समाज

सगरमाथामा भारतीय प्रहरी दम्पतीको नयाँ कीर्तिमान

फोटोः mountaintrip.com
जेठ २४, २०७३

    काठमाडौं : भारतीय प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको छ। 

    महाराष्ट्र प्रहरीमा कार्यरत हवल्दार (कन्स्टेबल) द्वय दिनेश चन्द्रकान्त र तरकेश्वरी राठौरले एकै पटक एउटै समयमा सँगै सगरमाथा चढेका हुन्। मकालु एडभेन्जरबाट गएको आरोही दम्पतीले वसन्त ऋतुको मौसममा गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको थियो। उनीहरुले भारतीय प्रहरीबाट दम्पती आरोहण गर्ने पहिलो र विश्वकै सुरक्षा निकायबाट आरोहण गर्ने पहिलो विश्व कीर्तिमान राखेको जिकिर गरिएको छ। 

    आरोही दम्पतीलाई फुर्वा शेर्पा र फुसेम्बा शेर्पाले सगरमाथाको चुचुरामा पुग्न सहयोग गरेका थिए। मकालु एडभेन्चरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आरोही दम्पतीले सगरमाथाको चुचुरामा पुग्ने आआफ्नो सपना साकार भएको बतायो। 

    सन् २००८ मा विवाह बन्धनमा बाँधिएको सो दम्पतीले सगरमाथा आरोहणपछि मात्रै सन्तान जन्माउने अठोट गरेको थियो। “सगरमाथाको चुचुरोमा पुग्दाको खुसी शब्दमा व्याख्या गर्न सकिँदैन। असाध्यै खुसी लागेको छ, आरोहणका क्रममा तीन जना भारतीय नागरिकको मृत्युको खबरले असाध्यै दुःखी र हतोत्साही बनाएको थियो तर चुचुरोमा पुग्दाको खुसीले सबै बिर्सियौँ हाम्रो सपना पूरा भएको छ, अब बाँकी अभियान पूरा गर्छौं,”– दुवैले आरोहण अनुभव सुनाए। 

    संयोग नै मान्नुपर्छ, दुवै जना एकै उमेर ३० वर्षका हुन्। सन् २००६ मा प्रहरी सेवामा प्रवेश गरेदेखि नै उनीहरुले सगरमाथा आरोहणको योजना बनाएका थिए। उनीहरुले यसअघि अस्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल आरोहण र साहसिक स्काइ ड्राइभिङ गरेको बताएका छन्। यस मौसममा भारतबाट मात्रै करिब ७० जना आरोहीले सगरमाथा चढेको बताइन्छ। 

    आरोही दम्पतीले आफूहरुको आरोहण सफलताले नेपाल पर्यटनका लागि सुरक्षित रहेको र यहाँका हिमाल आरोहण र पदयात्राका लागि विश्वका पर्यटकले सक्छन् भन्ने सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले भारतीय दम्पतीको सगरमाथा आरोहणले सरकार र जनताबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताउनुभयो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]