|

बर्दिया : ठाकुरबाबा नगरपालिकाका टीकाराम थारुलाई अहिले धानको बीउ राख्न भ्याइनभ्याइ छ। लकडाउनकै बीच बर्खा सिजन सुरु भएकाले अहिले धान रोप्ने तयारी गर्न लागिरहेको उनी बताउँछन्।

‘बीउ राख्ने, रोप्नका लागि खेत तयार पार्ने, मलको जोहो गर्नेलगायतका कामले एकछिन् फुर्सद छैन्,’ उनले भने, ‘हरेक वर्ष किसानलाई यो समय कामको समय हो।’ 

कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले लकडाउन गरे पनि किसानलाई भने लकडाउनले रोकेको छैन। उनीहरुलाई न लकडाउन छ न त कोरोनाको त्रास नै। 

बीउ राख्न व्यस्त

देशभर कोरोना महामारीले दैनिकीमा प्रभाव पारे पनि बर्दियाको केही क्षेत्रका किसान यतिबेला धान राप्ने चटारोमा छन्। आकाशे पानीको भर पर्नु नपर्ने खेतमा धमाधम रोपाइँ भइरहेको छ। ठाकुरबाबा नगरपालिकाका अधिकांश किसानहरु अहिले धानको बीउ राख्ने काममा व्यस्त छन्।

कोरोनाको त्रासले घरभित्रै बसेर पनि नहुने उनीहरु बताउँछन्। कुलोमा पानी आएपछि बीउ राख्ने कामको चटारो छ। कुलो नलाग्ने ठाउँमा स्थानीयले आफ्नै बोरिङबाट पानी लगाएर खेत रोप्दै आएका छन्। 

‘यो सिजनलाई मानो रोपेर मुरी फलाउने समय पनि भनिन्छ, नरोपे खान पाइँदैन,’ स्थानीय किसान जगतराम थारुले भने, ‘सुरक्षा सतर्कता अपनाउँदै खेत रोप्ने तयारीमा जुटेका छौं।’

बर्दियाको राजापुर गेरुवा लगायतका स्थानीय तहमा धान रोप्ने काम सुरु भैसकेको छ। यस क्षेत्रका किसानले धान खेतीलाई प्रमुख बालीका रुपमा लगाउँदै आएका छन्।

मल अभावले किसान समस्यामा 

धान रोप्ने बेला मल नपाएर किसान हैरान छन्। धानका लागि डिएपी र युरिया मल मिसाएर खेतमा छर्नुपर्ने भए पनि मल बेच्ने सहकारी तथा डिपोहरुमा नपाइएको किसानहरुको गुनासो छ। ‘दुईचार दिनमा आउँछ भन्दै फर्काउँछन, अझै चाहिए जति मल पाइँएको छैन,’ किसान कालीबहादुर थारुले भने, ‘भारतबाट भित्रिने मल रोकिएपछि समस्या भएको हो।’

किसाहरु दिनभर सहकारीमा मलका लागि लाइन लाग्ने गरेका छन्। सहकारीमा मल नै नभएको बारबर्दिया–३ भैशाखानीका किसान खेमबहादुर खड्काले गुनासो गरे। ‘सहकारीले मलका लागि गएको चैतमै रकम बुझाउनुपर्ने, अनि मात्रै मल पाउने भनेपछि त्यतिबेला नै रुपैँया सहकारीमा बुझाएका थियौं,’ उनले भने, ‘अहिले उक्त सहकारीले सहकारीमा मल नै नआएको बताउदै आएको छ।’

मलको बिक्री वितरण गर्ने कृषि सामग्री कम्पनी बर्दियाका अनुसार डिएपी मल आइसकेको छैन। जसकारण गोदममै अभाव छ। कृषि सामग्री कम्पनी प्रशाखा गुलरियाका प्रमुख मोहन केसीले लकडाउनका कारण मल आउन नसकेपछि आवश्यकताअनुसारको मल पुर्याउन नसकिएको बताए।

बर्दिया कृषि उल्पादनको पकेट क्षेत्र पनि हो, यहाँ बीउ राख्ने मुख्य सिजनमै मल छैन। यसले किसानहरु यस वर्ष धान उत्पादनमा कमी आउने चिन्तामा छन्। प्रमुख केसीले कृषि मन्त्रालयसँग बर्दियाका लागि चार हजार मेट्रिक टन युरिया, २५ सय मेट्रिक टन डिएपी र २०० मेट्रिक टन पोटस मल माग गरेको बताए। तीमध्ये केही मल प्राप्त भएकाले किसानहरुलाई उपलब्ध गराइएको उनले बताए।

९० बिघामा बीउ धान उत्पादनको तयारी 

ठाकुरबाबा नगरपालिकाले ९० बिघामा बीउ धान उत्पादनको तयारी गरेको छ। त्यसका लागि किसानहरुलाई अनुदानमा बीउ समेत उपलब्ध गराइएको छ। साबीत्री, राधा चार र साँमा जातको धानको बीउ उत्पादनका लागि बीउ उपलब्ध गराइएको ठाकुरबाबा नगरपालिका कृषि शाखा प्रमुख ध्रुवराज बमले बताए।

आगामी वर्ष नगरले बीउमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ। गएको वर्ष नगरले ६० बिघा क्षेत्रफलमा बीउ धान लगाएको थियो। गएको वर्ष गरिमा जातको धान नपसाएपछि किसान मर्कामा परेका थिए। 

ठाकुरबाबाको झण्डै ६० बिघा क्षेत्रफलमा लगाइएको गरिमा जातको धान नपसाएपछि करिब २०० भन्दा बढी किसान मर्कामा परेका थिए। किसानहरुलाई प्रतिकठ्ठा ६६७ रुपैयाँका दरले राहत उपलब्ध गराएको कृषि शाखा प्रमुख बमले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.