|

  • पेमा लामा

काभ्रे : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका ७ वटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन्। 

बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, पनौतीमा रहेको तेजगंगा बहुमुखी क्याम्पस र ईन्द्रेश्वर क्याम्पस, धुलिखेल क्याम्पस धुलिखेल, सर्वमंगला बहुमुखी क्याम्पस पाँचखाल र डेडीथुम्का पब्लिक क्याम्पस डेडीथुम्कामा तला लगाइएको हो।

स्ववियु निर्वाचन मिति उपयुक्त नभएको भन्दै विप्लव माओवादीको विद्यार्थी संगठनले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाइदिएको चैतन्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जुजुभाई मानन्धरले बताए। अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष दिनेश सारुले आफ्नो संगठनको कुनै पनि कुरा सुनुवाई नभएको र तीन विद्यार्थी संगठनले सिण्डिकेट नै लगाएर निर्वाचनमा गएका कारण बाध्य भएर ताला लगाउनु परेको बताए।

‘हामीले पटक–पटक भनेको थियौं कि, हाम्रो पार्टीको अधिवेशन चलिरहेको बेलामा निर्वाचन नगरौं, तर त्यही समयमा निर्वाचन गर्न समय तोकिदिएका कारण हामीले बाध्य भएर स्ववियु निर्वाचन कार्यालयमा ताला लगाउनु परेको हो,’ अध्यक्ष सारुले भने।

यता प्रहरीले भने तालाबन्दीबारे सुनिए पनि औपचारिक जानकारी भने नआएको जनाएको छ। सम्बन्धित क्याम्पसका प्रमुखहरुले यसबारे जानकारी नगराएको जिल्ला प्रहरी प्रमुख एसपी सहकुल बहादुर थापाले बताए। ‘हामीकहाँ कुनै पनि क्याम्पसका प्रमुखहरुले काम गर्न असुरक्षा भयो भनेर कुरा गर्न आउनु भएको छैन,’ एसपी थापाले भने, ‘खै किन र कसरी काम गर्न लागिएको हो ?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.