था झन् के होला ?

    सरकारले कर्णालीमा कोरोना रोकथामका लागि भरपर्दो कदम चाल्न सकेको छैन। परीक्षणको नतिजाले यही पुष्टि गर्छ। बिहीबारसम्म कर्णालीमा ३ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भइसकेको छ। 

    सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जुम्ला र मुुगुमा संक्रमित पहिचान भइसकेका छन्। मुगुका एक जना महिला बाहेक सबै भारतबाट आएका हुन्। प्रदेशभर भारतबाट आएका बाहेक ८ जनामा संक्रमण भएको छ। जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर परीक्षण हुन सकिरहेको छैन।

    जेठमा मात्रै साढे ३४ हजार बढी कर्णाली भित्रिए

    आन्तरिक मामिला मन्त्रालयमा सूचना अधिकारी कृष्ण बहादुर रोकायका अनुसार जेठ १ गते यता ३४ हजार ५ सय ४० जना नागरिक कर्णाली फर्किएका छन्। जसमा सुर्खेतका ९ हजार ४८ जना, दैलेखका १२ हजार ६ सय १४ जना, जाजरकोटका २ हजार ८ सय ४७, रुकुम पश्चिमका ९ सय ८२, सल्यानका २ हजार ५ सय ९३, जुम्लाका ९ सय ७०, हुम्लाका २सय १९, मुगुका ९सय ७५ र कालिकोटका ४ हजार २ सय ९२ जना छन्। 

    तर डोल्पा जिल्लाका मान्छे आएको बारे कुनै रेकर्ड कर्णाली सरकारसँग छैन। यति ठूलो संख्यामा विदेशबाट भित्रिए पनि अहिलेसम्म आरडिटीसहित जम्मा १३ हजार जनाको मात्र परीक्षण भएको देखिएको छ। 

    परीक्षण कछुवा गतिमा 

    कर्णालीमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। तर परीक्षणको दायर भने निकै सुस्त छ। प्रदेशमा बिहीबारसम्म करिब ११ सय स्वाब परीक्षण गर्न बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक रीता भण्डारीले जनाइन्।

    संकलन गरिएका स्वाबहरुको रिपोर्ट अबको २ देखि ३ दिनसम्म आउने उनको भनाइ छ। भारतबाट भित्रिएकाको पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाब परीक्षणमा ढिलाइ हुँदा चाङ लागेको छ। जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लामा त परीक्षण नै हुन सकेको अवस्था छैन।

    अहिलेको अवस्थामा एक दिनमा दुई सयभन्दा बढी स्वाब परीक्षण गर्न सकिने अवस्था छैन। भारतबाहेक नेपालका विभिन्न क्षेत्रबाट आएकाको भने समूहमा परीक्षण गर्ने गरिएको छ। भारतबाट आएकाको लागि सिंगल परीक्षण गर्नुपर्ने भएकोले पनि केही ढिला हुने गरेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

    प्रदेश अस्पतालका डाक्टर केएन पौडेलका अनुसार कर्णाली प्रदेशमा रहेका सबै पिसिआर मेसिनले दैनिक बढीमा ३ सय देखि ४ सय सम्मको मात्र परीक्षण गर्ने क्षमता राख्छ। तर अहिले सो मात्रामा पनि परीक्षण हुन सकेको छैन।

    उपचारको समस्या पनि उस्तै 

    कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेपछि उपचारमा पनि समस्या हुने देखिएको छ। जिल्ला अस्पतालमा समेत पर्याप्त आइसोलेसन शैया छैनन्। प्रदेशभर ५ सय ५० आइसोलेसन शैया, ४० आइसियू र १७ भेन्टिलेटर छन्। प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारीस्थित सामुदायिक अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा पूर्वाधार विकास गर्ने  प्रयास गरेको छ। 

    जुम्लामा १ सय २०, सुर्खेतमा ८५ र चौरजहारीमा १५ शैया रहेका छन्। सबैभन्दा बढी संक्रमण देखिएको दैलेख जिल्ला अस्पताल र दुल्लु अस्पतालमा गरी ४१ आइसोलेसन शैया छन्। जसले गर्दा कोरोना संक्रमितहरुको उपचारमा समस्या हुने देखिएको छ। 

    अन्य बिरामीका लागि पनि उपचारमा समस्या हुँदै आएको देखिएको छ। कर्णाली प्रदेश अस्पतालका आइसोलेसन हेरिरहेका डाक्टर केएन पौडेलले अस्पतालको क्षमताभन्दा बढी बिरामी भएर समस्या देखिएको बताए। 

    ‘अहिले संक्रमितहरुमा समस्या खासै देखिएको छैन, ज्वरो आएको छैन, खोकी आएको छैन, सास फेर्न समस्या कसैलाई भएको छैन्, उनले भने, ‘भोलि गम्भीर प्रकृतिका लक्षण देखिएका बिरामी आएमा ठाउँ अभावमा समस्या हुने देखिन्छ।’

    ६५ जना संक्रमितको उपचार भइरहेको प्रदेश अस्पतालमा अहिले नै बिरामीलाई सामूहिक हलमा म्याटेस ओछ्याएर राख्नुपर्ने अवस्था देखिएको छ।डाक्टर पौडेलका अनुसार भोलिका दिनमा संक्रमित बढ्दै गए जनशक्ति पनि अभाव हुने देखिन्छ। 

    ‘अहिले त एउटा स्वास्थ्यकर्मीको टिमले हेरीरहेको छ, संक्रमित थपिएमा तथा गम्भीर केस आएमा जनशक्ति अभाव हुने र समस्या हुने निश्चित छ,’ उनले भने। अहिले संक्रमण मात्र देखिएका तर लक्षण नदेखिएकालाई सम्बन्धित जिल्लामै राख्नुपर्ने व्यवस्था मिलाउनुपर्ने र पछि गम्भीर केसलाई मात्र प्रदेश अस्पतालमा राख्ने गरी व्यवस्थापन गर्नुपर्ने डा. पौडेलको भनाइ छ। 

    सरकारका निर्णय कार्यान्वयन हुँदैनन् 

    कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचार गर्ने स्थलको समस्या हुने देखिएपछि कर्णाली प्रदेश सरकारले आइसोलेसन शैया र पिसिआर मेसिन थप गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशका १० वटा जिल्लामा गरी दुई हजार आइसोलेसन शैया र थप दुई वटा आरटी पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको हो।

    हाल जुम्ला र सुर्खेतमा दुई वटा आरटी पिसिआर मेसिन छन्। अब खरिद गर्न लागिएका मेसिन एउटा दैलेख र अर्को सुर्खेतमै जडान गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    तर सरकारका निर्णय कार्यान्वयन हुनेमा आशंका पनि गरिएको छ। यसअघि पनि प्रदेश प्रवेश गर्ने मुख्य नाका बबई वा भेरीगंगामा भारतबाट आउने नागरिकका लागि कोरोना परीक्षण सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो। जसका लागि प्रदेशका मन्त्रीहरुको टोलीले स्थल अनुगमन पनि गरेको थियो। 

    तर भारतबाट आएका हजारौं नागरिक परीक्षण नगरी जिल्ला जिल्लामा पठाइएको थियो। जसका कारण निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना हँुदै आएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]