काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ३० दशम...
विष्णु नेपाल
अहिले आठ पूर्व प्रधानमन्त्री, नौ पूर्व उपप्रधानमन्त्री, ११ प्रधानन्यायाधीश, १७ पूर्व गृहमन्त्रीले पहुँचका आधारमा राज्य कोषबाट सेवा सुविधा लिइरहेका छन्।
निजामती, जङ्गी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभिन्न दर्जाका पूर्व पदाधिकारीहरु कतिले कस्तो किसिमको सुविधा लिइरहेका छन् भन्ने त गणना नै छैन।
व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिअन्तर्गत गठित पूर्व पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धमा अध्ययन, सिफारिस तथा सोको कार्यान्वयन तथा अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदनले ती विषयलाई औँल्याएको छ।
प्रतिवेदनले एक उच्च पदस्थ पूर्व विशिष्ट पदाधिकारीले वार्षिक करिब ४० लाख रुपैयाँ बराबरको सुरक्षा र सेवा सुविधा उपभोग गरिरहेको देखाएको छ। उसो त एउटा पूर्व गृहमन्त्रीले अधिकतम सुविधा सुरक्षालगायतलाई गणना गर्दा वार्षिक करिब ३६ लाख रुपैयाँसम्म पुग्ने देखिएको छ।
कति पूर्व पदाधिकारीले कति र कस्तो किसिमको सेवा सुविधा राज्य कोषबाट पाइरहेका छन्? यो प्रश्नको जवाफ कुनै सरकारी निकायसँग छैन। प्रतिवेदनमा सुझाव दिइएको छ “राज्य उदार भएर पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्दै जाने हो भने निरपेक्ष गरिबीको रेखामुनि रहेका एक चौथाइ जनसङ्ख्याले तिरेको राजस्वमाथि राज्यले न्याय गरेको ठहरिँदैन।”
प्रतिवेदनले विधिवत् रुपमा पूर्व पदाधिकारीको परिभाषा नै नरहेको औँल्याएको छ। प्रतिवेदन अनुसार पूर्व पदाधिकारीले व्यक्तिगत सुरक्षाका नाममा नेपाल प्रहरीबाट अधिकतम २३ र सशस्त्र प्रहरीबाट अधिकतम ४१ जनासम्म सुरक्षाकर्मी लिएको देखिन्छ।
प्रतिवेदनले तदर्थवाद र प्रभावकै आधारमा सुरक्षा प्रदान गरिएको अहिलेको सन्दर्भ भन्दा फरक किसिमले छुट्टै स्थायी संयन्त्र खडा गरी सुरक्षा मूल्याङ्कन, सुरक्षाको प्रकार र सुरक्षाको अवधि तोक्न, निजामती कर्मचारीलाई सुरक्षा चुनौतीको अवस्थामा मात्र सुरक्षा उपलब्ध गराउन, पूर्व मन्त्रीलाई पूर्व मन्त्री भएकै कारण सुरक्षालगायतका सेवा सुविधा दिने क्रम बन्द गर्न सुझावसमेत दिएको छ।
गृह मन्त्रालयबाट पूर्व विशिष्ट पदाधिकारीहरुलाई प्रदान गरिने सेवा सुविधा तथा सुरक्षासम्बन्धी बनेको विधेयकको मस्यौदालाई यथास्थितिमा सदनसमक्ष प्रस्तुत नगर्न, पूर्व प्रधानमन्त्रीहरुलाई दिइने सुरक्षा र सुविधामा पुनरावलोकन गर्नसमेत प्रतिवेदनले सुझाव दिएको छ।
यसैबीच, सो प्रतिवेदनलाई आज उपसमितिले मूल समितिसमक्ष प्रस्तुत गरेको छ। उपसमितिका संयोजक जनकराज जोशीले प्रतिवेदनमा रहेका बुँदाका बारेमा बैठकमा जानकारी गराएका छन्।
समितिका सभापति मोहनसिंह राठौरको अध्यक्षतामा बसेको सो बैठकमा समितिका सदस्यहरु अर्जुननरसिंह केसी, सुशीला नेपाल, अम्बिका खवास, अमरबहादुर थापा, नरसिंह चौधरी, हर्कबोल राई, गौरीशङ्कर चौधरीलगायतले प्रतिवेदनलाई कार्यान्वयन गर्न सरकारलाई निर्देश गर्न सुझाव दिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।