समाज

पोली हाउसमा जनता, करोडाैंका गाडीमा जनप्रतिनिधि

जेठ २३, २०७७

    दैलेख : भैरवी गाउँपालिकाले भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका चार युवालाई आरडिटी रिपोर्ट पोजेटिभ देखिएको भन्दै रातभर भैंसीगोठमा राख्यो। यो घटना सेलाउन नपाउँदै जिल्लाकै ठाटिकाध गाउँपालिकाले तरकारी ढाक्न प्रयोग गरिने पोली हाउसलाई क्‍वारेन्टाइन नाम दिएर भारतबाट आएकालाई राखेको घटनाले फेरि चर्चा कमाएकोे छ।  

    आरडिटीमा पोजेटिभ देखिएकालाई आइसोलेसन वार्डमा राखिनुपेर्ने हो। तर गाउँका क्‍वारेन्टाइनमा भारतबाट आएका मानिसले भरिएपछि ठाउँ अभावमा भैरवी गाउँपालिकाले एक रात उनीहरुलाई भैंसी बाँध्ने गोठमा राखेको बताएको थियो। 

    साँझतिर स्वास्थ्यकर्मीले सबैको स्वास्थ्य जाँच गरी आरडिटी परीक्षणपश्चात् ४ जनाको रिपोर्ट शंकास्पद आएको थियो। त्यसपछि गाउँपालिका ३ को विद्यालयमा बनाइएको क्‍वारेन्टाइनमा उनीहरुलाई बस्न दिइएन। उनीहरुलाई बाहिर अरू कसैले घरमा बस्न दिने कुरै भएन। बाध्य भएर गोठमा राखिएको जनप्रतिनिधिको भनाइ छ।
     
    कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीको निर्वाचन क्षेत्र मानिएको ठाटीकाधका नागरिक अहिले तरकारी ढाक्न प्रयोग गरिने प्लास्टिकको क्‍वारेन्टाइन बनाएर बसेका छन्। 

    तिनै जनताले भोटले जितेका जनप्रतिनिधि भने करोडका गाडी लिएर पालमुनि बसेकालाई भेट्न पुग्छन्। गाउँपालिकाभरि निर्माण गरिएका २७ वटा विद्यालय भरिएपछि गाउँभन्दा केही पर प्लास्टिकको क्‍वारेन्टाइन बनाएर उनीहरुलाई राखिएको छ। 

    ‘पहिलो चरणमा १२ वटा प्लास्टिक हाउस निर्माण सम्पन्न गरेका छौँ। २३ वटा ल्याएका छौँ, निर्माण गर्दै छौँ,’ गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले थाहा खबरसँग भने, ‘कि त जनतालाई जहाँ जान्छौँ जाऊ भन्नुपथ्र्यो, हैन भने स्थानीय सरकारको क्षमताले भेटाएसम्म व्यवस्थापन गरिरहेका छौं।’ 

    ११ वटा स्थानीय तह रहेको दैलेखमा अहिलेसम्म १२ हजार बढी मानिस भारतबाट जिल्ला प्रवेश गरिसकेका छन्। बाहिरी मुलुकबाट आएका सबैलाई १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा राख्नुपर्ने हुन्छ। विद्यालयमा पनि कोचाकोच गरेर राखिएको छ। 

    व्यवस्थापनका नाममा पी फर्म, पराल, सल्लिकुसुम ओछ्याएर रात काट्नुपर्ने अवस्थामा नागरिक छन्। स्थानीय सरकार भने भारतबाट आउने नागरिकको संख्या धेरै भएकाले व्यावस्थापनमा चुनौती थपिएको बताउँदै आएका छन्। 

    जिल्लाको आइसोलेसन पनि भरियो 

    दैलेखमा आइसोलेसन अस्पतालका रुपमा सरस्वती मावि तर्तागंलाई बनाइएको छ। संक्रमित व्यक्तिहरू त्यहाँ भरिइसकेका छन्। दैलेखमा बिहीबारसम्म १ सय ५ जना कोरोनाका संक्रमणका बिरामी पुगिसकेका छन्। 

    जिल्लामा कोरोनाका बिरामी थपिँदै गएपछि आपतकालीन रूपमा नारायण नगरपालिका ८ मा रहेको वृद्धाश्रमलाई अस्पताल बनाउँदै संक्रमितलाई सारिएको छ। प्रदेश सरकारले भने सामान्य अवस्थाका कोरोना संक्रमित बिरामीलाई सुर्खेत नपठाउनू भनेर निर्देशन दिएकाले कर्णालीका पहिलो कोरोना संक्रमितबाहेक अरुलाई दैलेखमै राखिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]