|

पर्वत :  कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति पहिरोमा पुरिएर तीन जनाको मृत्यु र छजना बेपत्ता भएका छन्। 

पहिरोमा पुरिएर ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया नातिनी बिबिशाको मृत्यु भएको हो। सोही घरका १४ वर्षीय सम्राट थापा, ३० वर्षीया दिर्पा थापा र १७ वर्षीय विवेक थापा बेपत्ता छन्।

यस्तै, बेपत्ता रहेका अन्य तीनजनामा ३२ वर्षीया कमला विक, उनका छोरा १६ वर्षीय जेनिस र छोरी सात वर्षीया प्रमिशा रहेका छन्।

मृत अवस्थामा फेला परेका तीनजनाको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थल नजिकैको सुरक्षित स्थानमा राखेको छ। राति पुनः वर्षा हुन सक्ने र थप पहिरो आउने सक्ने जोखिमका कारण घटनास्थलमा पुगेका स्थानीयलाई आ–आफ्ना घर फर्काएर प्रहरीले शवको सुरक्षा गरेको प्रहरी निरीक्षक सुवेदीले बताए।

उद्धारमा कठिनाइ

शनिवार राति झन्डै २ बजेसम्म उद्धार कार्य जारी राखिएको भए पनि पहिरो गएको स्थानमा घरको निसान समेत नरहेका कारण खोजीमा समस्या भएको प्रहरीले बताएको छ।

आइतबार बिहानैबाट उद्धार जारी राख्ने भनिए पनि बिहानैदेखि फेरि पनि वर्षा भइरहेका कारण घरसहित पहिरोमा पुरिएकाहरूलाई खोज्न नसकिएको वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले एक्साभेटरको प्रयोग गरी बिहानैबाट भइरहेको तर वर्षाले उद्धारमा थप कठिनाइ ल्याएको जानकारी दिए।

‘म त राति ३ बजे मात्र त्यहाँबाट फर्किएको थिएँ। राति साढे १ बजेसम्म उद्धार गर्दै थियौँ, हाम्रो टर्चमा पावर सकियो। अँध्यारो थियो घरको निसान समेत नरहेका कारण बेपत्ता भएकालाई पत्ता लगाउन नै मुस्किल भयो,’ उनले भने, ‘अब केहीबेरमा एक्साभेटर सहित उद्धार गर्दैछौँ।’
 
झन्डै २० वर्षअअिघ खनिएको गाउँमाथिको मोटर बाटो झरेको पहिरोले एकै ठाउँका तीन घर बगाएको हो। दुईवटा घरको भने निसान समेत नरहने गरी परिएको प्रहरीले बताएको छ। 

चार परिवार विस्थापित

घरहरू पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यलाई राति नै सुरक्षित स्थानमा सारिएको छ। वडाध्यक्ष पाध्याका अनुसार थप पहिरो आउन सक्ने भएकाले पहिरो गएको छेउछाउमा परेका परिवारलाई राति नै नजिकै रहेको होमस्टेमा राखिएको हो।

‘दुर्लुङका धेरै घरहरू कमजोर खालका छन्। कोहीका भित्ता चर्किएका छन् कोहीका कोठा भत्केका छन्,’ उनले भने, ‘अरू घर पनि भत्किन सक्ने भएकोले राती नै नजिकै रहेको होमस्टेमा सारेर उहाँहरूलाई सुरक्षित पारेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.