संसयमा स्ववियु चुनाव

|

काठमाडौं : फागुन १४ गतेका लागि निर्धारित स्ववियु चुनाव रोक्न त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीमाथि थप आक्रमणको धम्की आएको छ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक समेत रहेकी शिक्षाध्यक्ष त्रिपाठीले आफूलाई चुनाव नरोके आक्रमण गर्ने धम्की आएकी बताइन्। गत सोमबार उनी चढेको गाडीबाट निकालेर अज्ञात समूहले उनको गाडी जलाएको थियो। 

विभिन्न माध्यमबाट स्ववियु चुनाव रोक्न धम्की आइरहेको त्रिपाठीले थाहाखबरलाई बताइन्। त्रिपाठीले भनिन्, 'यो भन्दा ठूला एक्सन लिन्छौं भनेर आएका छन्। धम्कीका कुराहरु थपिँदैछन्।'

'यो त केही होइन, यो भन्दा विशेष एक्सनमा जान्छौं' भनेर धम्की आएको उनले बताइन्। त्रिपाठीले आफूलाई मात्र धम्की नआएर काठमाडौं उपत्यका लगायत उपत्यका बाहिर रहेका क्याम्पस प्रमुखहरुलाई पनि चुनाव स्थगत गर्न धम्की आइरहेको बताइन्।

'उनीहरुको अवस्था एकदमै दयनीय रहेको रिपोर्टिङ आइरहेको छ', त्रिपाठीले भनिन्, 'हिजोको गाडी जलाउने र मलाई आएको धम्कीले चुनाव स्थगित गर्दैनौँ।'

चुनाव स्थगित नगरे क्याम्पस प्रमुखहरुलाई समेत आक्रमण गर्ने धम्की आएपछि त्रिविले काठमाडौं उपत्यकाका क्याम्पस प्रमुखहरुसँग छलफल गर्न लागेको त्रिपाठीले जानकारी दिइन्।  

'अब क्याम्पस चिफहरुसँग छलफल गर्दैछौँ। क्याम्पस चिफहरुले चुनाव गर्न सक्छौं भन्छन् भने हामी तयार छौं', उनले भनिन्। 

विप्लवका विद्यार्थी चुनावको विरोधमा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिविका पदाधिकारीलाई पटकपटक स्ववियु चुनाव रोक्न भनेका थिए।

उक्त संगठनले स्ववियु चुनाव रोक्नुपर्ने लगायत ३ बुँदै माग राख्दै आफूलाई बाइपास गरेर स्ववियु चुनाव गराउन खोजे आउने परिणामको भागिदार त्रिविका पदाधिकारी हुनुपर्ने धम्की दिँदै आएको छ। 

गत सोमबार बिहान शिक्षाध्यक्ष त्रिपाठी बल्खुस्थित कार्यालय जाँदै गर्दा उनी चढेको गाडीलाई ललितपूरस्थित युएन पार्कमा २ जनाको समूहले जलाएको थियो। उनलाई ओरालेर गाडीमा आगो लगाइएको थियो।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले घटनाको छानबिन भइरहेको बताए। उनले भने, 'शिक्षाध्यक्ष ज्यूले मान्छे पहिचान गर्न सक्नुभएन। आक्रमणकारी विप्लव माओवादीसँग सम्बन्धित रहेको पाइएको छ। उनीहरु एकान्त स्थल छानेर गाडीमा आगो लगाएर काठमाडौं तर्फ भागे, काठमाडौं प्रहरीको सहकार्यमा खोजी कार्य भइरहेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.