राजनीति

संयोजक तोक्न नसकेपछि एमालेको प्रदेश भेला स्थगित

फोटो साभार : www.pearlstjournal.com
असार १६, २०७३

    काठमाडौं : असार १८ गतेका लागि तोकिएको नेकपा एमालेको प्रदेश कमिटीको भेला स्थगित भएको छ। सातवटै प्रदेश कमिटी गठन भएपनि संयोजक तोक्न नसकेपछि भेला स्थगित भएको हो। 

    बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले तत्कालका लागि प्रदेशमा आयोजना गरिएको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। प्रदेश कमिटी गठन भए लगत्तै बजेटका पक्षमा देशभर अभियान चलाउन एमालेले प्रदेश कमिटीको भेला गर्ने तयारी गरेको थियो।  

    एमालेले भने संसद् बैठक सुचारु भएको र वर्षाका कारण भेला स्थगत गर्नुपरेको जनाएको छ। ‘आजबाट संसद बैठक सूचारु भएकाले सांसदहरु प्रदेशमा जान नभ्याउने अवस्था छ। ५ दिनसम्म सदन अवरुद्ध भएकाले बजेटसम्बन्धी छलफलको कार्यतालिका प्रभावित भयो। त्यसकारण भेला तत्कालका लागि स्थगन गर्नु परेको हो' एमाले सचिव प्रदीप ज्ञवालीले भने। 

    उनले वर्षाका कारण पनि १८ गते प्रदेश भेला गर्न उपयुक्त नभएकाले बिहीबार बसेको सचिवालय बैठकले स्थगन गर्ने निर्णय गरेको जानकारी दिए।

    ‘संसद्को बजेटसम्बन्धी छलफल त्यतिञ्जेल सकिएला भन्ने अनुमान थियो, वर्षाले पनि भेला प्रभावित गर्ला कि भन्ने’ ज्ञवालीले भने, ‘अहिले एकदमै धेरै वर्षा भइरहेको छ। तल–तलका साथीहरुले पनि टाढा–टाढाबाट आउनुपर्ने र वर्षामा समस्या हुने भनेकाले भेला रोक्नुपर्ने अवस्था आयो।’

    प्रदेश कमिटी गठन भएपनि अहिलेसम्म संयोजक नतोकिएको अवस्थामा संयोजक बिनै भेला आयोजना गर्दा सन्देश गलत जाने विषयमा पनि एमालेभित्र छलफल भएको थियो। भेला स्थगितको मुख्य कारण यही भएको एमालेका एक नेताले बताए। 

    एमालेभित्र अहिले सात प्रदेशका संयोजक बनाउने विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच बिवाद छ। विवादका कारण अहिलेसम्म कुन प्रदेशमा कसलाई संयोजक बनाउने भन्ने विषय अन्योलमा परेको छ।

    नेपाल समूह पदाधिकारी भित्रैबाट संयोजक छान्नु पर्नेमा छ भने ओली समूहले स्थायी कमिटीबाट संयोजक तोक्नुपर्ने अडान राख्दै आएको छ ।

    प्रदेश भेला स्थगित भएपनि एमालेले असारको अन्तिम हप्ता गर्ने भनेको जिल्लास्तरीय भेला भने यथावत राखेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]