गरिब भएर राम्रोसँग उपचार गर्न सकिएन : परिवार

|

गुल्मी : रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका एक जनाको अवस्था दिनानुदिन गम्भीर बन्दै गएको छ। 

धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषमा जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई सदरमुकाम तम्घासको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको छ। तर अवस्था बिग्रँदो छ। रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालका अनुसार घरको आर्थिक अवस्था दयनीय छ।

उनमा २ वर्षदेखि आन्द्राको क्यान्सर भएको थियो। उनको उपचारका लागि कहिले भारत त कहिले अन्यत्र गर्दागर्दै हालसम्म करिब १५ लाख रुपैयाँ सकिएको उनकी श्रीमतीले बताइन्।

उनका १४ वर्षका छोरा, ७० वर्षका बुवा र श्रीमती छन्। उनमा क्यान्सर त थियो नै, त्यसैमाथि कोरोना थपियो। अहिले उनले खाना पनि राम्रोसँग नखाने र शरीर फुलिँदै गएको उनका काकाका छोराले बताए। ‘उहाँ अहिले राम्रोसँग बोल्न सक्नुहुन्न र खाना पनि खान सक्नुभएको छैन,’ उनले भने। 

औषधिसमेत खान सक्दैनन् 

पछिल्लो २ दिनदेखि उनले औषधिसमेत खान नसक्ने भएका उनकी श्रीमतीले बताएकी छन्। ‘उहाँले मलाई पनि चिन्न छोड्नुभएको जस्तो गर्नुहुन्छ कहिलेकाहीँ,’ उनले रुँदै भनिन्।

‘मलाई बोकेर घर लैजा भन्नुहुन्छ’

आइसोलेसनमा उपचाररत उनी त्यहाँ बस्न नसक्ने र आफूलाई घर लिएर जान भनिरहेका छन्।संकमितकी श्रीमतीले बिहीबार थाहाखबरकर्मीसँग फोनमा कुरा गर्दै भनिन्, ‘यहाँ(आइसोलेसन) भन्दा घरमै लैजान पाए राम्रो हुन्थ्यो।’

कोरोनाको डरले भारतबाट एम्बुलेन्समै आयौं

श्रीमानको उपचारका लागि नयाँ दिल्ली गएका उनी लकडाउनपछि जेठ २ गते एम्बुलेन्समै नेपाल आएका थिए। दिल्लीदेखि सुनौलीसम्म आउँदा १५ हजार भारतीय रुपैयाँ एम्बसलेन्सले लिएको उनले बताइन्।

सुनौलीदेखि तम्घास १० हजार र तम्घासदेखि धुर्कोट घरसम्मको ३ हजार रुपैयाँ एम्बुलेन्समा खर्च भएको उनले जनाइन्। ‘कोरोना डरले एम्बुलेन्समै आयौँ, धुर्कोट आएपछि क्वारेन्टाइनमा राखें र परीक्षणमा कोरोना संक्रमण भएपछि तम्घास ल्याएका हौं,’ आइसोलेसनभन्दा घरमै राखेको भए श्रीमानको अवस्था राम्रो हुने उनी दाबी गर्छिन्। 

‘शिर उठाउन नसक्ने भएपछि बुटवल जा भन्छन्’

आइसोलेसनमा अहिलेसम्म राखेर अवस्था नाजुक भएपछि बुटवल उपचारमा पठाइएको उनले बताइन्। पहिल्यैदेखि नै बुटवल लैजानपर्छ भनेको भए यस्तो अवस्था नआउने उनले बताइन्। आफूहरुलाई नसक्ने देखेर वास्ता नगरेको उनी दुखेसो पोख्छिन्। ‘सक्नेहरु गाउँपालिकामै र स्कुलमै बसे पनि हुने, हामी नसक्नेलाई यस्तो,’ उनले दुख पोखिन्। 

गहना बेचेर उपचार गरें 

श्रीमानको उपाचारका लागि आफूले गहना पनि बेचिसकेको उनले बताइन्। ‘तर उहाँले शिरसमेत उठाउन सक्नुहुन्न,’ उनी गुनासो गर्छिन्। संक्रमितको अवस्था गम्भीर भएपछि गाउँपालिकाले बुटवल उपचारका लैजान आर्थिक सहयोग गर्ने बताएको धुर्कोट गाउँपालिकाले जनाएको छ।

अहिले बेडमा जाने र झर्न नसक्ने भएपछि उनलाई भुइँमा राखेर उपचार थालिएको छ। उनको दुई पटकसम्म पिसिआर रिपोर्ट पोजेटिभ नै आएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.