|

काठमाडौं : सरकारले तीन महिनाअघि मसेलियामा एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली फुटबल टिमका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ सहित सम्मान गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेका हुन्।

सरकारले २३ जना खेलाडी र मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई जनही ३ लाख, प्रशिक्षक राजुकाजी शाक्यलाई २ लाख, गोलकिपर प्रशिक्षक उज्वल मानन्धर र साइकोथेरापिस्ट सुरज भुसाललाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गरेको हो।

तीन लाख रुपैयाँ पुरस्कार पाउनेमा अनिल गुरुङ, विराज महर्जन, रविन श्रेष्ठ, विकेस कुथु, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, रञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा, कमल श्रेष्ठ र अञ्जन विष्ट रहेका छन्। त्यस्तै सुजल श्रेष्ठ, किरण चेम्जोङ, सुमन लामा, नवयुग श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल र रञ्जित धिमालले पनि जनही ३ लाख रुपैयाँ पाएका छन्।

सन् २०१६ को नोभेम्बरमा भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले मकाउलाई १-० ले हराउँदै उपाधि जितेको थियो। सोमबार पुरस्कार लिएपछि नेपाली फुटबल टिमका कप्तान अनिल गुरुङले पुरस्कारले आगामी दिनमा प्रतियोगिता जित्न प्रोत्साहन मिलेको बताए। 

प्रधानमन्त्री प्रचण्डले विगतमा खेलाडीहरुले घोषणा भएको पुरस्कार पनि नपाउने तीतो यथार्थ रहेको भन्दै आफूले प्रोत्साहन गर्न सुरु गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.