मनोरञ्जन

छन्द गायिका लोचन, जसलाई नारायणगोपाल 'ठूली छोरी' भन्थे

असार १५, २०७३

    काठमाडौं :

    ‘टाढा–टाढा नभई जाउ तिमी, मेरो हृदय भन्दा पनि पर

    हर छातीमा यो दिल हुन्न, खोजी हिँड्दा मायाँ भेटिन्न

    आँसुमै डुब्छ जिन्दगी, अनि आफ्नो भन्ने कोही हुन्न।’

    लोचन भट्टराईले २०४३ सालमा रेडियो नेपालको गायन प्रतियोगितामा गाएको यो गीत पहिलोमात्र भएन, उनलाई यही गीतले गायन क्षेत्रमा स्थापित पनि गरिदियो। गायनमा भाषिक शुद्धता, स्पष्टता खोज्ने लोचन छन्दवद्ध कविता गाउने प्रचलन आफैले सुरु गरेको दावी गर्छिन्।

    ‘गीत गाउनु भनेको शब्द गाउनु हो, अक्षर गाउनु हो, शब्दभित्रको भाव गाउनु हो’, यसैसाता राष्ट्रिय नाचघरस्थित आफ्नो कार्यकक्षमा थाहाखबरसँग उनले भनिन्, ‘कवितामा प्रयोग हुने छन्दमा पनि संगीत भर्न सकिन्छ भनेर यसमै लागेँ।' उनले लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, भीमनिधि तिवारी, धरणीधर कोइराला लगायतले लेखेका छन्दोवद्ध कवितामा स्वर भरेकी छन्।

    छन्दका कविता अक्षर नै गन्ती गरेर बनाइन्छ। यसमा ह्रस्व वा दीर्घ लेख्नुको पनि अर्थ हुन्छ। यसको भावलाई बुझ्न सकेमात्र संगीत उत्कृष्ट हुने लोचनको बुझाई छ। लोचनले छन्दोवद्ध कविता गाउन थालेको २०५९ सालदेखि हो। ‘काव्य पनि गाउनुपर्छ भनेर २०५९ सालबाट सुरु गरेकी हुँ' उनी भन्छिन् ‘अहिले लेखनाथ पौडेलको ‘तरुण तपसी’लाई म्युजिकल बनाउन लागिरहेकी छु।’

    गीत बन्नका लागि साहित्य चाहिने लोचनको भनाई छ। नारायणगोपाल, गोपाल योञ्जन जस्ता गायकहरुले साहित्यलाई राम्रोसँग संयोजन गरेर गीत बनाएका कारण ती गीतहरु अहिलेपनि पनि उत्तिकै लोकप्रिय रहेको लोचनको भनाई छ।

    हरेक गायनमा ह्रस्व, दीर्घको सही उच्चारण गरिनुपर्छ भन्ने लोचनको मान्यता छ। नारायणगोपाल, भक्तराज आचार्य, तारादेवी, अरुणा लामा, अरुण थापा, दीप श्रेष्ठ, बच्चु कैलाशले शुद्ध उच्चारण गरेकाले उनीहरुको गीत लोकप्रिय भएको उनी बताउँछिन्।  

    ‘ह्रस्व, दीर्घ मिलाएर गाउन गीत लेख्दादेखि नै ध्यान दिनुपर्छ। आजकल धैर्यता नै छैन,  आजै गीत लेख्ने, अहिले नै ट्युन गर्ने र अहिले नै रेकर्ड गरेर मिडियामा दिइहाल्ने, पपुलर हुने होडबाजी छ। मिहिनेत भने अत्यन्त कम छ’, उनले दुखेसो पोखिन्।

    एउटा गीतबाट स्वर, संगीतसँगै भाषा पनि सिकिने हुनाले ध्यान दिनुपर्ने लोचन बताउँछिन्।

    गीत गाउनुअघि भाषा सिक्नुपर्छ

    छन्द गायनको महत्व बुझ्न केही समय लाग्ने उनले बताइन्। ‘शब्द उच्चारण गर्न, शब्दको गाम्भीर्यता बुझ्न जरुरी ठानेर छन्दमा गाउन थालेकी हुँ', लोचन भन्छिन्, 'छन्द हामीले नबुझेर मात्र हो,  बुझ्यो भने यो निकै राम्रो लाग्छ।’

    शब्दको सही उच्चारण गर्न गायक/गायिकाले भाषाको कक्षा लिनुपर्ने लोचन बताउँछिन्। ‘स्वर राम्रो मात्र भएरमात्र हुँदैन, कुन शब्द कसरी उच्चारण गर्ने भन्नेबारेमा पनि कलाकार सचेत हुनुपर्छ’, उनले भनिन्।

    हिजोआजका नेपाली गीतमा भाषा धेरै बिगारिएकोमा लोचनलाई चिन्ता लागेको छ। अरु देशमा भाषालाई यति धेरै बिगार्ने चलन नहुने उनी बताउँछिन्। ‘हामीकहाँ भाषा धेरै बिगारिएको छ,  अरु देशमा भाषा बिगारेर बनाइएका गीत पास नै हुँदैनन्। गीतका बारेमा निर्णय गर्ने संयन्त्र हुन्छ, भाषा गलत उच्चारण हुने बित्तिकै गीत पास नै हुँदैन। तर हामीकहाँ त्यस्तो संयन्त्र छैन’, लोचन भन्छिन्।

    गीत गाउँदा भाषाप्रति न्याय गर्न सक्नुपर्ने लोचन बताउँछिन्। नेपाली सहित गुरुङ, तामाङ, थारु, अवधी, मैथली, भोजपुरी, संस्कृत भाषाका गीत समेत गाएकी छन्। हालसम्म ६ सय बढी गीत र ५५ वटा छन्द काव्यमा स्वर दिएकी लोचन संगीतकार समेत हुन्। हालसम्म आफ्नै संगीतमा ७ वटा एल्बम निकालेकी लोचन यी सबैमा शास्त्रीय छन्दको नियम पूरा गरेको बताउँछिन्।

    नारायणगोपालकी 'ठूली छोरी'

    नारायणगोपालसँग गाउँदै लोचन।

    सानैदेखि नारायणगोपालका गीतहरु सुन्ने लोचनले कुनै दिन उनीसँग भेट होला भन्ने कल्पना नै गरेकी थिइनन्। तर नारायण गोपाललाई भेट्न मात्र होइन, उनीसँगै गीत गाउने मौका लोचनलाई मिल्यो। रेडियो नेपालको गायन प्रतियोगितामा प्रथम भएपछि नारायणगोपालले नै लोचनलाई बोलाए। २०४५ सालमा उनको गायनयात्रामा कोरस गाउने अवसर पाइन् लोचनले।

    ‘म रेडियो नेपालमा प्रथम भएपछि दाइले नै बोलाउनुभयो र आफ्नो गायनयात्रा गर्दा कोरस गाउन दिनुभयो। त्यसपछि उहाँसँग गीत गाउन पनि पाएँ’, लोचनले विगत सम्झिइन्।

    शास्त्रीय गायनका धेरै कुरा नारायणगोपालसँगै सिकेकी हुन् लोचनले। ‘तान कसरी लिने, कसरी गाउने, आलाप कसरी लिने सबै कुरा मलाई सिकाउनुभयो', लोचनले भनिन्, 'भेटेको दिनदेखि नै मेरो नाम लिनुभएन, ‘ठूल्छोरी’ भन्नुहुन्थ्यो।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • Man bahadur thapa

    Devika Nani le timi lekhe ko lekha padhe sarai ucha istariya lageya thank you thaha khabar team lai mero Shubha kamana cha 💐👏🏽🙏🖋🖋🖋

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]