काठमाडौँ : नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भनेर प्रश्न...
काठमाडौं : नयाँ शक्ति नेपालले पार्टीको संगठनात्मक सिद्धान्त र अन्तरिम विधान २०७३ सार्वजनिक गरेको छ। असार १० गतेदेखि १४ गतेसम्म भएको केन्द्रीय सचिवालय बैठकले पारित गरेको पार्टीको संगठनात्मक सिद्धान्त र अन्तरिम विधान २०७३ मा पार्टी सदस्यलाई स्वस्थ जीवनका लागि योग, ध्यान र प्राणायाम गर्न प्रेरित गर्नेदेखि अध्ययन अनुसन्धानमा लगाउनेसम्मका योजना छन्।
नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले परम्परागत राजनीतिक पार्टी भन्दा आफूहरु नयाँ प्रयोगमा अघि बढेको बताए। अन्तरिम विधानको पहिलो खण्डमा १५ सांगठनिक सिद्धान्तबारे विस्तृत व्याख्या गरिएको छ।
शक्ति पृथकीकरणलाई प्रोत्साहित गर्ने उल्लेख गर्दै नयाँ शक्ति ‘सामूहिक नेतृत्व, जिम्मेवारी बाँडफाँटको मान्यतामा आधारित हुने’ अन्तरिम विधानमा उल्लेख छ। पार्टीका सांगठनिक संरचना समानुपातिक, समावेशी र सहभागितामूलक हुनेगरी निर्माण हुनेछन्।
विधान अनुसार नयाँ शक्तिमा पदको मतदान गोप्य हुनेछ भने विचारको मतदान खुल्ला हुनेछ। ‘पार्टीभित्र कुनै पनि कमिटीको निर्वाचन हुँदा सदस्यहरुले प्रयोग गर्ने मतदान गोप्य हुनेछ। सैद्धान्तिक, वैचारिक, नीतिगत विषयहरुमा हुने मतदान खुल्ला हुनेछन्’, अन्तरिम विधानमा उल्लेख छ।
यस्तै बहुमतको कार्यान्वयन र अल्पमतको सम्मान गर्ने संगठनात्मक सिद्धान्त नयाँ शक्तिले अबलम्बन गर्नेछ। पार्टीभित्र शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको मन्यता अबलम्बन गर्नेछ।
नयाँ शक्तिले राज्यको कुनै पनि पद तथा जिम्मेवारीमा उम्मेदवार छनौट गर्दा समानुपातिक समावेशी मान्यताका आधारमा सदस्यहरुबीचको सहमतिमा वा आवश्यक परे आन्तरिक निर्वाचन गर्नेछ। यस्तै नयाँ शक्तिले पार्टीका विभाग र संयन्त्रहरुमा मनोनयन गर्दा व्यक्तिको रुची, क्षमता र विषय विज्ञतालाई ध्यान दिने जनाएको छ। उसका कार्यालयहरुमा विषय विज्ञ र व्यवसायिक कर्मचारीहरु हुनेछन्।
नयाँ शक्तिमा पूर्णकालीन कार्यकर्ता रहने छैनन्। खासखास पदमात्रै पूर्णकालीन हुने नयाँ शक्तिको सिद्धान्तमा उल्लेख छ। नयाँ शक्तिले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्ने जनाएको छ।
नयाँ शक्तिले स्वायत्त र रचनात्मक आंगिक संगठन बनाउने र सबै कमिटीहरु स्वायत्त हुने नयाँ शक्तिको सिद्धान्त छ। भ्रष्टाचारमा शून्य सहनशीलता, समाजिक विभेद र अपराधविरुद्ध शून्य सहनशीलतालाई पनि नयाँ शक्तिले सिद्धान्त बनाएको छ।
नयाँ शक्तिले अध्ययन, अनुसन्धान र सूचनालाई प्राथमिकता दिने भएको छ। ‘कुनै पनि विषयमा धारणा बनाउँदा वा नीतिगत निर्णय गर्दा अध्ययन अनुसन्धान, तथ्यांक, सूचना र जनमतमा आधारित हुने संस्कृतिको विकास गरिने’ अन्तरिमविधानमा उल्लेख छ।
यस्तै नयाँ शक्तिले ‘स्वस्थ जीवनका लागि योग, ध्यान र प्राणायाम’ लाई पनि संगठनात्मक सिद्धान्त बनाएको छ। ‘स्वस्थ शरीर र मन निर्माणका लागि पूर्वीय दर्शनमा आधारित योग, ध्यान र प्राणायाम जस्ता विधिहरु उपयोग गर्न प्रेरित गरिनेछ। आवश्यकता अनुरुप तालिम तथा प्रशिक्षणको व्यवस्था गरिने’, संगठनात्मक सिद्धान्तमा उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।