बहुमत नेता संशोधन गरेर मात्रै पास गर्ने पक्षमा

|

काठमाडौं :अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अनिर्णयको बन्दी बन्दै गएको छ। 

नेकपाले एमसिसीबारे निर्णय लिन नसक्दा संसदमा विचाराधीन रहेको एमसिसी नराम्ररी गिजोलिएको छ। नेकपाले एमसिसीबारे छलफल गर्नैका लागि यसअघि डाकेका दुईवटा सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तता र धपेडीका कारण स्थगित गरिएको छ। 

प्रमुख प्रतिपक्ष कांग्रेसको समेत साथ पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली एमसिसी पास गर्नुपर्ने पक्षमा छन्। यसअघि पनि अमेरिकाले दिएको सहयोग लिइरहेकाले एमसिसीमा अल्झिन नहुने उनको मत छ।

एमसिसीको बिषयले पार्टी दुई धारमा विभाजित हुन पुगेको छ। भारतसँगको महाकाली सन्धिमा जस्तै अहिले नेकपाभित्र एमसिसी समर्थक र विरोधी दुई कित्ता प्रष्ट देखिएको छ। 

प्रधानमन्त्री ओली एमसिसीको पक्षमा भए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरु एमसिसीको विपक्षीमा उभिएका छन्। उनीहरु अमेरिकासँगको सम्झौता केही परिमार्जन गरेर मात्रै अगाडि बढ्नुपर्ने पक्षमा उभिएका छन्। 

विवादै विवादबीच एमसिसीबारे छलफल गर्न बोलाइएको आइतबारको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अर्को बैठक बस्ने मिति टुंगिन नसकेको बताउँछन्। 

यसअघिको सचिवालय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा र एमसिसी अध्ययन कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र भीम रावललाई समेत बोलाइएको थियो। उक्त बैठकमा तथा संसदमा पनि अर्थमन्त्री  खतिवडाले अमेरिकाले दिएको सहयोग नलिएर अन्तर्राष्टिय सम्बन्ध बिगार्न नहुुने बताउँदै आएका छन्। 

यही आइतवारको सचिवालय बैठक सचिवालय सदस्यलाई एसएमएस गरेर स्थगित गरियो। प्रधानमन्त्री ओलीले आराम लिन्छु भनेपछि सचिवालयको बैठक स्थगित भएको हो। यसअघि जेठ २७ गतेको बैठक पनि स्थगित भएको थियो। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसँग टेलिफोन वार्ताको क्रममा एमसिसीबाट पछि नहट्ने ओलीले अडान लिएपछि बैठक स्थगित भएको बुझिएको छ। 

आइतबार बोलाइएको सचिवालय बैठक पनि ओलीले अध्यक्ष दाहालसँग छलफलबिना नै एकलौटी रुपमा बैठक स्थगनको निर्णय लिएपछि रुष्ट बनेका छन्। 

प्रधानमन्त्री ओली एमसिसीको सम्झौता परिमार्जन नगरिकन संसदबाट पास गर्न चाहान्थे। तर, पार्टीभित्र चौतर्फि विरोध भएपछि माघ १५ देखि १९ गतेसम्मको बैठकले अध्ययन कार्यदल निर्माण गरेको थियो। 

नेकपाले गत माघमा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवालीको कार्यदल निर्माण गरेको थियो। नेकपाको कार्यदलका ज्ञवालीबाहेक वरिष्ठ नेता खनाल र नेता रावल एमसिसीको विपक्षमा छन्। 

त्यही कार्यदलले २० दिन लामो अध्ययनपश्चात् फागुन ९ गते प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्झौताको शर्त संशोधन गर्नुपर्ने सुझाव दिएको थियो। कार्यदलले प्रतिवेदन बुझाइसके पनि नेकपा अनिर्णयको बन्दी बनेको छ।

तत्कालीन नेपाली कांग्रेसको सरकारले २०७४ साल भदै २९ गते नेपाल सरकार र अमेरिकाबीच एमसिसी परियोजनामा सम्झौता भएको थियो। २०७६ को वर्षे अधिवेशनमा सरकारले प्रतिनिधि सभाको बैठकमा अनुुमोदनको लागि पेश गरेको थियो।

ओलीलाई अल्पमतको भय

‘सचिवालय बैठकमा एमसिसीबारे छलफलको क्रममा अल्पमतमा पर्ने भएकाले प्रधानमन्त्री ओलीले बैठक छल्न खोजिरहनु भएको छ’, नेकपाका एक नेताले भने, ‘उहाँ सचिवालयमा अल्पमतमा हुनुहुन्छ। त्यसैले आफ्नो पक्षमा बहुमत पु¥याउन उपाध्यक्ष वामदेव गौतमलाई फकाउँदै हुनुहुन्छ। तर, एमसिसीबारे उहाँ पनि सकारात्मक नभएपछि बैठक स्थगित गर्नुभयो।’

नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली, महासचिव बिष्णु पौडेल र उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल मात्रै एमसिसीको पक्षमा रहेका छन्। तर, अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एमसिसीको संशोधनबिना पास गर्ननहुने पक्षमा छन्। 

यद्यपी, गृहमन्त्री रामबहादुर थापा बादलले एमसिसीको बिषयमा अहिलेसम्म मुख खोलेका छैनन्। उनले मौनता साँध्नु पार्टी निर्णयमा महत्वपूर्ण मानिन्छ।  गृहमन्त्रीले थापाले मौनता साँधिरहेको बेलामा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई आफूनिकट ल्याएर समिकरण बराबर बनाउने रणनीतिमा छन्। 

एमसिसी पास हुँदैन : खनाल

पार्टीभित्र विवादित रहेको अमेरिकी परियोजना एमसिसी संसदबाट पास नहुने अध्ययन कार्यदल संयोजक झलनाथ खनाल बताउँछन्। 

‘प्रधानमन्त्रीज्युले एमसिसीबारे छलफलको लागि बोलाइएको सचिवालय बैठक पटक पटक स्थगित गर्दै आउँनुभएको छ। तर, एमसिसी पास हुँदैन’ उनले थाहाखबरसँग भने, ‘हामीले बुझाएको प्रतिवेदनमाथि अझै छलफल भएको छैन। छलफल पछि पार्टीले निर्णय त लेला। तर, एमसिसी पास गर्नुहुँदैन।’

प्रधानमन्त्री ओलीले एमसिसीबारे बोलाइएको बैठक छल्न खोजेको उनले आरोप लगाए। ‘अब प्रधानमन्त्रीज्यूले बैठक बोलाउनु होला। त्यसपछि एमसिसीबारे छलफलपछि आधिकारीक निर्णय आउला,’ उनले भने। 

बजेटमा राख्नुकोे औचित्य छैन : रावल

एमसिसीबारे निर्णय नआउँदै सरकारले बजेटमा समावेश गर्नुको औचित्य नभएको नेकपा स्थायी कमिटी सदस्य भीम रावल बताउँछन्। ‘पार्टीभित्र विवादित बनिरहेको छ। त्यसबारेमा छलफल समेत गर्न सकेको छैन। त्यस्तो बिषयलाई बजेटमा राख्नुको अर्थ रहँदैन,’ उनले भने। 

कार्यदलले दिएको प्रतिवेदनको आधारमा एमसिसी अघि बढ्नुपर्ने उनले बताए। ‘पार्टीभित्रको विवादकै कारणले कार्यदल निर्माण भएको थियो। त्यही कार्यदलको प्रतिवेदनको आधारमा अघि बढ्नुपर्छ’ उनले भने, ‘छलफलका लागि सचिवालय  बोलाइएको थियो। तर, बस्न सकिरहेको छैन। अब त्यो संशोधनबिना कुनै पनि हालतमा अघि बढाउन सकिदैन। संशोधन हुदैन भने त्यो परियोजना अघि बढाउन मिल्दैन।’

बजेटमा प्रधानमन्त्री र अर्थमन्त्रीज्युले कसरी समावेश हुनुमा उहाँहरुको कुरा भएको जनाए। ‘हामीले पार्टीलाई प्रणाली र सिद्धान्तमा चलाउन चाहेका छौँ। तर, त्यो हुन सकेको छैन’, उनले थपे, ‘एमसिसीको बिषयमा कसैको अडानलाई भन्दा त्यसको शर्तलाई हेुर्नपर्छ।’

पार्टीमा छलफलपछि निर्णय : देव गुरुङ

एमसिसीलाई पार्टीभित्र  छलफल गरेर निर्णय निकाल्नुपर्ने नेकपा प्रमुख सचेतक देव गुरुङ बताउँछन्। ‘पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले त्यसको जिम्मा  सचिवालयलाई दिएको हो’, उनले भने, ‘तर, सचिवालयले त्यस बिषयमा छलफल गर्न सकेको छैन’ उनले भने, ‘पार्टीको पद्धति र प्रक्रिया अनुसार निर्णय गर्नुपर्छ।’

सचिवालयमा छलफलपछि स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि त्यसबारे छलफल हुनुपर्ने उनले धारणा राखे। ‘सरकारले बजेटमा देखाउँदा आफ्नो प्रगतिको रुपमा देखाएको होला। त्यसो त यसअघिको दुई पटकको बजेटमा पनि समावेश भइसकेको छ’, उनले भने, ‘प्रधानमन्त्री ओलीले एमसिसी परियोजना पास नभए अरु माध्यमबाटा पनि त्यो परियोजना पुरा गर्ने बताउनुभएको छ, गर्नुहोला।’

सचिवालय छिट्टै : महासचिव पौडेल

अमेरिकी परियोजना एमसिसीबारे छलफल गर्न बसेको सचिवालय बैठक स्थगित भएपछि अर्को बैठकको मिति छिट्टै तोकिने महासचिव बिष्णु पौडेलले बताए। 

‘केही अत्यावश्यक काम परेका कारणले आइतबार तोकिएको बैठक बस्न सकेन’, उनले भने, ‘प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको छलफलपछि बैठकको मिती तय हुन्छ।’

एमसिसीको बिषयमा पार्टीभित्र विवाद भएकै कारणले बैठक स्थगित भएको भन्ने कुरा छ नी? भन्‍ने थाहाखबरले गरेको प्रश्‍नमा उनले भने, ‘त्यस्तो होइन। प्रधानमन्त्रीको कार्यव्यस्तताले बैठक रोकिएको हो। एमसिसीको बिषयमा पार्टीभित्र छलफल हुन्छ। सहमतिमै अघि बढ्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.