काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षा गार्ड सवार सवारीसाधनलाई लक्षित गरी सोमबार बिहान भएको आत्मघाती आक्रमणप्रति राजनीतिक दलले दुःख व्यक्त गरेका छन्।
कांग्रेसले घटनामा परी मृत्युवरण गरेका नेपालीका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। मृतकको पार्थिव शरीरलाई सक्दो छिटो नेपाल फर्काउन, घाइतेको उपचारको व्यवस्था मिलाउन र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि काँग्रेसले सरकारसँग माग गरेको छ।
घटना मानवताविरुद्धको अपराध भएको भन्दै कांग्रेसले निन्दा र भत्र्सना गरेको छ। नेपाल एवम् अफगानिस्तानले व्यहोर्नु परेको शोकको घडीमा संयमताका साथ एकजुट भएर अघि बढ्न पनि सभापति देउवाले सबैसँग आह्वान गरेका छन्।
त्यस्तै, नेकपा एमालेले पनि काबुलमा भएको आत्मघाती आक्रमणबाट आफ्नो पार्टी मर्माहत भएको जनाएको छ। एमालेले जुनसुकै नाममा गरिने यस्ता आतङ्ककारी आक्रमणको भत्र्सना गर्दै मानवताविरुद्धका यस्ता अपराधलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिएको छ। एमालेले यस कायरतापूर्ण आक्रमणमा परी ज्यान गुमाउने सबै नेपाली दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
पार्टीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘मृतकका पार्थिव शरीर आफन्तजनसम्म पुर्याउन, घाइतेको उपचार गर्न र प्रवासमा कार्यरत नेपालीको सुरक्षाका लागि प्रभावकारी कूटनीतिक पहल गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ।‘
यसैगरी, नेकपा माओवादी केन्द्रले काबुलमा गरिएको आत्मघाती आक्रमणको कडा शब्दमा निन्दा एवम् भत्सर्ना गरेको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सोमबार विज्ञप्ति प्रकाशित गरी आत्मघाती आक्रमणको विरोध गरेकी छन्।
उनले आक्रमणमा परी मृत्यु भएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। उनले नेपालीको सुरक्षाको व्यवस्था गर्न र घाइतेको उचित उपचारको पहल गर्नसमेत सरकारसँग माग गर्नुभएको छ।
फ्रान्सेली दूतावासको सुरक्षा गार्डका रुपमा कार्यरत नेपाली नागरिकमाथि आज बिहान ५.४० बजे गरिएको आत्मघाती आक्रमणमा परी १४ नेपालीको निधन भएको थियो भने पाँच नेपाली घाइते भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।