विचार

नेपालमा यसकारण अपरिहार्य छ संस्कृत भाषा

असार १६, २०७३

    नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो। यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषाको उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो। यो देशको सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ। 

    सनातन धर्म ( हिन्दुत्व भने पनि हुन्छ) को बीज मन्त्र र आचार विचार सहितको ज्ञान विज्ञान वेद पुराण आदि सबैथोक संस्कृत भाषामै लिपिबद्ध रहेकोले नेपाली भाषा र संस्कृतिको परिचय, पहिचान,आचार र मर्यादाहरुको वास्तविक ज्ञान संस्कृतको अध्ययन अथवा अनुशीलन बिना सम्भव नै छैन।

    हामी आधुनिक ज्ञान विज्ञान र विकासको जति सुकै उच्च शिखरमा पुगेपनि आफनै बारेमा, आफनै धरातल र  म को हूँ, किन हूँ, कस्तो हूँ, भन्ने कुरा थाहा पाउनको लागि कि त हामीले संस्कृत पढ्नुपर्दछ कि त संस्कृतका ज्ञाताहरुको सत्संगका साथै धार्मिक सांस्कृतिक अभ्यास र आचरणको अनुकरण गर्नुपर्ने हुन्छ। संस्कृत र संस्कृतिको परिचय र ज्ञान बिना हाम्रो जीवन अधूरो, अपूरो, एकांकी र सारहीन हुन्छ।

    नेपालमा अहिले कस्तो स्थिति देखा परिरहेको छ कि कुनै पनि स्कूल कलेज, सभा वा सोसाइटीमा कसैले प्रसंगवश संस्कृत श्लोक या शव्दावलीको प्रयोग गरिहाल्यो भने केही मानिस त वक्ता प्रति उत्सुकताले हेर्छन् तर धेरै जसो श्रोताहरु झस्किन्छन् र वक्ता प्रति घृणा, द्धैष र तिरस्कृत दृष्टिले हेर्छन्। शोषक, सामन्ती, परम्परावादी, ब्राह्मणवादी ठान्दछन्। नेपाली समाजमा यस्तो सोंच र दिशा धारा देखेर हामीले कस्तो आत्मघाती समाजको निर्माण गरिरहेका छौं? सोचेर दुख लाग्छ।

    आखिर यो नेपाली समाज, खास गरेर हिन्दु समाज आफनो मूलदेखि नै किन विलग हुन पुगेको छ भन्ने प्रश्न उठ्छ। नेपालमा राजनीतिक परिवर्तन र विकासको क्रममा के देखापर्छ भने हामीले परिवर्तनको नाममा आफना सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रका समसामायिक त्रुटीहरुलाई त लत्याउछौं, साथै जोश र आक्रोशमा हाम्रा लाभदायक धरातलीय मूल्य, मान्यता र मर्यादाहरु समेतलाई तिलाञ्जली दिने गरेका छौं। कोही कसैलाई गाली गर्नु, सराप्नु र उच्छृंखल व्यवहार गर्नु नेतृत्व र विकासको प्रथम आवश्यक शर्त हो भन्ने नेपाली राजनीतिको रितिले गर्दा ढुंगालाई भएपनि गाली गर्नुपर्ने हाम्रो स्वभाव नै बसिसकेको छ।

    हामीले पश्चिमा नारीको दाँजोमा पुग्नलाई कुनै बेला नेपाली नारीलाई चुरा पोते र सिन्दूर फाल्न प्रोत्साहित गर्दछौं। छोटो लुगा लगाउन र अंग प्रदर्शन गर्न उचाल्छौं भने कुनै बेला कोही महिलालाई चुरा पोतेले सिंगार्न पठाउँछौं। कहिले पिता पुर्खाको मरणोत्तर किरिया कर्म नै गर्दैनौं र कहिले त तीन दिन अथवा पाँच दिनमा कर्म सकिने कुरा गर्दछौं। हिन्दुबाटै गाई काटन लगाउने र खाने तथा भैंसीको पूजा गर्ने काम पनि यहींका तथाकथित हिन्दु ब्राह्मण नेताद्वारा भएको छ।

    श्राद्धले त अब अन्तिम स्वास लिइरहेको छ। धार्मिक र सांस्कृतिक काम कुराहरुलाई हामीले ढोंग, पाखण्ड, रुढिवादिता र विकास विरोधी काम ठान्दछौं। गन्धर्व विवाहलाई बढी प्रचलनमा ल्याउन खोजिरहेका छौं। हामीमध्येको जो कोहीले जुनसुकै रिति थिति र मर्यादाको शास्त्रीय या गैरशास्त्रीय जुनसुकै तरिकाले पालन गरेपनि  हुने, नगरेपनि हुने भएकोले पूर्ण उन्मुक्त र स्वच्छन्द नेपाली समाज विशेषत: हिन्दू समाजले कोही कसैको कुरा सुन्ने वा मान्ने पक्षमा नभएको र हामी सामाजिक भएर पनि कुनै निश्चित सामाजिक नियम, मापदण्ड र मर्यादाभित्र बस्न मन पराउँदैनौं र यसलाई बन्धन ठान्दछौं।

    स्वतन्त्रताको अनुभूति स्वेच्छा र स्वनिर्मित मर्यादालाई ठान्दछौं। अब त कोही कुनै निश्चित मापदण्ड र मर्यादामा छैन भन्ने स्थितिमा पुगिरहेकाले हामी उच्छृंखल त भैरहेका छैनौं, हामी मानवता छोडेर कहीं पशुतातिर उन्मुख त भैरहेका छैनौं? शंका लाग्न थालेको छ। यस्तो किन त? भन्ने हकमा निम्न दुई वटा कारण देखन सकिन्छ।

    १. राजनीतिक नेता र वुद्धिजीवीहरुले विकासको परिभाषा र मापदण्ड पश्चिमी जगतमा खोजेका छन् नेपाली माटोको अवहेलना भएको छ। यो माटोले खोजेको आचरणको पहिचान गर्न सकेका छैनौं र पश्चिमी सभ्यतामा रहेका सजिला व्यवहारहरुलाई नेपाली समाज र संस्कृतिमा प्रवेश गराएकाले नेपाली पहिचान विलीन हुँदै गएको छ तर उनीहरुले यसलाई विकास ठानेका छन्।

    २. पश्चिमी जगतको भौतिकवादी चिन्तन र विश्वस्तरमै अव्यवहारिक ठहर भइरहेको कम्युनिज्मको हावाले राजनीतिक वृत्तका अगुवाहरुलाई बढी आकर्षित गरेकोले यिनले जनतालाई भड्काई आफनो भूमिबाट खुट्टा उचाली शून्य आकाशमा उभिएर कम्युनिज्मका साथै क्रिश्चियनिटीलाई समेत भित्र्याएका छन्। यी दुवै कुरालाई जनतामाथि लाद्न सह्य र सहज बनाएर नेपाललाई श्रमिक राज्य बनाउनका लागि निरंकुश शासन सजिलो तरिकाले सञ्चालन गर्ने उद्देश्यले जनतालाई ज्ञान विज्ञानदेखि टाढा राख्न ज्ञान विज्ञानको प्रमुख श्रोत संस्कृत भाषा, मानव धर्म (हिन्दू धर्म) का शाश्वत सिद्धान्त दया, क्षमा प्रेम, सहिष्णुता आदि र धार्मिक अभ्यास माथि तीब्र प्रहार गरेका छन्।

    माओवादीले त हिन्दू धर्मका (अन्य कुनै धर्मलाई छोएको छैन) पुस्तक र मठ मन्दिर जलाउने, किरियापुत्री र वेदपाठी तथा श्रीमद्भागवतको माध्यमद्वारा धर्मलाई बल पुर्‍याउने पण्डित नारायण पोखरेल जस्ताको हत्या गर्न, भजनकीर्तन पूजाआजा जस्ता आत्मिक उन्नतीको काम गर्न नदिने र हिंसा र दमनको माध्यमद्वारा हिन्दुहरुमा भय त्रास र आतंक फैलाएर, राज्यलाई धर्म निरपेक्ष गराएर क्रिश्चियनिटीलाई व्यापक बल र आधार तयार गरिदिएको छ।

    अब यही धार्मिक हतियारका माध्यमबाट विदेशी षडयन्त्रकारीहरुले नेपालको सार्वभौम सत्तामाथि बक्रदृष्टि राख्दै  यसै धर्मतन्त्रको अजेय अस्त्रबाट आफना कठपुतली नेताहरुद्वारा जनताको बीचको पारस्परिक सुमधुर सम्बन्धलाई खलबल्याएर अन्तमा विदेशी शक्तिलाई सबै जनाको झगडा मिलाउने “महतौ,बडघर अथवा चौधरी” बन्ने बाटो प्रशस्त गरेर देशको सम्प्रभुतामा नै आँच आउन सकने आधार सिर्जना गरेकाले यी नेताहरु, पद, पैसा र सत्ताका लोभी हुन् अथवा विदेशी षडयन्त्रका शिकार निरिह प्राणी मात्र हुन् यो कुरा भविष्यले नै बताउला। तर जे होस्, उच्च महत्वाकांक्षा र राजनीतिक उद्देश्यले गर्दा संस्कृत विद्यामाथि घोर प्रहार गरेर नेपाली भाषा र संस्कृतिको घाँटी रेट्ने काम भएको छ।

    नेपालीका लागि संस्कृतको महत्व

    १. पहिलो कुरा त संस्कृत भाषा नेपाली भाषाको जननी हो। संस्कृतको ज्ञान बिना नेपाली भाषा शुद्ध बोल्न र लेख्न सकिदैन र नेपाली भाषा र साहित्यको विकास र प्रतिष्ठा स्थापित हुन सक्दैन। नेपालीको आत्मा संस्कृत मै बसेको छ,  हाम्रो संस्कृतिमा यदि समसामयिक कुनै विकृति र विसंगति देखा पर्दछ भने त्यसलाई सजिलै निर्मूल पार्ने प्रभावकारी आधार पनि  संस्कृत भाषा नै हो।

    २. चार वेद,उन्नाइस पुराण, मनु,याज्ञवल्क्य, पारासर, अत्रि आदि  स्मृतिहरु, षटदर्शन आदि शास्त्रहरु ज्ञान विज्ञानका अभूतपूर्व ग्रन्थहरु  हुन्। अंग्रेजहरुले यो कुरा राम्ररी बुझेर म्याक्समुलरले भारतबाट थुप्रै ग्रन्थहरुलाई लण्डन पुर्‍याएका थिए र अंग्रेजहरुले यनको अध्ययन र अनुसन्धानमा आफनो जीवन लगाएका छन् र विकासको सोपान चढदै मंगल ग्रहसम्मको यात्रामा लागिपरेका छन्।

    ३.अमेरिकाको विश्वविख्यात वैज्ञानिक संस्था नासाले संस्कृतलाई विश्वकै उत्कृष्ट र बहुउपयोगी भाषा ठहर गरेको छ र भविष्यमा यसै भाषामा कम्प्युटर र बिना चालकको कार र वायुयानको विकास हुने निश्चित छ।

    ४. संसारका २५० वटा विश्वविद्यालयमा संस्कृतको पठन पाठन भइरहेको छ। जर्मनी, अमेरिका र लंदनका केही स्कूलहरुमा संस्कृत विषय अनिवार्य छ।

    ५. नेपालमा संस्कृत बाहुनहरुको भाषा हो, यसै भाषाको आधारमा बाहुनहरुले समाजमा शोषण गरेका छन् र आफूहरु  उच्च बनेका छन् भन्ने आरोप छ। यदि यो आक्षेप सही हो भने त कथित दलित, जनजाति आदि पिछडा वर्गलाई माथि उठाउनको लागि संस्कृत किन पढाइंदैन? संस्कृतमा तिनको पहुँच पुर्‍याएर  तिनलाई पनि उच्च,सवर्ण र ज्ञानी बन्ने अवसर किन दिइँदैन? तिनको लागि त यो विद्या झन् बढी र आवश्यक नै भएकोले तिनको यो विद्या पढ्न पाउने अधिकार किन खोसेको हो? कसले उत्तर देला?

    ६. गौतम बुद्ध र रामानुजाचार्यले र हिन्दू सम्प्रदायका जुन सुकै प्रवर्तकले संस्कृत भाषा को अतुलनीय भण्डारबाट उच्च ज्ञान प्राप्त गरे। त्यस ज्ञानबाट, गरीब, दुखी, अज्ञानी, दलित र तत्कालीन भाषामा चण्डाल भनिएकाहरु सबैलाई अंकमाल गरे, समाजको प्रत्येक वर्गले उहाँहरुको माया पायो। उहाँहरुले आफनो ज्ञानलाई लोक भाषामा वितरण गरेकाले समाजले ज्ञानको अमूल्य निधि पायो, जान्यो बुझ्यो र ज्ञानी भयो।

    समाजमा फैलिएको हिंसा र युद्ध रोकियो र सुख शान्ति छायो। तर उहाँहरुको अवसानपछि उहाँहरुद्वारा प्रतिपादित धर्म र सम्प्रदायमा र सामाजिक व्यवहारमा जुन नयाँ नयाँ प्रश्नहरु उव्जे तिनको उत्तर दिन उहाँहरुका शिष्यहरुसँग संस्कृतको ज्ञान नभएकोले तिनले आफनो बुद्धिले जे देखे त्यही भने। यसले गर्दा ती धर्म र सम्प्रदायहरुको विकास,सुदृढीकरण र प्रवर्धनमा ठूलो बाधा आयो। धर्म सम्प्रदायहरुमा विभाजित भए।

    यी धर्म प्रवर्तकहरुका अनुयायीहरुले संस्कृत भाषामा रहेका वेद पुराण आदिको अध्ययन गरेको भए समाजलाई वेद पुराणकै आख्यानहरुबाट कुरा बुझाउन सजिलो हुने थियो। आजका दिनमा पनि यदि कुनै धर्म सम्प्रदायले आफूलाई हिन्दू मान्यतासंग आबद्ध राखेको छ तर संस्कृतमा लेखबद्ध भएका धर्मग्रन्थहरुदेखि अलग बस्ने नीति लिएको छ भने त्यसको दिगो विकासमा विश्वास गर्ने ठाउँ देखिदैन। हिन्दुत्वमा आधारित धर्मदेखि संस्कृतलाई अलग राख्नु भनेको “गुड खानु तर गुलियो नखानु”, “स्वर्ग जाने रहर छ तर कात्रोदेखि डर लाग्छ” भन्ने उखानहरु चरितार्थ गर्नु हो।

    ७. संस्कृत भाषाका आधारमा अगाडि बढिरहेको विज्ञानले बनाएको मेसिन, औजार, उपकरण आदि भोलिका दिनमा नेपालीले कसरी प्रयोगमा ल्याउला? अंग्रेज गुरुका पाउमा बसेर संस्कृत शिक्षा लिने हाम्रा अभागी सन्तानले हामीलाई र आजको बौद्धिक र राजनीतिक नेतृत्व प्रति कस्तो भाव राखने होलान्? घरघरमा तुलसी रोप्नुपर्छ र तुलसीर बेलपत्रको काढा खानुपर्छ,यज्ञ यज्ञादि र श्राद्ध तर्पण गर्नुपर्छ,यो लाभदायक कुरा हो भनेर अंग्रेजले भन्न थालेपछि वाल्ल परेर हेर्ने हाम्रा सन्ततिको अनुहार र तिनका आँगनमा अंग्रेज पुरोहितले संस्कृतको श्लोक बोल्दाको दृश्य कल्पना गर्दा पीडा को अनुभूति हुन्छ कि हुँदैन? मननीय छ।

    चितवन भरतपुरको यी पेपरमा संस्कृत भाषादेखि हामी टाढिदै छौं भन्ने लेखका निम्न कुराहरु मननयोग्य छन् ।

    १. संस्कृत अंग्रेजीको साथसाथै युरोपियन तथा सबै प्रमुख भाषाहरुको जननी हो। यो हिमवत् खण्डको अधिकारिक भाषा हो। दक्षिण एशियामा मुगलहरुको साम्राज्य स्थापना हुनुभन्दा अघिसम्म संस्कृत समस्त आर्याव्रत कै राजभाषा थियो।

    २. यस भाषाका विद्वानहरुले संस्कृत भाषामा संसारमा प्रचलित भाषाहरुमध्ये सबैभन्दा बढी शव्दहरु छन् भन्छन्। संस्कृत भाषाको शव्दकोषमा १०२ अर्ब ७५ करोड ५० लाख शव्दहरु छन्। एउटै चीजका सय कडौं पर्यावाची शव्दहरु, हात्तीका मात्रै एक सय जति शव्दहरु छन्।

    ३. अन्य भाषाको तुलनामा संस्कृतमा सबभन्दा कम शव्दमा वाक्य पूरा हुन्छ।

    ४. संस्कृत बोल्दा जिब्रोका सबै मांसपेशीहरुको उपयोग हुन्छ र शरीरको तन्त्रिकातन्त्र सक्रिय हुन गई मधुमेह, व्लडप्रेसर र कोलेस्टेरोल नियन्त्रणमा रहन्छ।

    ५. नासाले संस्कृतलाई संसारको सबभन्दा स्पष्ट भाषा भनेको छ र उसले ६० हजार भंदा बढी संकलन गरेका ताडपत्रका पाण्डुलिपीहरु मा अनुसन्धान गरिरहेको छ।

    ६. स्पिच थेरापीमा संस्कृत सहयोगी शिद्ध हुन्छ र एकाग्रता बढाउँछ।

    ७. नासाका वैज्ञानिकका अनुसार अन्तरिक्ष यात्रीलाई अरु जुनसुकै भाषामा समाचार पठाउँदा वाक्य उल्टिन्छन् र अर्थको अनर्थ लाग्न सक्छ तर संस्कृतको वाक्य उल्टेपनि अर्थ बदलिदैन।

    ८. जर्मनीका १४ वटा विश्वविद्यालयमा संस्कृत पढाइन्छ, लण्डन र आयरल्याण्डका केही विद्यालयहरुमा संस्कृत विषय अनिवार्य छ।

    संस्कृतका सन्तान देशका कर्णाधारहरुको जागरुकताको लागि यो भन्दा बढी लेख्नु पर्दैन होला। यतिले कुरा बुझाउन सकिदैन भने त “मूर्ख हृदय न चेत चाहे गुरु मिलइ विरंचि सम ” को स्थिति छ भन्न बाध्य हुने अवस्था हुन्छ।

अयोध्या प्रसाद श्रीवास्तव

लेखक गृह मन्त्रालय का अवकाश प्राप्त अधिकृत तथा राजनीतिशास्त्रका उपप्राध्यापक हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]