|

काठमाडौं :  कोरोना त्रास र लकडाउनले शैक्षिक पठनपाठन बिथोलिँदै गएपछि निजी, सामुदायिक विद्यालय र त्रिभुवन विश्वविद्यालयहरूले अनलाइन प्रविधिमार्फत पढाइ सुचारु गरेका छन्। लामो समयसम्म पढाइ अवरुद्ध भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेबाट वैकल्पिक प्रणालीबाट पढाइ सुचारु गर्न संघ,प्रदेश र स्थानीय तहलाई आह्‍वान पनि गरेको थियो।

सरकारले पनि आइतबारबाट रेडियो, टिभी र अनलाइनबाट पढाइ सुरु गरिसकेको छ। तर, यो माध्यम  कत्तिको  प्रभावकारिता हुन्छ भन्ने सबैमा आशंका र प्रश्न उब्जिएको छ। विज्ञहरूले भने विभिन्न उपाय अबलम्बन गरे रेडियो, अनलाइन र टिभी प्रविधिबाट सिकाइने पढाइ प्रभावकारिता बन्न सक्ने बताउँछन्।

प्रविधिको प्रयोग धेरथोर प्रभावकारी हुन्छ

शिक्षाविद् डा.प्रमोद भट्ट जे प्रविधि छ त्यहीलाई प्रयोग गरेर शिक्षक, विद्यार्थी र अभिभावकबीच निरन्तर सूचना प्रवाह भएमा प्रभावकारिता बनाउन सकिने बताउँछन्।

‘लामो समयको बन्दाबन्दीले विद्यार्थीको पढाइमा असर गरेको छ,’उनले थाहा खबरसँग भने,‘शिक्षा दिनेभन्दा पनि यसबेला पढाइलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने अनलाइन कक्षा एउटा कोसिस मात्रै हो। जुन विद्यालयमा जे प्रविधि छ त्यसैलाई प्रयोग गरेर शिक्षा दिन सके धेरथोर प्रभावकारी बन्छ।’ 

उनका अनुसार इन्टरनेट भएको ठाउँमा मोबाइल, ल्यापटपबाट शिक्षकले पढाउन सक्छन्। इन्टरनेट पहुँच नभएका ठाउँमा रेडियो र टिभीबाट पढाउन सकिन्छ।  त्यसमा विद्यालयले पाठ्यपुस्तकको व्यवस्था गर्न सक्नुपर्छ।

त्यस्तैगरी, फोनको माध्यमबाट पनि निश्चित समय मिलाएर शिक्षकले विद्यार्थीलाई केही शिक्षाका ज्ञान दिन सक्छन्। उनले वैकल्पिक शिक्षा  भन्नेबित्तिकै पहिलाको नभई पूरै नयाँ शिक्षाको माध्यम भन्ने बुझिने गरेको भन्दै आपत्ति जनाए।

उनले भने,‘वैकल्पिक शिक्षा भन्नेबित्तिकै सबैमा अनलाइन, इन्टरनेट माध्यम भन्ने बुझिन्छ। त्यस्तो होइन। जहाँ जसरी सम्भव हुन्छ। जहाँ पाठ्यपुस्तक दिनुपर्ने हो भने त्यहाँ दिने। रेडियोबाट चलाउन सकिन्छ जसरी भए पनि विद्यार्थीको सिकाइ टुटाउन दिनुभएन।’ अनलाइनबाट भन्दा पनि बढी रेडियोको माध्यमबाट पढाउन सकिने उनी बताउँछन्।

अनलाइन कक्षा यसरी बन्छ प्रभावकारी

त्यस्तै,  अर्का शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पनि केही उपाय अबलम्बन गरिए अनलाइन कक्षा प्रभावकारिता बनाउन सकिने बताए।

शिक्षाविद् कोइरालाका अनुसार अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउँदा शिक्षकले १० देखि १५ मिनेटसम्म बोल्नुपर्छ। बाँकी समयमा विद्यार्थीबाट प्रश्न गर्ने, प्रतिक्रिया दिने, र धारणाराख्‍न दिनुपर्छ। यो अवसर दिइयो भने राम्रोसँग अनलाइन कक्षा प्रभावकारी बन्न सक्छ।

‘अर्को अनलाइन कक्षा विस्तार गर्ने हिसाबले सोच्ने हो भने नगरपालिका,गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरेमा अनलाइन कक्षालाई राम्रोसँग प्रभावकारी बनाउन सकिन्छ,’उनले भने, ‘यसका लागि स्थानीय तह सरकारले सबै क्षेत्रमा इन्टरनेट पुर्‍याउनुपर्छ। त्यसपछि शिक्षकलाई जबरजस्ती गराएर  भए पनि शिक्षा प्रदान गर्न लगाउनुपर्छ।’

ग्रामीण क्षेत्रमा के गर्ने?

ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच छैन। सरकारले रेडियो, टिभीबाट पनि पढाइ थालेको छ। तर, त्यस्ता ठाउँका कतिपय गुजारा चलाउन नसकेका नागरिकमा त्यो प्रविधि पनि छैन। तर, त्यस्ता ठाउँमा पनि शिक्षा दिन सकिने शिक्षाविद्, कोइराला बताउँछन्।

‘इन्टरनेटको सुविधा नभएका ठाउँमा रेडियो,टिभी जस्ता प्रविधिबाट पढाउन सकिन्छ,’ उनले भने,‘ त्यस्ता प्रविधि नभएको ठाउँमा क्यासेट प्लेयरमा लानुपर्छ। पेनड्राइभमार्फत पाठ्यपुस्तकका सामग्री ओसारपसार गर्न सकिन्छ। यसो गर्दा ग्रामीण भेगमा पनि सदुपयोग हुन्छ।’

उनले रेडियो, टिभीलगायत केही प्रविधि नभएको ठाउँ वा विपन्न वर्गका विद्यार्थीलाई विद्यार्थी संख्या र घरधुरी छुट्टाएर शिक्षकले घरमै बसेर शिक्षा दिन सकिने पनि सल्लाह दिए।

अनलाइनभन्दा दूरशिक्षा प्रभावकारी बन्छ
शिक्षाविद् डा. विनयकुमार कुसियतले भने अनलाइन प्रविधिबाट भन्दा पनि बढी रेडियोबाट पढाउँदा प्रभावकारी बन्ने बताए।

‘यो अनलाइन कक्षा कत्तिको प्रभावकारी हुन्छ भन्ने अनुसन्धानको विषय पनि हो,’उनले भने,‘यसले धेरै विद्यालयको समस्या समाधान गर्दैन। रेडियोलाई दूरशिक्षा प्रणाली पनि भन्छ। अनलाइनभन्दा बढी यो प्रभावकारी हुन्छ।’

प्रविधिबाट भटभटाएर मात्र हुँदैन

उनले अभिभावक नै निरक्षर भएमा बालबालिकाको सिकाइमा बाधा पुग्ने बताउँदै उनले सरकारले यस्तो शिक्षाका लागि अध्ययन अनुसन्धान गर्नुपर्ने बताए। उनले भने,‘कतिपय बालबालिकाका अभिभावक निरक्षर छन्। यस्तो बेला अनलाइन, रेडियो जस्ता प्रविधिबाट भटभटाएर मात्रै हुँदैन। यसमा शिक्षक, विद्यार्थी र अभिभावकको नेटवर्किङ हुनुपर्छ। सरकारले कार्यक्रम विकास गरेर मात्रै हुँदैन। जहाँ जुन ठाउँमा कत्तिको एक्सेस छ भनी अनुगमन, मूल्यांकन गर्नुपर्‍यो।’

उनले स्कुल तहमा अनलाइन र भर्चुअल कक्षा बेवकुफ बनाउने काम मात्रै रहेको तर्क राखे। उनले भने,‘मेरो विचारमा अनलाइन र भर्चुअल कक्षा सरकारको आशीर्वाद प्राप्त गरी खोलेका केही विद्यालयको खेती गर्नको लागि बनाइएको एउटा लाइसेन्स जस्तो भो।

यसको लागि त सरकारले नेटको सुविधा पुर्‍याउनु पर्‍यो नि। नेटको सुविधाबिना कसरी अनलाईन कक्षा चलाउन सकिन्छ?’ उनले उच्च तहका विद्यार्थीलाई अनलाइन कक्षा लिँदा २० प्रतिशतभन्दा बढी विद्यार्थी सहभागी नै नभएको अनुभव पनि सुनाए।

‘राजधानीकै शहरमा त कतिपयमा इन्टरनेटको पहुँच छैन। ग्रामीण भेगमा त झनै समस्या मात्रै छ। त्यसैले अनलाइन, भर्चुअलबाट कक्षा सञ्चालन गर्ने सरकारको एकतर्फी निर्णय मात्रै भयो’उनले थपे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.