राजनीति

बजेटबारे महतको आक्रोश : सांसदहरुलाई बाटो खर्च दिएर घर फर्काइदिनू

कर्मचारीले गुटको बजेट ल्याएको आरोप

जेठ २५, २०७७

    काठमाडौं : आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रै तीव्र असन्तुष्टि देखिएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सत्तारुढ नेकपाकै सांसदहरुले आक्रोश पोखेका हुन्। 

    छलफलमा भाग लिँदै जुम्लाका सांसद गजेन्द्र बहादुर महतले सरकारको बजेटलाई गुटहरुको बजेटको संज्ञा दिएका छन्। उनले बजेट निर्माण गर्ने क्रममा जनताका प्रतिनिधिसँग औपचारिक कुरा गर्ने तर शीर्षगत विनियोजनमा कर्मचारीसँग मिलेमतो गर्ने गरिएको गुनासो गरेका छन्। 

    'अहिलेको बजेट कर्मचारीले चलाएको बजेट छ। अहिलेको दलालले चलाएको बजेट छ। अहिलेको बजेट भित्रियबाट चलाएको बजेट छ', उनले आक्रोशित हुँदै भने, 'अहिलेको बजेट गुटबाट चलेको बजेट छ।'

    सांसदहरुलाई सरकार गठनको बेलामा मात्रै प्रयोग गर्ने गरिएको भन्दै उनले अब कुनै काम नभएकाले बाटो खर्च दिएर घर फर्काउन पनि आग्रह गरेका छन्। 

    'यति बजेट ल्याउन मन्त्री नै चाहिन्छ? सचिवले ल्याउन सक्थे यत्ति बजेट , म यतातिर पनि अनुसन्धानमा लागिरहेको छु  यो बजेट ल्याउन हामी माननीय हरु कहाँ जानुपर्छ', उनले भने, 'गुटको भेलामा जानुपर्छ कि? कहीँ भेटी चढाउन पर्छ कि? कर्मचारीहरुको सेवा गर्नुपर्छ कि? के गर्नुपर्छ। यो मन्त्रीले चलाएको बजेट नै होइन। कर्मचारीको सेटिङमा मात्रै आएको देखिरहेको छु। माननीयको बजेट आएकै छैन। माननीयको बजेट एउटा कुनामा छ।'

    उनले अहिले सबै कर्मचारीले सेटिङ गरेको बजेट मात्रै आएको बताए। 'अब माननीयहरु चाहिँदैन। माननीयहरुलाई सरकार गठन गरिसकेपछि बाटो खर्च दिएर ल जाऊ घर। यहाँ सचिवहरु छँदैछन्। सिडिओहरु छदैछन्। जे भन्यो हस् हस् हस् भनिहाल्छन्। हामी माननीय त हस् भन्दैनौँ। हाम्रै सरकार भए छ भन्दैनौँ। अर्काको सरकार भए त झन किन भन्थ्यौ र हामीले?', उनले भने, 'हस् हस् भन्ने मान्छेलाई यहाँ राख्नुपर्यो हामीहरुलाई विदाई गर्नुपर्यो। किनभने हाम्रा कुरै सुनिँदैन। सरकार बन्‍ने बेलासम्म हामी भाँडो भयौँ, अब ठाँडो भइसक्यौँ।'

    महतले सरकारको बजेटबाट कोही पनि सन्तुष्ट नरहेको टिप्पणी गरे। उनले सरकारको आलोचना बढ्दै गएकाले बजेटप्रति असन्तुष्ट भएर सरकारको आलोचना गर्नभन्दा किन आलोचना हुन्छ भन्‍ने अनुसन्धानमा लागेको भन्दै व्यंग्य गरे।

    'बजेटबाट मान्छेहरु सन्तुष्ट छैनन्। हामी पनि सन्तुष्ट छैनौँ। सरकारको खाली विरोध गरिरहनु भन्दा किन विरोध भइरहेको छ भनेर अनुसन्धानतिर लागिरहेको छु। माननीयहरु धेरै भएर विरोध गरेको हो कि? माननीयहरु कम गर्नुपर्ने हो कि? विरोध धेरै हुन थाल्यो', उनले भने, 'त्यसैले म अनुसन्धानतिर लागिरहेको छु। जोश जाँगर भएका धेरै कुरा गर्ने मन्त्रीहरु आएका केही हाम्रा कुरा सुन्लान् भनेको त। झन यस्तो वेहाल भइरहेको छ हाम्रो। बजेट किताब हेर्दा कहालीलाग्दो छ। आफैलाई टीठ लाग्दो भइरहेको छ। म ५ वर्षसम्म के गरेर जाने हो?'

    विद्युतिय सवारी साधनमा कर बढाउनु, निजी स्कुलले सार्वजनिक स्कुलको दायित्व लिने , चकलेटको कर लगायत विषयमा मिलेमतो भएको दाबी उनले गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]