|

  • नारायण ढुंगाना

चितवन : कुखुरा व्यवसायीले ब्रोइलर कुखुराको मासुको मूल्य फेरि बढाएका छन्। मागभन्दा उत्पादन कम भएको भन्दै व्यवसायीहरुले एक सातामै दोस्रोपटक मूल्य बढाएका हुन्।

नेपाल कुखुरा बजार व्यवस्थापन संघले सोमबारदेखि लागु हुनेगरी जिउंँदो ब्रोइलरको मूल्य बढाएको जनाएको छ।  नयाँ मूल्यअनुसार जिउँदो ब्रोइलर प्रतिकिलो १० रुपैयाँ वृद्धि गरी १९० कायम भएको संघले जनाएको छ। अघिल्लो हप्तामात्रै १७० प्रतिकिलो रहेको जिउंँदो ब्रोइलर कुखुराको मूल्य बढाई  प्रतिकिलो १८० कायम गरिएको थियो। 

यस्तै तयारी फ्रेस मासुको मूल्य प्रतिकिलो २८० सम्म तिरिरहेका उपभोक्ताले अबदेखि प्रतिकिलो ३०० तिर्नु पर्नेछ। अत्याधिक रुपमा मासुको माग बढ्दै गएको र त्यसको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएका कारण मासुको मूल्य बढाउनु परेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले जानकारी दिए।

जाडोको याममा चल्ला हुर्काउन कठिन हुने भएकाले कुखुरा उत्पादनसमेत कम हुने गर्दछ। जाडोमा चिसोका कारण चल्लाको मृत्युदर बढी हुने र एच नाइनको संक्रमण पनि बढ्ने भएकाले उत्पादनमा कमी आउने कुखुरा बजार व्यवस्थापन संघका निर्वतमान अध्यक्ष भुवनलाल जोशीले बताए। 

मञ्चका कार्यकारी अधिकृत बरालका अनुसार देशभर ब्रोइलर कुखुराको दैनिक उत्पादन करिब ८ लाख किलो छ। चितवनमा मात्रै दैनिक ८० हजार केजी मासु उत्पादन हुने गर्दछ। चितवनको उत्पादनमध्ये करिब ३० प्रतिशत मात्रै चितवनमा खपत हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.