स्थानीय निर्वाचन-२०७९

सुदूरपश्‍चिममा स्वाब संकलन रोकियो, संक्रमणको जोखिम बढ्‍यो

भारतबाट आएका ६० हजार नागरिक क्‍वारेन्टाइनमा

जेठ २४, २०७७

    बैतडी : बैतडीसहित सुदूरपश्‍चिम प्रदेशका २ दिनदेखि थ्रोट स्वाब संकलनको काम बन्द रहेको छ।  प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार एक सूचना जारी गर्दै प्रदेशका नौवटै जिल्लालाई परिपत्र पर्दै स्वाब संकलन नगर्न निर्देशन दिएको हो।  

    स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीद्वारा हस्ताक्षरित सूचनामा ५ दिनसम्म स्वाब संकलन नगर्न भनिएको छ। भारतबाट फर्किएका ६० हजार बढी नागरिक यस प्रदेशका स्थानीय तहका क्वारेन्टाइनमा बसिरहेका छन्।

    भारतमा  कोरोना बढी प्रभावित क्षेत्रका नागरिक समेत क्वारेन्टाइनमा बसिरहेका बेला पिसिआर परीक्षण बढाउनुपर्ने बेलामा बन्द गरिदा झनै संक्रमण फैलने चिन्ता पनि बढेको छ।  

    स्वास्थ्य निर्देशनालयले धनगढीमा रहेका एक मात्र प्रयोगशालामा स्वाबको नमूना धेरै दिन थन्किन थालेको भन्दै ५ दिनलाई संकलनको काम बन्द गरेको जनाएको छ। 

    हालसम्म सुदूरपश्‍चिमको एक मात्र प्रयोगशालामा ४ हजार ९ सय ५४ जनाको स्वाब संकलन गरिएकोमध्ये ३ हजार ८ सय ७१ जनाको मात्र रिपोर्ट आएको छ। 

    अझै पनि १ हजार ८३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वस्थ्य निर्देशनालयले जनाएको छ। मौज्दात स्वाबको रिपोर्ट आउन करिब ४ दिन लाग्ने भएको हुँदा तबसम्म नयाँ स्वाब संकलन नगर्न भनिएको अवस्थीले बताए।

    दैनिक २५० जनाको परीक्षण गर्न सकिने भन्दै निर्देशनालयले हाल १ हजार बढी नमूना प्रयोगशालामा रहेको बताउदैं धेरै दिन परीक्षण नगरि नमुना थन्किए भने बिग्रने सम्भावना हुने उल्लेख गरेको छ।  

    सुदूरपश्‍चिममा रहेको एउटा मात्रै प्रयोगशालाले प्रदेशभरीका नमूना संकलन परीक्षण गर्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै यहाँ थप २ स्थानमा प्रयोगशाला स्थापना गर्ने भनेको थियो।  

    सुदूरपश्‍चिम प्रदेशको मन्त्रीपरिषद्को गत चैत १५ गतेको निर्णयले धनगढीसहित बैतडी र डोटीमा पनि प्रयोगशाला स्थापना गर्ने  निर्णय गरेको थियो। तर धनगढीमा प्रयोगशाला स्थापना गरिएको भएपनि बैतडी र डोटीमा भने  प्रयोगशाला स्थापना अझै हुन सकेको छैन। 

    प्रदेशका ७ पहाडी जिल्लाको स्वाब पनि धनगढीमा पठाउँदा चाप बढ्नु स्वभाविक रहेको बताउँदै जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले सुदूरपश्‍चिममा अर्को प्रयोगशालाको काम अघि बढाउनुपर्नेमा जोड दिएका छन्। 

    ‘संक्रमितको संख्या बढ्दै जाँदा संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिको पनि परीक्षण गर्न धनगढी पाउनुपर्ने बाध्यता छ’, उनले भने, ‘रिपोर्ट आउँन १ हप्ता लाग्ने गरेको छ, त्यसले अन्योल बढाउने गरेको छ।’ 

    संकलित नमुनालाई ७२ घण्टा भित्र परीक्षण गर्न सकेमा विश्वसनीय र सही रिर्पोट आउने सम्भावना धेरै हुने गर्दछ।

    जिल्लामा थुप्रै शंकास्पद व्यक्तिको नमूना परीक्षणका लागि पठाउने गरेको भएपनि रिपोर्ट नआउँदा व्यवस्थापनमा पनि चुनौती देखिने गरेको उनले बताएका छन्। 
    बैतडीमा सम्भाव्यता अध्ययनको काम सम्पन्न भएको पनि एक महिना बढी भइसक्दा पनि प्रदेश सरकारले कुनै चासो दिएको छैन। 

    ‘जिल्लामै प्रयोगशाला स्थापना गरिएको भए परीक्षणको दायरा बढाउन सकिन्थ्यो’, उनले भने,‘भारतका प्रभावित क्षेत्रबाट दिनप्रतिदिन भित्रिनेको संख्या बढ्दै गएको छ। बिनातयारी यसरी भित्र्याउँदा भोलिका दिनमा प्रदेशमा कोरोनाले भयावह रुप लिने जोखिम छ। यथाशिघ्र प्रयोगशाला स्थापना गरेर पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ।’ 

    कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि विज्ञहरूको टोलीले अस्पतालमा पुगेर सम्भाव्यता अध्ययन समेत गरेको थियो।  ल्याब स्थापनाका लागि सम्भाव्यता अध्ययन भएको एक महिना बढी भइसके पनि प्रयोगशाला स्थापनाको कुनै तयारी भएको छैन। 

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डा. श्रवणकुमार मिश्रको टोलीले बैतडीमा गत वैशाख ५ गते जिल्ला अस्पतालमा पिसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको थियो। त्यसपछि प्रयोगशाला स्थापनाबारे प्रदेश सरकारबाट कुनै निर्देशन प्राप्त नभएको जिल्ला अस्पतालका प्रमुख डा. जोशीले बताए।

    कोरोना महामारीलाई लक्षित गरी प्रयोगशाला स्थापना गर्ने भनिएपनि चालु आर्थिक वर्षमा प्रयोगशाला स्थापनाको काम अघि बढ्ने अवस्था नरहेको बताइएको छ। आगामी आर्थिक बर्षमा बजेट विनियोजन भएमा मात्रै प्रयोगशाला निर्माणको काम अघि बढ्ने देखिएको छ। 

    यता प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने  स्थापना गर्ने भनेका प्रयोगशालाका लागि उपकरण खरिद सुरु भइसकेको बताउँदै उनले केही समय लाग्ने जानकारी दिए। 

विनोद सिंह विष्ट

विष्ट थाहा खबरका बैतडी समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]