विचार

हामी आयौं

सत्य हाम्रो, हामी सत्यका लागि

असार ७, २०७३

    केही वर्षयता नेपाली पत्रकारितामा संख्यात्मकसँगै गुणात्मक परिवर्तन आएको छ। विश्व बजारमा खोजी पत्रकारिताको आयाम, यसले समेट्ने विषय र प्रस्तुतिको अवधारणालाई विकिलिक्स, पानामा पेपर्सजस्ता प्रकरणले थप उचाइमा पुर्‍याइदिएका छन्।

    पत्रकारितामा आधुनिक भनिएका अवधारणा प्रविधिमा भएका चामत्कारिक परिवर्तन, तिनको पहुँचको सहजता र पत्रकारिताले समेट्ने विषयहरुको व्यापकताले सर्वसाधारणका आशा, अपेक्षा र आवश्यकता पनि बदलिएका छन्। आजको समाजमा नागरिकले थाहा पाउने र थाहा पाउन चाहने विषयहरुको आयतन फैलिएको छ। 

    गतिशील र परिवर्तनशील अवस्थामा सञ्चारमाध्यमलाई प्रविधियुक्त पाठक, दर्शक र श्रोतालाई समेट्ने चुनौती थपिएको छ। नेपालमा छापामाध्यमको बाहुल्यलाई चिर्दै सयौं एफएम रेडियो स्टेसन र दर्जनौं टेलिभिजन स्थापना भइसकेका छन्। प्रविधिको विकाससँगै नागरिकको सूचना लिने माध्यममा विविधता आएको छ। तर सञ्चार माध्यमले समेटिरहेका विषय र नागरिकले थाहा पाउन चाहेका विषयबीच निक्कै ठूलो अन्तर रहेको हामीले महसुस  गरेका छौं।

    यस अन्तरलाई हटाउने आत्मबोध गरी थाहा मिडिया ग्रुपका तर्फबाट थाहा रेडियोपछि अनलाइन समाचार पोर्टल थाहाखबर डट कम उपस्थित भएको छ। थाहा शब्द मात्र होइन। थाहा दर्शन हो र यो अन्तरचेतनालाई बुझ्ने र सत्यलाई अभिव्यक्त गर्ने शब्द पनि हो। हामी थाहा शब्दमा होइन यसले बोकेको अन्तर्यमा गएर तपाईंसामू आएका छौं।

    थाहा गणितको सूत्र होइन। कुनै मन्त्र पनि होइन। थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउँदछ, हाम्रो विचारलाई उजागर गर्दछ। हाम्रो कामलाई ठीक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ। थाहा एउटा दर्शन हो- जसले मानिसलाई सूचनाको माध्यमबाट, विचार-विमर्शको माध्यमबाट, चिन्तनको माध्यमबाट र प्रयोगको माध्यमबाट सत्यको निकट पुर्‍याउने छ, र हामीले ती प्रत्येक कुरा थाहा पाउन जरुरी छ- जसले हामी बाँचेको समय, हाम्रो समाज र हामी प्रत्येकको जीवनसँग प्रत्यक्ष-परोक्ष सम्बन्ध राख्दछन्।

    सत्यको नजिक पुगेरमात्रै हामीले ठीक काम गर्न सक्छौं। सञ्चारक्षेत्रमा थाहा मिडिया ग्रुपको यो यात्रा त्यही थाहा  दिने अभियानतर्फको सशक्त पाइला हो। थाहा दर्शनका अभियन्ता रुपचन्द्र बिष्टका शब्दमा निष्पक्ष सक्रियताको अभ्यास हो, थाहा। वि.सं १९९० पुसमा जन्मेर २०५६ असार ७ गते यो धर्तीबाट विदा भएका आदर्शपुरुष रुपचन्द्र बिष्ट अर्थात् नेपाली सन्दर्भमा थाहा अभियानका माध्यमबाट सूचनाको हकको प्रणेता बनेका बिष्ट हाम्रा आदर्श हुन्। त्यसैले हामीले थाहाखबरको औपचारिक प्रारम्भ उहाँकै स्मृति दिवसकै दिनलाई रोजेका छौं।

    सञ्चारमाध्यम समाजको दर्पण भनिएपनि आजको सञ्चारमाध्यमले त्यतिमात्रै भएर पुग्दैन भन्ने हाम्रो ठम्याइ छ। आजको सञ्चारमाध्यमले सूचना, विचार, छलफल र चिन्तन आदिका माध्यमबाट मान्छेभित्रको मान्छेलाई जगाउन सक्नुपर्छ। सिंगो समाज प्रगतितर्फ पाइला चाल्न प्रेरित होस्- एउटा नैतिक परिधिमा रहेर भन्ने आशयका साथ थाहाखबरले अहिलेको समाजमा देखिएको सूचना जानकारी र सत्यप्रतिको भोक मेटाउन अथक प्रयास गर्नेछ।

    'हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि' भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी निष्पक्ष सक्रियताको अभ्यास गरिरहने छौं। थाहाखबर निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर कसैको पक्षमा लेख्ने काम गर्ने छैन। यो राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलको रुपमा रहनेछ। सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार यसको मूल आधार हुनेछ। यसको निरन्तरताका लागि यहाँको सद्भाव सहयोग र सल्लाहले हामीलाई निरन्तर मार्गदर्शन गरिरहने छ। 

तीर्थ कोइराला

कोइराला थाहाखबर डटकमका प्रधान सम्पादक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • Rajendra Tamrakar

    Big Congratulations to Thaha Sanchar team. wish you all the best for the success.

  • Man Bahadur Khadka

    सँधै नयाँ नयाँ समाचार पढ्न पाइयोस । अग्रिम शूुुभकामना ।

  • Parashar Rijal

    लाै बधाइ छ , थाहाले गुमराह नगराेस् । अल्मल्याउने कुरा गरेर बुद्धि नभुटाेस् । जुठाेपुराेमा नबिकाेस् । हार्दिक स्वागत छ । सफलताकाे शुभकामना ।

  • Sumi

    Congratulations, truth for d sake of truth, is it possible, but believe on your truthfulness. Wish u have a one ppl newspaper. Thanks.

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]