भारत प्रवेशमा रोक, औषधिसमेत किन्न पाएनन् नेपालीले

|

जनकपुरधाम : सर्लाहीमा सशस्त्रको हतियार लुट्ने प्रयास गर्दा आत्मरक्षाका लागि चलाएको गोली लागेर एक भारतीको मृत्यु भएपछि आजदेखि भारतीय एसएसबीले सीमामा कडाइ गरेको छ।

सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायत जिल्लाका सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आज बिहानदेखि प्रवेशमा रोक लगाएको छ। यसअघि इमरजेन्सी कामका लागि एक सातादेखि भारतमा लकडाउन खुकुलो बनेपछि नेपालीलाई भारतीय बजार प्रवेश गर्न दिइने गरिन्थ्यो। 

सिरहाका बरियारपट्टी नाकामा दर्जनौं नेपालीलाई भारतीय एसएसपीले कुटपिटसमेत गरेका छन्। नेपालमा नपाइने औषधि लिन लदनिया बजार जान खोज्दा एसएसबीले कुटपिट गरेका कुन्डलपुरका रवीन्द्र यादवले बताए। 

उनले भने, ‘एक साताअघि औषधि लिन जान दिएको थियो। तर आज सोध्न पुग्दा अचानक लाठी बर्साउन थालेपछि भागेर ज्यान जोगाएँ।’यस्तै गोलबजारका पत्रकार गणेश साहले पनि बरियारपट्टी नाकाबाट औषधि खरिद गर्न भारतीय बजार जान खोज्दा भारतीय सीमा प्रहरीले थर्काएर प्रवेश नदिएको गुनासो गरे। उनले भने, ‘सशस्त्र प्रहरीले अनुमति दिएको थियो। तर एसएसबीले धम्क्याएर फर्काए।’

सर्लाहीको नारायणपुरस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्दा हतियार लुट्ने प्रयास गर्दा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिकको शुक्रबार मृत्यु भएको थियो। 

भारतीयको आक्रमणले दुई सशस्त्र प्रहरीसमेत घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको थियो। उक्त घटनापछि भारतीय एसएसबी आक्रोशित बनेका छन्। स्रोतका अनुसार भारत सरकारले नै सीमामा नेपालीलाई दुःख दिन आदेश जारी गरेको बताइन्छ।

सोहीअनुसार एसएसबीले भारत प्रवेश गर्न खोज्ने नेपालीमाथि दमन गरिरहेको एक सशस्त्र प्रहरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.