समाज

अस्पताल परिसरमै आत्मदाह कोसिस गरेका युवकको ज्यान गयो

अस्पतालले कामबाट निकालेपछि तनावमा थिए

जेठ २६, २०७७

    अछाम : यहाँस्थित बयलपाटा अस्पताल परिसरमा आफैंले आगो लगाएर जलेका एकजना कामदारको ज्यान गएको छ। पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका ती युवकको उपचारका लागि कोहलपुर पुर्‍याएपछि ज्यान गएको हो। 

    साफेबगर नगरपालिका घर भएका अस्पतालका कर्मचारी सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका थिए। केही दिनअघि अस्पतालले कामबाट निकालिदिएपछि तनावमा रहेका उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। 

    ईलाका प्रहरी कार्यालय साफेबगरका प्रमुख प्रहरी निरिक्षक नरपति भट्टले उनको ज्यान गएको पुष्टि गरेका छन्। ती युवकलाई अस्पताल पुर्‍याएको आधा घण्टामा ज्यान गएको उनीसँगै गएका साथी मिन बोहोराले जानकारी दिएका छन्।

    अस्पताल परिसरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई हेलिकोप्टरबाट उपचारका लागि कोहलपुर लगिएको थियो। तर कोहलपुर पुर्‍याएको आधा घण्टामै उनले प्राण त्यागेका हुन्। 

    अस्पतालले आर्थिक अभावको कारण जनाउँदै उनीसहित ३३ जना कर्मचारीको करार सम्झौता थपेको थिएन। ३३ मध्ये आउजी शौचालय सफाई गर्ने कर्मचारी थिए।

    उनले सोमबार बिहान अस्पताल परिसरमा शरीरमा आगो लगाएका थिए। तर तत्काल स्थानीय कर्मचारी, प्रहरी र स्थानीयले आगो निभाएर उनलाई बचाएका थिए। गम्भीर अवस्थाका आउजीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको पहलमा हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज पठाइएको थियो।

    न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयल्पाटा अस्पतालले जेठबाट कर्मचारी कटौति गरेको थियो। लकडाउनकै बेला जागिरबाट निकालिएपछि उनीसहितका कर्मचारीहरु तनावमा थिए। सहयोग बन्द भएपछि आर्थिक अभावका कारण कर्मचारी कटौति गरिएको दाबी न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनीले गरेका छन्। 

    अस्पतालले लकडाउनको संकटकैबेला जागिरबाट अचानक निकालिएदिपछि ती कर्मचारी आर्थिक मारमा परेका छन्। कर्मचारी कटौतीको तीव्र विरोध भइरहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]