स्वास्थ्य

‘टेस्टट्युब बेबी’ सेवा लिन डेढ सयको आवेदन

प्रसुति गृहमा सेवा रोकिँदा समस्या

जेठ २४, २०७३
    • कल्पना पौडेल-

काठमाडौं : गोरखा भूकम्पपछि बन्द भएको परोपकार प्रसूति गृह, थापाथलीमा ‘टेस्टट्युब बेबी’ सेवा लिनका लागि १५० भन्दा बढी महिलाले नाम दर्ता गराएका छन् । 

तीमध्ये भूकम्पको केही दिनअघिसम्म पाँच निःसन्तान महिलाले सेवा लिन शुल्क तिरिसकेका छन् तर सेवा सञ्चालनमा नआउँदा उनीहरू सेवा लिनबाट बञ्चित भएका छन् । भूकम्पका कारण ६२ शय्याको भवनमा क्षति पुग्दा टेस्टट्युब बेबीसम्बन्धी सबै सेवा ठप्प भएको थियो । अब बन्द नहुने गरी टेस्टट्युब बेबी सेवा सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ । 

सरकारीस्तरमा पहिलो पटक प्रसूति गृहले आइभिएफ प्रविधिबाट (पुरुषको शुक्रकिट र महिलाको डिम्ब एउटै प्लेटमा राखी प्रयोगशालामा परीक्षण गरिने) यो सेवा सञ्चालनमा ल्याएको थियो । अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले प्रसूति गृहमा भूकम्पबाट क्षति पुगेका पूर्वाधारको पुनःनिर्माण भइरहेको र असारदेखि नै टेस्टट्युब बेबी सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जतिसक्दो चाँडो सेवा सञ्चालन गर्न काम तीव्र गतिमा गरिरहेका छौँ ।” निर्देशक गौतमका अनुसार प्रसूति गृहले सुरुमा भारतबाट चिकित्सक झिकाएर यो सेवा उपलब्ध गराउँदै आएको थियो । अहिले भने स्वदेशमै जनशक्ति उत्पादन भइसकेको निर्देशक गौतमले जानकारी दिनुभयो ।

सेवा सञ्चालनमा नआएकै कारण निःसन्तान दम्पती महँगा निजी अस्पतालमा चर्को शुल्क तिरेर टेस्टट्युब बेबीको सुविधा लिन बाध्य छन् । २०७१ मा प्रसूति गृहले सेवा सुरु गरेको थियो । हालसम्म २७ दम्पतीले टेस्टट्युब बेबी पाइसकेका छन् । निजी अस्पतालमा पाँचदेखि छ लाख रुपैयाँसम्म लाग्ने टेस्टट्युब बेबीका लागि प्रसूति गृहमा प्रतिदम्पती एक लाख ६० हजार रुपैयाँसम्म शुल्क तिरे पुग्छ । 

आइभीएफ प्रविधिमा पुरुषको शुक्रकिट र महिलाको डिम्ब एउटै प्लेटमा राखी प्रयोगशालामा राखिन्छ । त्यसपछि गर्भाधान भएको भू्रणलाई ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रत्यारोपण गरिन्छ । त्यसको नौ महिनापछि बच्चाको जन्म हुन्छ । 

नेपालमा पहिलो पटक वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालको पहलमा ओम अस्पतालमा २०६१ फागुन २० गते टेस्टट्युब बेबीको जन्म भएको थियो । राजेन्द्र र सन्ध्या तामाङले नेपालमा पहिलो टेस्टट्युब बेबी जन्माएका थिए । प्रसूति गृहबाट भने दुई वर्षअघि कीर्तिपुरकी राज्यलक्ष्मी महर्जनका दम्पतीले यो सेवा लिएका थिए । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]