|

नेपालगञ्ज : कृषि प्रधान मुलुक नेपाल खाद्यान्नमा समेत आत्म निर्भर बन्न नसकिरहेका बेला बाँकेमा ४ हजार ५ सय हेक्टर खेतियोग्य जमिन बाँझै छ।
युवाको बढ्दो विदेश पलायनका कारण खेतियोग्य जमिन बाँझै रहेको जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कृष्णबहादुर बस्नेतले बताए। धेरै जमिन भएका परिवार खेतिपाति नगरेर जिल्ला बाहिर रहेको र अधियाँ, बटैया खेति गर्ने परिवारका युवाहरु विदेशिएको उनको भनाइ छ।

खेतियोग्य जमिन बाँझै रहँदा उत्पादनमा पनि कमी आएको उनको भनाइ छ। ‘हरेक वर्ष कृषियोग्य जमिन घटेर कृषि उत्पादनमा कमी आइरहेको छ,’ उनले भने, ‘यही क्रम जारी रहे बाँकेमा समेत खाद्यन्न संकट उत्पन्न हुनसक्छ।’ 

जिल्लामा उदयपुर, पुरैना, पुरैनी, रनियापुर, गंगापुर, मटेहियालगायत गाविसमा जमिन बाँझो रहेको उनले जानकारी दिए। धेरै जमिन भएकाहरु गाउँ छाडेर काठमाडौं बस्न थालेको र खेतियोग्य जमिनमा कतै रुख रोप्ने तथा कतै घडेरीका लागि प्लटिङ गर्ने क्रम बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार बाँकेमा ५८ हजार ५ सय हेक्टर जमिन खेतियोग्य छ्र। उक्त जमिनमध्ये ५२ हजार हेक्टरमा खेति हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत बस्नेतले जानकारी दिए।  

खेतियोग्य जमिनमा प्लटिङ

बाँकेमा भूमाफियाको बढ्दो सक्रियताले खेतियोग्य जमिन खण्डिकृत भइरहेको छ। खेति हुँदै आएको जमिनमा भूमाफियाले घडेरीका लागि प्लटिङ गरेका छन्। नेपालगञ्ज, कोहलपुर, राँझा, खजुरा, पूर्व–पश्चिम राजमार्गको आसपास तथा नेपालगञ्ज–कोहलपुर सडक खण्डका धेरैजसो जमिनमा घर बनिसकेका छन् भने बाँकी पनि प्लटिङ गरेर बिक्रीमा छन्।

‘भूमाफियाले खेतियोग्य जमिन टुक्रा–टुक्रा बनाए,’ बस्नेतले थाहा खबरसँग भने। उनले जताततै सडक निर्माण हुुँदा समेत कृषियोग्य जमिन घट्दै गएको बताए । कृषि सडकको नाममा एक–दुई घर भएका ठाउँमा समेत सडक विस्तार हुँदा खेतियोग्य जमिन घटेको बस्नेतले बताए। उनले भने, ‘जहाँ बाटो बन्छ त्यहीँ घर बनाउने प्रवृत्ति बढेको छ, यसले खेतियोग्य जमिन घर र घडेरीमै सकिँदै छ।’ 

नेपालगञ्जमा मात्र हरेक वर्ष करिब ५ सय नयाँ घर थपिने गरेको नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी ओविराज आचार्य बताउँछन्। ‘सडकको पहुँच नपुगेका ठाउँमा समेत अव्यवस्थित तरिकाले घर निर्माण हुने क्रम जारी छ,’ उनले भने।

खेतियोग्य जमिन जोगाउनका लागि सरकाले उचित नीति ल्याउनु पर्ने वरिष्ठ कृषि विकास अधिकृत बस्नेत बताउँछन्। ‘बसाइँसराइ र अव्यवस्थित बसोबासलाई रोक्न सक्ने हो भने मात्र खेतियोग्य जमिन जोगाउन सकिनेछ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.