|

जनकपुरधाम : संविधान संशोधनको विषयलाई लिएर विवादमा तानिएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई भारत जाँदै गर्दा सिरहा प्रहरीले सीमा नाकाबाटै फर्काइदिएको छ।

मंगलवार दिउँसो सांसद गिरी सिरहाको भगवानपुर गाउँपालिकामा पर्ने ठाडी नाका हुँदै भारत प्रवेश गर्न खोजेकी थिइन् । तर नेपाल प्रहरीले उनलाई भारत तर्फ जान  दिएनन् । उक्त सीमा–नाकामा लकडाउन लगत्तै बाँसको तघारो हालेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बाटो अवरुद्ध गरेका छन् ।

सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले सरकारले नाका सिल गरेका कारण ठाडी नाकाबाट भारत जान नदिएको बताए । उनले भने, ‘भारत जान चाहनेका लागि ठाडी नाका भारत र नेपाल सरकार दुबैले उताबाट आउनेलाई उतै र यताबाट यतै रोक्ने गरी सहमतिमा बन्द गरिएको छ । त्यसैले उहाँलाई सिमाबाट फर्कायौं ।’

प्रहरीले भारत प्रवेश गर्न नपाएपछि उनी लहानतर्फ फर्केकी छिन् । भारत माइत भएकी उनको घर लहान नगरपालिकाको बस्तीपुर गाउँ हो । स्रोतका अनुसार उनी फर्केर बस्तीपुर पुगेकी छन् ।

लिपुलेक, लिपियाधुरा र कालापानी क्षेत्र भारतको रहेको भन्दै संविधान संशोधनमा पार्टीको सल्लाहबिना संशोधन प्रस्ताव दर्ता गराएपछि उनी विवादमा तानिएकी छन् । उनलाई पार्टीले कारबाही गर्ने चेतावनीसमेत दिइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.