२४ सय ९३ रिपोर्ट आउनै बाँकी, क्‍वारेन्टाइनमा छन् ४७ हजार

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका ८३ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। प्रदेशमा कोरोना परीक्षणका लागि फागुन १ गतेदेखि नमुना संकलन सुरु भएकोमा हालसम्म दुवै विधिबाट ८३ हजार ६ सय ६० जनाको कोरोना परीक्षण गरिएको हो।  

मंगलबारसम्म पिसिआर विधिबाट ९ हजार १ सय ३९ जनाको र ७४ हजार ५ सय २१ जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। २ हजार ४ सय ९३ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ।

निर्देशनालयका अनुसार सुदूरपश्चिमभर अहिलेसम्म ३ सय ४४ जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ७४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ। सुदूरपश्चिममा ४ हजार ८ सय २२ जनामा आरडिटी पोजेटिभ देखाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले आरडिटी पोजेटिभ देखाएका कति जनामा पिसिआर परीक्षण भयो भनेर खुलाएको छैन।

क्‍वारेन्टाइनमा ४७ हजार

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका क्‍वारेन्टाइनमा ४७ हजारभन्दा बढी बसिरहेका छन्। मंगलबारसम्म यहाँका ९ वटै जिल्लाका क्‍वारेन्टाइनमा ४८ हजार २ सय ५७ जना छन्।

जसमा ३८ हजार ९ सय ३२ पुरुष छन् भने ८ हजार ३ सय २५ महिला छन्। सबैभन्दा बढी कैलालीमा १४ हजार ८ सय २ जना क्‍वारेन्टाइनमा छन्। त्यसपछि डोटीमा ६ हजार ४ सय ४ रहेका क्‍वारेन्टाइनमा बसिरहेको प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीले जनाएको छ।

यस्तै अछाममा ६ हजार १ सय ४३, कञ्चनपुरमा ४ हजार ८ सय ९९ जना, बैतडीमा ३ हजार २०, डडेल्धुरामा १ हजार ८ सय ३६, बाजुरामा ३ हजार ७ सय २, बझाङमा २ हजार ६ सय ७७ र दार्चुलामा सबैभन्दा कम १ हजार ३१ जना क्‍वारेन्टाइनमा छन्।

मंगलबार १७ जना थपिए

सुदूरपश्चिममा मंगलबार थप १७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित  प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा यहाँका थप १७ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार  ३ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि हुनेमा कैलालीका १० र कञ्चनपुरका ७ जना रहेका छन्। 

संक्रमित धनगढी उप–महानगरपालिकाका ८ जना र लम्की चुहा नगरपालिकामा २ जना छन्। संक्रमण हुनेमा धनगढीमा ३९ वर्षीया महिला, १, २, ५, २३, ३०, ३२ र ३३ वर्षीय पुरुष र लम्की चुहाका १४ र २४ वर्षीया महिलामा रहेका छन्। 

धनगढी महानगर वडा नम्वर १, २ र ५ का एक–एक जना र वडा नम्वर १२ का पाँच जनामा कोरोना पुष्टि भएको हो । कञ्चनपुरमा ५०, १९, ४९, ३४, २५, २५ र १७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। 

दुई हजार स्वाब नमुना परीक्षण गर्न काठमाडौं पठाइयो 

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण आशंकामा संकलन गरिएका दुई हजारभन्दा बढी ‘थ्रोट स्वाब’ नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ। प्रदेशमा नमूना परीक्षणका लागि चाप बढेपछि दुई हजार ६६ जनाको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको हो। 

सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला धनगढीमा रहेको र उक्त प्रयोशालामा नमूनाको चाप बढेपछि परीक्षणका लागि काठमाडौँ पठाइएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए। 

धनगढी प्रयोगशालामा दैनिक २५० जनाको मात्रै परीक्षण गर्न सकिने भएपछि प्रदेशभरका शंकास्पद व्यक्तिको नमुना बढी भएकोले काठमाडौं पठाइएको हो। लामो समयसम्म संकलित नमुना बिग्रने र रिपोर्ट सही नआउने हुनाले काठमाडौं पठाइएको जनाइएको छ। 

कोरोना शंकास्पद ३ सय ८९ बिरामी डिस्चार्ज

सुदूरपश्चिमका विभिन्न अस्पतालमा भर्ना भएका कोरोना आशंका तथा कोरोना संक्रमित ३ सय ८९ जना डिस्चार्ज भएका छन्। प्रदेशभरका १५ वटा अस्पतालबाट अहिलेसम्म ३ सय ८९ बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

सेती प्रादेशिक अस्पतालबाट हालसम्म १४३ जना, बयलपाटा अस्पतालबाट ४४, डडेल्धुरा अस्पतालबाट ३९ जना, जिल्ला अस्पताल अछामबाट २४ जना, जिल्ला अस्पताल बझाङबाट १८, जिल्ला अस्पताल डोटीबाट ३० तथा महाकाली अस्पतालबाट ३२ जना बिरामी डिस्चार्ज भएका छन्। 

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल बैतडीबाट ११, जिल्ला अस्पताल बाजुराबाट ८, टीकापुर अस्पतालबाट १४ जना, गोकुलेश्वर अस्पतालबाट  ६, भजनी स्वास्थ्य केन्द्रा र चौमला स्वास्थ्य केन्द्रबाट ५–५ जना, जोगबुढा अस्पतालबाट ७ जना, जिल्ला अस्पताल दार्चुलाबाट २ जना, कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना बिरामी डिस्चार्ज भएका हुन्। उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आइसोलेसमा राखिएको तर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ।

संक्रमितसहित १ सय २४ जना आइसोलेसनमा

निर्देशनालयका अनुसार कोरोना संक्रमित र शंकास्पद बिरामी गरी मंगलबारसम्म एक सय २४ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। यहाँका १ सय ४ जना कोरोना संक्रमित र २० जना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ।

सेती प्रादेशिक अस्पतालमा २२ जना संक्रमतिको उपचार भइरहेको छ। त्यहाँ एक जना कोरोना आशंकामा आइसोलेसनमा भर्ना गरिएको छ। टीकापुर अस्पतालमा २५ जना कोरोना संक्रमित आइसोलेसनमा छन्।

महाकाली अस्पताल कञ्चनपुरमा ३९ कोरोना संक्रमित छन्। जिल्ला अस्पालत अछामा १० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जिल्ला अस्पताल बाजुरामा एक जना कोरोना संक्रमित र एकजना शंकास्पद बिरामी आइसोलेसनमा राखिएको छ। 

डडेल्धुरा अस्पतालमा दुई जना कोरोनाका बिरामी आइसोलेसनमा भर्ना गरिएको छ। जिल्ला अस्पताल दार्चुला, बझाङ र जोगबुडा अस्पताल डडेल्धुरामा एक–एक जना कोरोना संक्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। 

जिल्ला अस्पताल बझाङमा ६ जना शंकास्पद बिरामी आइसोलेसनमा राखिएको छ। बायलपाटा अस्पतालमा २ जना शंकास्पद बिरामी उपचाररत छन्। जिल्ला अस्पताल बैतडीमा पनि ३ जना शंकास्पद बिरामी आइसोलेसनमा छन्। गोकुलेश्वर अस्पताल दार्चुलामा  एक जना शंकास्पद उपचाररत छन्।

जिल्ला अस्पताल डोटीमा तीन संक्रमित र ४ जना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ। मालाखेती अस्पताल कैलालीमा १४ जना कोरोना शंकास्पद बिरामी उपचाररत छन्। सुदूरपश्चिम प्रहरी अस्पतालमा एकजना कोरोना शंकास्पद बिरामीलाई राखिएको स्वास्थ्य निर्देशनलयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.