|

तनहुँ : जिल्लाका १० वटै स्थानीय तहको समन्वयमा कोभिड १९ को परीक्षणका लागि पिसिआर मेसिन खरिद गर्ने तयारी भएको छ। स्थानीय तहले आफ्नै लगानीमा मेसिन खरिद गर्न लागेको जनाएको छ। 

म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा बिहीबार बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले सो निर्णय गरेको हो। सरकारद्वारा कोरोनाको परीक्षणमा ढिलाइ भएपछि तनहुँका सबै स्थानीय तहले संयुक्त रुपमा पिसिआर मेसिन खरिदको निर्णय गरेका हुन्। 

सरकारले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई पिसिआर परीक्षण नगरी घर पठाउने निर्देश भएपछि जिल्लावासीको स्वस्थ्य सुरक्षाका लागि सो निर्णय गरिएको गाउँपालिका अध्यक्ष रानाले बताइन्। 

‘सरकारको तवरबाट समयमा सबैको कोरोना परीक्षणका लागि पर्खिनुपर्ने भयो, रिपोर्ट असाध्यै ढिलो आउने रहेछ, स्वाब संकलन नै ढिलो हुने भएपछि यस्तो निर्णयमा पुगेका हौं,’ उनले भनिन्, ‘क्वारेन्टाइनमा बसेकालाई परीक्षण नगरी पठाउँदा पछि भाइरस देखिने हो कि भन्ने त्रास छ।’

उनका अनुसार नगरपालिकाले १२ प्रतिशत, गाउँपालिकाले ९ प्रतिशत लगानी गरी मेसिन खरिद गर्ने निर्णय गरिएको छ। भने देवघाट गाउँपालिका टाढा रहेको र यहाँबाट कम सेवा लिने भएपछि उक्त गाउँपालिकाले ५% मात्रै लगानी गर्ने गरी निर्णय भएको छ। 

मेसिन शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा राखिने समेत निर्णय गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए।

पिसिआर प्रयोगशाला सञ्चालनका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशसँग समन्वय गरी माग गरिने निर्णय भएको छ। मेसिन खरिदसहित पूर्वाधार निर्माणका लागि एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। 

शुक्लागण्डकी नगरपालिकाले १४ प्रतिशत, व्यास नगरपालिका, भानु नगरपालिका र भिमाद नगरपालिकाले समान १२ प्रतिश, म्याग्दे, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाले समान ९ प्रतिशत र देवघाट गाउँपालिकाले ५ प्रतिशत खर्च बेहोर्ने निर्णय भएको बताइएको छ। 
पिसिआर मेसिन खरिद गर्न र आवश्यक पूर्वाधार निर्माणका लागि शुक्लागण्डकी नगरपालिकालाई जिम्मा दिइएको छ।

सो बैठकमा भानु र भिमाद नगरपालिका बाहेकका अन्य स्थानीय तहका प्रमुखको भने उपस्थितिमा सो निर्णय गरिएको हो। तर फोनवार्तामा भने अनुपस्थित भएका स्थानीय तहका प्रमुखहरुले समेत सहमति जनाएका छन्।

त्यस्तै बैठकमा जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीको समेत उपस्थिति थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.