अर्थ

बजेटमा सुदूरपश्चिमः प्राथमिकतामा सन्तुष्टि, कार्यान्वयनमा शङ्का

फोटो स्रोतः pinkbike.com
जेठ १७, २०७३
    • शेरबहादुर सिंह

भीमदत्तनगर : आगामी आर्थिक वर्ष २०७३/७४ को बजेटमा सुदूरपश्चिमको विकासमा विशेष जोड दिएर बजेट प्रस्तुत गरिएको छ। 

बजेट घोषणासँगै सुदूरपश्चिमका बासिन्दा, यहाँको निजी क्षेत्र, नागरिक समाजले बजेटको स्वागत गरेको छ। विगतका सरकारले ल्याउने बजेटमा पनि सुदूरपश्चिमलाई समेटिएको भए पनि घोषणा गरेका योजनाहरु कार्यान्वयन नहुँदा यहाँका बासिन्दाले बजेट कार्यान्वयनको पक्षमा जोड दिएका छन्। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा विगतका वर्षभन्दा सुदूरपश्चिमलाई आगामी आवको बजेटमा केही प्राथमिकता दिइएको यहाँको निजी क्षेत्रको ठहर छ। बजेटमा कैलालीमा दशरथ चन्द मेडिकल कलेज स्थापनाका लागि रु ४८ करोड विनियोजनदेखि कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खाबन्दरगाह निर्माणको काम थाल्नेसम्मका योजना परेका छन्। त्यसैगरी कञ्चनपुरको दैजी र कैलालीको लम्कीमा औद्योगिक क्षेत्रको विकाससमेत बजेटमा समेटिएको छ। 

त्यसैगरी जलस्रोतको क्षेत्रमा पश्चिम सेती जलविद्युत् आयोजना, पञ्चेश्वर परियोजनालाई प्राथमिकता दिँदै चमेलिया जलविद्युत् आयोजनालाई एक वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण ग्रिडमा जोडिने भएको छ। डोटी र दार्चुलाका बाढी तथा पहिरोपीडितलाई पुनःस्थापना गर्न विशेष कार्यक्रम सञ्चालन गर्नेदेखि महाकाली करिडोर, ब्रह्मदेव–झुलाघाट, दार्चुला–तिंकर, सेती रार्जमार्गलाई डेडिकेटिड डबल लेनका हुने गरी निर्माण तथा स्तरोन्नति गरिने बताइएको छ भने महेन्द्रनगर र धनगढीमा सडक, ढल, खानेपानी, नवीकरणीय ऊर्जा, बसपार्क, मनोरञ्जन पार्क, शिक्षा तथा स्वास्थ्यका योजनाहरु छनोट गरी सघन सहरी विकास कार्यक्रम सञ्चालन गरिने प्रस्तुत बजेटमा उल्लेख छ। 

महाकाली तेस्रो सिँचाइ आयोजनाको बाँकी काम तीन वर्षभित्र सम्पन्न गरिने भएको छ। बिकट पहाडी जिल्ला बाजुराका जोखिममा रहेका पाँच गाविसको बस्ती विकासको कार्यक्रमका लागि रु ७१ करोड रकम विनियोजन गरिएको छ। बझाङ, बाजुरा, डोटी र डडेल्धुरामा ७५ हजार जैतुनका बिरुवा वितरण गरिनेछ भने बाजुरा, बझाङ र दार्चुलामा हिमाली आलु उत्पादन कार्यक्रम सञ्चालनसमेत बजेटमा परेका छन्। 

“बजेट पारित हुन्छ र अन्तिममा गएर फ्रिज भएर जान्छ, कसरी बन्छ देश,” भीमदत्तनगरका व्यापारी तथा समाजसेवी मदन चन्दले गुनासो गर्नुभयो –“घोषणा भएको बजेट प्रचारमुखी बनाउनुभन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्‍यो।” विकास निर्माण तथा भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरेर सरकारमा रहेका पार्टीहरुले कार्यकर्ता पाल्ने भाँडो बनाउन नहुनेमा उहाँले जोड दिनुभयो। 

बहुचर्चित पञ्चेश्वर, पश्चिमसेतीलगायतका ठूला आयोजनाहरु विगतमा पनि चर्चा भए पनि तिनको कार्यान्वयन कछुवा गतिमा रहेकाले कञ्चनपुरको भीमदत्तनगरका युवा व्यापारी दिनेश मल्लले कार्यक्रमहरु घोषणाभन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो। “विगतका सरकारले सुदूरपश्चिममा घोषणा गरेको औद्योगिक तथा जलस्रोत, भौतिक संरचना निर्माण भइदिएमात्रै सुदूरपश्चिम समृद्ध हुन्छ,” उहाँले भन्नुभयो – “पुराना कार्यक्रम बिर्सेर नयाँ घोषणा गर्दैमा सुदूरको विकास हुनेमा विश्वास गर्न सकिन्न।” 

कञ्चनपुरमा सुक्खाबन्दरगाह, दैजीमा औद्योगिक क्षेत्र निर्माण, महाकाली नदीमा पक्की पुलजस्ता योजनाको निर्माण गति सुस्त भएको उहाँको भनाइ छ। महाकालीमा चार लेनको पक्की पुल बनेमात्रै सुदूरपश्चिमको मुहार फेरिन सक्ने मल्ल बताउनुहुन्छ। 

कञ्चनपुरमा उन्नत जातका चारवटा स्रोत केन्द्र स्थापना गरिनुका साथै डोटीमा उन्नत भैँसीका तीनवटा स्रोत केन्द्र स्थापना गरिने छन्। त्यस्तै अत्तरियामा दुग्ध विकास संस्थानको प्रशोधन क्षमता वृद्धिलाई समेत प्राथमिकतामा राखिएको छ। शिक्षातर्फ सुदूरपश्चिम विश्वविद्यालयको पूर्वाधार विकास र यहाँका १५ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयका आङ्गिक क्याम्पसका रुपमा सम्बन्धन दिने व्यवस्था मिलाइने छ। आगामी आवमा बैतडीको पाटन, अछामको साँझेबगर, दार्चुलाको गोकुलेश्वर र कचनपुरको विमानस्थललाई मर्मत गरी सञ्चालनमा ल्याइने भएको छ। यसअघिका बजेट घोषणामा पनि बन्द अवस्थामा रहेका विमानस्थल सञ्चालन गर्ने भनिए पनि कार्यान्वयन हुन सकेको छैन। 

“विकास निर्माणका लागि छुट्याइएको रकम बर्सेनि फ्रिज भएर जान्छ,” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधवप्रसाद जोशीले भन्नुभयो – “योजनाहरु कतिपय नयाँ र कतिपय पुरानालाई निरन्तरता दिइएको छ।” उहाँले पुराना योजनाको कामलाई प्राथमिकताका साथ कार्यान्वयन चरणमा लैजान सके मात्रै सुदूरपश्चिमवासी खुसी हुने धारणा राख्नुभयो। 

“सहरी विकासदेखि स्मार्ट सिटीसम्मका कुरा बजेटमा समेटिनु खुसीको कुरो हो,” उपाध्यक्ष जोशीले भन्नुभयो – “कार्यान्वयन पक्षलाई ध्यान नदिने हो भने बजेट कागजमै समिति नरहला भन्न सकिँदैन।” दोधारा चाँदनीमा सुक्खाबन्दरगाह बनाउनेबारे बजेटमा समेटिए पनि त्यहाँ जाने सडक तथा महाकाली नदीमा नयाँ पक्की पुलका विषय नसमेटिएको उहाँको भनाइ छ। 

“सुक्खाबन्दरगाह बनाउने त भनेको छ,” उहाँले भन्नुभयो – “महाकालीमा पुल नहुँदा दोधारा चाँदनी आवतजावत गर्नै गाह्रो छ अनि कसरी सुक्खाबन्दरगाह निर्माण हुन्छ ?” महाकाली नदीमा पुल बनाउने विषयमा सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोशीले जोड दिनुभयो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]