|

अर्घाखाँची : क्वारेन्टाइनमा बसेको लामो समय बितीसक्दा पनि पीसीआर रिपोर्ट नआएको भन्दै अर्घाखाँचीको जनप्रिय आधारभुत विद्यालयस्थित क्वारेन्टाइनबाट भागेका ३५ जनालाई पुन: फर्काइएको छ। 

जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. २ मा रहेको जनप्रिय आधारभुत विद्यालयको क्वारेन्टाइन बसेका ३५ जना पीसीआर रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनबाट निस्किएका थिए। क्वारेन्टाइनबाट घर जान निस्किएका उनीहरूलाई बाटोबाटै प्रहरीले फर्काएर हो। अहिले उनीहरूलाई विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा राखिएको छ।

भुमिकास्थान नगरपालिका वार्ड नं. १ को बाल शिक्षा माध्यमिक विद्यालयको कवारेन्टाइनमा ७ जना, देउराली आधारभूत विद्यालयमा १३ जना र भुमिकास्थान नगरपालिका वार्ड नं. २ को जनप्रिय आधारभूत विद्यालयमा १५ जना फर्काएर क्वारेन्टाइनमा राखिएको वडा नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले बताए ।

पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला पठाएको लामो समय हुँदापनि रिपोर्ट नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टाइनबाट भागेका थिए। 

उनीहरु जेठ ११ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। उनीहरुको पीसीआरको परीक्षणका लागि स्वाब नमुना जेठ २३ गते नै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको नगर स्वास्थ्य प्रमुख हरि प्रसाद पन्थीले बताए। घटनापछि प्रहरीले यहाँको सुरक्षा व्यवस्था कडा पारेको छ।  

जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहिडाँडास्थित चन्द्र प्रभा माबि क्वारेन्टाइनमा बस्नेहरु २० दिनसम्म पीसीआर रिपोर्ट नआएको भन्दै अन्दोलित भएका छन्।

पछिल्लो समय प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा स्वाब परीक्षणको चाप अत्यन्तै बढेको भन्दै अर्घाखाँचीको पीसीआर स्वाबको नमुना लिन नमानेपछि भरतपुर र काठमाडौं पठाइएको छ।

प्रयोगशालामा स्वाब नमुनाको चाप बढेपछि रिपोर्ट आउन ढिला हुँदै आएको छ। संक्रमितको संख्या बढेसगै जिल्ला जिल्लामा पीसीआर मेसिन सरकारले संचालनमा ल्याउनु पर्ने उनीहरूको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.