स्थानीय निर्वाचन-२०७९

प्रदेश २  : तीव्र गतिमा बढ्दै कोरोना संक्रमित, संख्या हजारनजिक

मर्यादापालक संक्रमित भएपछि संसद पनि स्थगित

जेठ २३, २०७७

    जनकपुरधाम : प्रदेश २ मा तीव्र गतिमा कोरोना भाइरस संक्रमित बढ्दै गएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार आठ जिल्लामा संक्रमितको संख्या ९६१ पुगेको हो।

    सबैभन्दा बढी रौतहटमा ३८४ संक्रमित फेला परिसकेका छन्। यस्तै सर्लाहीमा १४९, पर्सामा १११, धनुषामा ८८, सप्तरीमा ६९, बारामा ६७, सिरहामा ४७ र महोत्तरीमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। यस्तै वीरगन्ज आएका तीन भारतीय नागरिक संक्रमित फेला परेका थिए। 

    मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ १५ सम्ममा प्रदेश २ मा ४ सय जना मात्र कोरोना संक्रमित थिए। तर ७ दिनमै ५६१ जना संक्रमित थपिएका छन्। मलेसियाबाट आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गत चैत ११ मा सरकारले लकडाउनको घोषणा गरेको थियो। 

    लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पटक पटक लकडाउनको अवधि बढाउँदै आएको छ। सुरुमा लकडाउन प्रभावकारी देखिएपनि हाल फितलो बनेको छ। 

    सीमा नाका भएर आवत जावत पूर्ण रुपमा नियन्त्रण गरेका सरकार पछिल्लो समय खुकुलो पारेको छ। अहिले भारतबाट ठूलो संख्यामा मजदुर फर्किन लाग्दा संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ।

    नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी र पत्रकारमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेका छन्। बिहीवार मात्रै प्रदेश २ का प्रदेशसभा सचिवालयका ५ जना मर्यादा पालकमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यही कारण लामो समयपछि बस्ने भनिएको प्रदेशसभा बैठकसमेत स्थगित गरिएको छ।

    मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार संक्रमितमध्ये अधिकांश भारतबाट स्वदेश फर्केकाहरु छन्। यस्तै संक्रमित सबैभन्दा बढी १८ देखि ४० वर्ष उमेर समूहका छन्। करिब १० प्रतिशत संक्रमित १८ वर्षमुनिका बालबालिका रहेको बताइएको छ। संक्रमित मध्ये १२२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

    प्रदेश २ मा १ हजार १२८ आइसोलेसन बेड रहेको छ। जसमध्ये संक्रमण पुष्टि नभएका ५९९ जना समेत हाल आइसोलेसनमा भर्ना छन्। उनीहरुसमेत कोरोना संक्रमित रहेको आशंका छ। यद्दपी उनीहरुको रिपोर्ट भने आउन सकेका छैन। कोरोनाको लक्षण देखा परेपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ।

    मन्त्रालयका सचिव घिमिरेका अनुसार सप्तरीमा ५५ जना, सिरहामा ५३ जना, धनुषामा ९४ जना, महोत्तरीमा ४५ जना, सर्लाहीमा ५४ जना, रौतहटमा २२७ जना, बारामा ४३ जना र पर्सामा २८ जना आइसोलेसनमा उपचाररत छन्। प्रदेश २ मा कुल २२ हजार ९६१ जना क्वारेन्टाइनमा छन्। क्‍वारेन्टाइनमा रहेका सबै भारतबाट विभिन्‍न नाकाबाट स्वदेश फर्केकाहरु छन्।

    संक्रमितको संख्या सोचेभन्दा बढी भएपछि उपचारमा समेत समस्या भइरहेको चिकित्सकहरु बताउँछन्। क्‍वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा हम्मेहम्मे परेको छ। 

    आइसोलेसन र क्‍वारेन्टाइनमा बसेकाहरुले खानेपानीको समेत अभाव झेल्नु परेको गुनासो गर्छन्। सीमित स्रोत साधन र उपकरणका कारण संक्रमितको उपचारमा समस्या भइरहेको चिकित्सकहरुको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]