८ जना एकै चिहान

|

पर्वत : कुस्मा नगरपालिका ५ स्थित मोदीबेणीघाटमा सोमबार अपराह्नको दृश्यले नरुने सायदै थिए। बिहानै देखिको वर्षाका कारण बढेर आएको कालीगण्डकी सुसाउँदै बगिरहेको बेलामा ५ ओटा चितामा ६ जनाको देह पनि नदीको सुसाइसँगै विलीन हुँदै थियो। 

नदीको किनारमा बनाइएका चितामा ६ जनालाई सुताएको देख्दा मलामी गएकादेखि घाटभन्दा माथि पुलबाट यात्रा गरिरहेकाको मन पनि भक्कानिएको थियो घरमा बसिरहेका ८ जनाको प्राण लिएको वर्षा उनीहरूको देह सुस्ताउने बेलामा भने हरायो। घाम लागेको थियो। 

मोदीबेणी घाटमा मलामी बनेर गएका बच्चादेखि पाका उमेरका सामान्य नागरिकदेखि जिल्लाका पदस्थ व्यक्तिहरूका आँखा रसाएका थिए, सबैले पिलपिल गरिरहेका थिए। 

घाटमा चिता बनाउनेका हात काँपिरहेका थिए, आफन्त र गाउँलेहरू तीरमा सुताइएका लाससँग लुक्न घाटमा रहेका ठूला ढुंगाको छेल पारेर रुँदै थिए। कोही डाँको छोडेर रुँदै थिए त कोही गहभरि आँसु पार्दै। 

सायद पर्वत जिल्लामा यसरी ८ जनाको एकै पटक ज्यान जाने गरी घटना भएको थिएन होला, भएको भए पनि स्मरणमा थिएन होला। ६ जनालाई जलाएर अन्त्येष्टि गर्नका लागि लहरै बनाइएका चिता देख्दा मन थाम्न सक्ने कुरा पनि त भएन। झोला बोक्दै विद्यालय जान भनी हिँड्न लागेका हुन कि जस्ता देखिने कलिला बालबालिकालाई चितामा सुताउँदा कसको मन पो थामिन्थ्यो होला र? 

गत शनिबार राति कुस्मा ३ दुर्लुङको ढकालबारीस्थित गाउँमा आएको पहिरोले दुई घर पुर्दा ८ जनाले ज्यान गुमाएपछि सोमबार ती मध्येका ६ जनाको सामूहिक अन्त्येष्टि गर्दाको शब्द चित्र हो यो।

सायद सुत्ने तरखरमा रहेका २ परिवारका ९ जनालाई पहिरोले राति झन्डै साढे ८ बजेको समयमा पु¥यो। पहिरोमा परी बेपत्ता भएका ९ जनामध्ये आइतबार साँझसम्म ८ जनाको शव भेटिए पनि एक जना अझै पनि बेपत्ता छन्। 

ज्यान गुमाएकामध्ये ६ जनालाई मोदीबेणी घाटमा अन्त्येष्टि गरियो भने २ जनालाई पर्वत र बागलुङको सिमाना छुट्टाउने कालीगण्डकी नदी किनारमा रहेको जैमिनीघाटमा। 

पहिरोमा परी मृत्यु भएकाहरूमध्ये एउटै परिवारका ५८ वर्षका तुल बहादुर थापा उनकी ५२ वर्षिया श्रीमती मीनकुमारी थापा, छोरातर्फका नाति १७ वर्षीय विवेक थापा, नातिनी ११ वर्षकी बिबिशा थापा र अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी ७ वर्षकी प्रमिको कालीगण्डकी र मोदी नदीको संगमस्थलमा रहेको मोदीबेणी घाटमा सामूहिक अन्त्येष्टि गरिएको हो। 

तुलबहादुर र श्रीमती मीनकुमारीलाई एकै चितामा जलाइएको भए पनि अरूका लागि भने छुट्टा छुट्टै बनाइएको थियो। मृतक बुबाआमा र २ सन्तानलाई एकै पटक चितामा सुताउँदा तुलबहादुरका छोरा अम्बर थापालाई कति असह्य भएको थियो त शब्दले बोल्दैन। 

परिवारको खुसीको लागि केही पैसाको जोहो गर्न साउदी अरबमा रहेका कमलाका श्रीमान् विकासको मन कस्तो भएको होला? विदेशी भूमिमा रहेको बेलामा परिवारै पहिरोले सकेपछि उनले आपूmलाई कसरी धानेका होलान्? पहिरोमा मृत्यु भएकी तुलबहादुरकी ३० वर्षीया छोरी डिरपा थापा र डिरपाका १४ वर्षीय छोरा सम्राटको भने जैमिनीघाटमा अन्त्येष्टि भयो। 

वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार डिरपाको विवाह बागलुङको पैयूँथन्थापमा भएको थियो। उनी लकडाउनको समयलाई सदुपयोग गर्दै माइतीमा बस्न आएको बेलामा छोरासहित पहिरोमा परेकी हुन्।

डिरपाको घर पक्षले आफ्नै घाटमा लगेर अन्त्येष्टि गर्ने बताएपछि २ जनाको शवलाई पर्वत अस्पतालमा पोस्टमार्टम गरेपछि परिवारको जिम्मा लगाएर बागलुङ पठाइएको हो।

परिकल्पना नै नभएको ठाउँबाट आएको पहिरोले ८ जनाको ज्यान लिनुका साथै १ जनालाई बेपत्ता बनाएपछि दुर्लुङ मात्र हाईन सिंगो जिल्ला नै शोकमा डुबेको छ।घटना भएको रातदेखि नै सुत्न नसकेको र सपनामा पनि हिलोमा लतपतिएका लासहरू देख्ने गरेको मलामी बनेर गएका कतिपयले सुनाए। 

दुर्लुङबासीहरुको दैनिकी पुरानै लयमा फर्किन केही समय लाग्ने छ। पहिरोले लछार्दै आधा बाँकी छोडेको घर र मृतकहरूलाई एकै ठाउँमा थुपारिएको दृश्यले उनीहरूलाई दिनको भोक न रातको निद्रा बनाएको छ। 

पहिरोका कारण जोखिममा रहेका अन्य परिवारलाई तत्कालका लागि छिमेकीको घरमा आश्रय दिएर राखिएको भए पनि बाँचेका घर फेरि कति बेला बग्ने हुन भनेर आँखा लोलाइरहेका छन्। 

उनीहरू आपसमा कुरा गर्दा पनि भनिरहेका छन्, ‘भगवान! छिमेकमा बस्दा तँ तँ म म भएको होला। यी सबै आखिर बेकार रहेछन्। भगवान् तिमी छौ नै भने निको नै नहुने घाउ नदेऊ।’

शनिबार राति र आइतबार गरेर ८ जनाको शव फेला परेको भए पनि कमलाका छोरा १३ वर्षीय जेनिश विक भने अझै पनि बेपत्ता छन्। आइतबार दिनभर उनको खोजीका लागि पहिरो गएको स्थान खनिएको भए पनि उनी फेला पर्न सकेनन्।

सोमबार पनि बिहानैदेखि जेनिशको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयवासी लागिपरेको भए पनि अविरल रूपमा भइरहेको वर्षाले दिउसोसम्म खोजतलास गर्नै दिएन। त्यसमा पनि गाउँका धेरै त मलामी गए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.