जाजरकोट : भारतबाट आएकाको संख्या क्वारेन्टाइनमा खचाखच छ। तर स्वाब संकलन कार्य भने रोकिएको छ। प्रदेशस्थित प्रयोगशालामा जाँच गर्न सक्ने क्षमताभन्दा धेरै मात्रामा स्वाब संकलन भएपछि स्वाब संकलन कार्य रोकिएको हो।
जाजरकोटबाट पठाइएका स्वाबको नतिजा १२ दिनसम्म नआएपछि अन्योल थपिएको छ। जाजरकोटमा हालै भारतबाट आएका दुई हजार तीन सय बढी नागरिक जिल्लाका विभिन्न क्वारेन्टाइनमा छन्।
तीमध्ये कोरोना पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाइएका सात सय ४९ मध्ये चार सय ४८ जनाको रिपोर्ट अझै आउन सकेको छैन। तीन सयको रिपोर्ट आएकोमा बारेकोट गाउँपालिकामा एक प्रहरीसहित चार जनामा कोरोना संक्रमण देखिएको छ।
नलगाड नगरपालिका, छेडागाड, भेरी, शिवालयबाट स्वाब संकलन गरी पठाइए पनि धेरै दिन भइसक्दा पनि रिपोर्ट अझै आएको छैन। सुरुमा भारतबाट आएका सबैको पिसिआर परीक्षण गर्ने जनाएको सरकारले कार्यविधि परिवर्तन गरेर नगरे पनि हुने निर्णय गरेको छ।
कर्णालीमा जुम्ला र सुर्खेतस्थित प्रयोगशालाले थेग्न नसकेपछि स्वाब संकलन कार्य बन्द गरिएको जनाइएको छ।
अबदेखि १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी गरेर पोजेटिभ देखिएपछि मात्र पिसिआर गर्ने अन्यथा सीधै घर पठाइउने निर्देशन आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा सुनिल पुनले बताए। सोही कारण स्वाब संकलन बन्द गरिएको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।