हरेक जिल्लामा पिसिआर ल्याब राख्‍नुपर्छ

|

काठमाडौं :  विश्‍वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ। कोरोनाले नेपाल पनि अछुतो रहन सकेको छैन। नेपालमा पनि प्रतिदिन कोरोना भाइरस संक्रमित थपिँदै गइरहेका छन्। कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि गरेको लकडाउन करिब ८० दिनपछि सरकारले केही खुला गरेको छ। तर, कोरोनाका बिरामी बढ्ने क्रम जारी छ। दिनमा 

सरकारले पछिल्ला दिनमा भारत र तेस्रो मुलुकबाट नागरिक ल्याइरहेको छ। तर ती नागरिक व्यवस्थापनमा चुनौती थपिँदैछ। सही व्‍यवस्थापन नभएमा ती नागरिकबाट गाउँबस्तीमा कोरोना  फैलने उत्तिक्कै जोखिम छ। लाखौँ युवाहरु रोजगारी छाडेर विदेशबाट फर्किएका छन्। नेपालमै भएका पनि कयौँको रोजगारी गुमेको छ। ती युवाहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? सरकारको तयारी कतिको पर्याप्त छ?

सरकारले तयार गरेको क्‍वारेन्टाइन कति व्यवस्थित छन्। सरकार पछिल्ला दिनमा किन अनियमिततामा पनि जोडिएको छ? भ्रष्टाचारको आरोप लागिरहेको छ। यस्तोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको आलोचना गर्दै आक्रमक देखिएको छ। यसै सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व-सञ्चारमन्त्री मोहनबहादुर बस्‍नेतसँग थाहाकर्मी रमेश पराजुलीले गरेको संक्षिप्त कुराकानी :

देश अहिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अभियानमा छ। यस्तोमा नेपाली कांग्रेस कसरी अघि बढिरहेको छ?

विश्‍वभर फैलिएको कोरोना भाइरसको कारणले नेपाल पनि अछुतो रहेन। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको छ। त्यसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गरेको छ। तर, त्यतिमै हामी मौन बसेका होइनौं। नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठक बसेर त्यसबारे सावधानी अपनाउन छलफल गरेका छौँ। 

तपाईंहरूलाई जानकारी नै छ कोरोना कोषमा नेपाली कांग्रेसको तर्फबाट ५० लाख रुपैयाँ राखिसकेका छौँ। कोरोनाबारे जनचेतना जगाउन हामीले सक्रियतापूर्वक सामाजिक दूरी कायम गरेर जनतामाझ पुगिरहेका छौं। 

कोरोनाविरुद्ध लड्न सरकारले गरेको तयारीबारे के भन्‍न्हुन्छ

सरकारले कोरोनाविरुद्ध लड्न लकडाउन गरेको छ। तर, त्योभन्दा अरू तयारी पर्याप्त छैन। कोरोनाको संकटको बेलामा स्वास्थ्य सामग्री खरिदमै अनियमितता भयो। सरकारकै जिम्मेवार व्यक्तिहरुको नाम अनियमिता मुछिएपछि सेनालाई जिम्मा दिने निर्णय गरेको छ। तर, सेनाले ल्याएको स्वास्थ्य सामग्रीमा पनि अनियमिता भएको भनिँदैछ। बिनाटेण्डर सेनाले स्वास्थ्य सामग्री ल्याउँदा रक्षामन्त्री र प्रधानमन्त्रीलाई केही फाइदा होला। तर कोरोना नियन्त्रण अभियानमा भने सरकार चुकिरहेको छ।

भनेपछि सरकारले कोरोनाको संकटमा पनि अनियमिता गरेको छ?

हो, सरकारले लकडाउन गरेपछि भारत र चीनबाट अरु ११/१२ रुपैयाँमा ल्याएको मास्क विभागले ल्याउँदा पनि धेरैमा १२/१३ रुपैयाँ पर्थ्यो होला। तर, सरकारले बिनाटेन्डर सेनालाई जिम्मा दिएको थियो। सेनाले अहिले ५२ रुपैयाँमा ल्याएको रहेछ। 

क्‍वारेन्टाइनमा सर्वसाधारणको हालत खराब छ। तर, सरकारले यति छोटो समयमा १० अर्ब निकालिसकेको छ। हामीलाई त्यो हिसाबमाथि चित्त बुझाएर बस्ने अवस्था छैन। त्यसको एकएक हिसाब चाहिन्छ। सरकारले देखाउन सक्नुपर्छ। सरकारले यस्तो संकटको बेलामा पनि भ्रष्टाचारबाट बाहिर निस्कन सकेन।

के स्वास्थ्य सामग्री खरिदपछि सेनामा पनि प्रश्‍न उठेको हो त?

हो, अहिलेसम्म अनियमितामा प्रश्‍न नउठेको भएकाले सेनालाई विश्‍वास गरिन्थ्यो। तर, अहिले स्वास्थ्य सामग्री खरिदपछि त्यहाँ पनि प्रश्न उठेको छ। उहाँहरूले नै अनियमितता गरेको भन्दिनँ। तर, त्यहाँ सरकारका जिम्मेवार व्यक्तिको हात हुनसक्छ। सेनाले विपत्ति र विकास निर्माणमा धेरै राम्रो काम गरेको छ। तर, अहिले सरकारले कोरोना संकटमा स्थास्थ्य सामग्री खरिद गर्दा मन्त्रालयकै स्वास्थ्य विज्ञलाई समेत पन्छाएर सेनालाई खटाएको छ।

विदेशमा रहेका नेपाली सरकारले ल्याउँदैछ। विदेशबाट आएका युवा शक्तिलाई कसरी व्यवस्थापन गर्नुपर्छ? ती युवा गाउँमै व्यवस्थापन गर्न सक्ला?

तपाईंले महत्वपूर्ण प्रश्‍न राख्नुभयो। हो, सरकारले अहिलेको अवस्थामा विदेशबाट फर्केका युवाहरुलाई ल्याएर व्वस्थापनमा जिम्मेवार बन्‍नुपर्ने हो। तर, अहिले सरकारले सबै नेपाली विदेशबाट फर्केको अवस्थामा थेग्‍न सक्ने केही आधार तय गरेको देखिएन। सरकारले अझै पनि बाहिरबाट आउनेहरुका लागि राख्‍न व्यवस्थित क्वारेन्टाइन बनाउन सकेको छैन।

लाखौँको संख्यामा युवाहरु रोजगारी गुमाएर फर्कंदैछन्। यहाँ भएकाहरुले पनि रोजगारी गुमाइसकेको छ। त्यस विषयमा सरकारले केही नीति अघि बढाएको छैन। बाहिरबाट आएका युवाशक्तिले नयाँ सिप र प्रविधि जानेर आएका छन्। त्यो सदुपयोग गर्दै सरकारले कृषि उत्पादनमा जोड दिनुपर्छ।

सरकारले ल्याएको बजेट कोरोना नियन्त्रणका लागि पर्याप्त छ?

सरकारले ल्याएको बजेटले कोरोना नियन्त्रण गर्न सक्दैन। सरकारको बजेटले कोरोना तत्काल हट्ने संकेत गर्छ। तर, अवस्था त्यस्तो छैन। सरकारले अहिले पिसिआर परीक्षणमा जोड दिनुपर्ने हो।

तर, अझै विश्‍वले विश्‍वास नगरेको आरडिटी किट खरिदमै केन्द्रित भइरहेको छ। किट अभावले कोरोना परीक्षण बन्द हुने अवस्थामा छ। तर, सरकारको बजेट बिनाअर्थको भयो। राष्ट्रपति कोषमा ६ अर्ब र प्रधानमन्त्रीको झार उखाल्ने र गाईको पुच्छर निमोठ्ने काममा लगाइएको छ। स्वास्थ्य, शिक्षा र कृषिमा केही बजेट बढाइएको भए पनि पर्याप्त छैन।

तपाईंको गृहजिल्ला सिन्धुपाल्चोकमा कोरोनाबाट पहिलो मृत्यु भयो। अहिले त्यहाँको अवस्था कस्तो छ

कोरोनाबाट पहिलो मृत्यु मेरो सिन्धुपाल्चोक भयो। त्यसपछि थेरैमात्र कोरोना संक्रमित भेटिएकाले अवस्था नियन्त्रणबाहिर गएको छैन। तर, सिन्धुपाल्चोकमा कोरोना नियन्त्रण तथा रोकथामका लागि केही पर्याप्त प्रयास भएका छैनन्। भएका छन् त जनताको आँखामा छारो हाल्ने खालका।

मैले कोरोनाबाट ज्यान गुमाएकी महिलाको शिशुको जिम्मा लिएको छु। ५० हजार मेरोतर्फबाट र बाहिरको सहयोगमा एक लाख हस्तान्‍तरण गरेँ। उच्च शिक्षा र रोजगारी दिलाउने जिम्मा लिएको छु।

मैले सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीको कोरोना बिना गरेको छु। उनीहरुलाई कोरोना पोजेटिभ देखिएको खण्डमा उहाँहरुले एक लाख पाउनुहुन्छ। मैले सिन्धुपाल्चोकमा कार्यरत सबै सुरक्षाकर्मी र एम्बुलेन्स चालकको पनि बिमा गर्ने तयारी गरिरहेको छु। मैले सुरुदेखि नै भनेको छु प्रत्येक जिल्लामा एक/एकवटा कोरोना परीक्षण केन्द्रको स्थापना गर्नुपर्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.