|

हेटौंडा : बागमती प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको बजेटमा मंगलबार प्रदेश सभामा छलफल भएको छ। छलफलमा प्रदेशसभा सदस्यहरुले बजेटको पक्ष र विपक्षमा बोलेका छन्। सत्ता सम्हालिरहेको नेकपाका प्रदेश सभा सदस्यहरुले सरकारको बचाउ गर्दै बजेट उत्कृष्ट र यथार्थ रहेको बताएका छन्। प्रतिपक्ष दल नेपाली कांग्रेस र अन्य विपक्षी दलहरुले सरकारले बजेट यथार्थ नभई मनगणन्ते भएको भन्दै आलोचना गरेका छन्। छलफलको क्रममा अर्थमन्त्री र बजेटलाई सांसदहरुले व्यङ्ग्यसमेत गरेका छन्।

प्रतिपक्षको कटाक्ष

सरकारले ल्याएको बजेट यथार्थपरक नभएको भन्दै प्रतिपक्ष दल र विपक्ष दलका सांसदले सरकारको चर्को आलोचना गरे।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले हावादारी बजेट ल्याएको बताए। उनले मनगणन्ते बजेट ल्याएको भन्दै कार्यान्वयन गर्न सक्ने क्षमताको मात्रै बजेट ल्याउनुपर्ने तर्क गरेका छन्। कोरोना भाईरसको जोखिमको अवस्थामा सरकारले यथार्थभन्दा माथि टेकेर बजेट ल्याउनुको अर्थ नभएको र  देखावटी मात्रै भएको बताए।    

यस्तै, नेपाली कांग्रेसकी सांसद गीता वाग्ले सरकारको विरोध गर्दै खर्च गर्ने क्षमता नभएको तर बजेट ठूलो ल्याएर के गर्न खोजेको भन्दै आर्थिक मन्त्रीलाई प्रश्न गरिन्। नेपाली कांग्रेसका संसदीय दलका उपनेता कृष्णलाल भँडेलले सरकारले ल्याएको बजेट रत्नपार्कको खुला चौरमा डुंगा चलाएको जस्तो लागेको  भन्दै व्यङ्ग्य गरेका छन्। उनले भने, 'ठूलो बजेटले जनतालाई छारो हाल्ने मात्रै काम गर्छ  बजेट घटाएर काम गर्न सक्ने बजेट मात्रै ल्याउनु अहिले आवश्यकता हो।'

यस्तै, कांग्रेसका सांसद निमा लामाले सरकारले कोभिड संग जुध्ने कुनै पनि योजना नल्याउनु आश्चर्यजनक रहेको बताए। उनले नेपालमै कृषि मल कारखाना स्थापना हुन नसक्नु दु:खद भन्दै प्रदेश सरकारले यस्तो योजना अगाडि बढाउनु पर्ने सुझाव दिएका छन्। कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले सुन्दर नाराले भरिएको बजेट बताएकी छिन्। उनले सरकारको नियत र कार्यक्रमले जनता निराश भएको बताइन्।

राप्रपाकी सांसद रिता माझी सरकारले ल्याएको बजेट शब्द जालमा मात्रै देखाइएको बजेट आँखामा छारो हाल्ने काम मात्रै भन्दै कार्यकर्तालाई जोगाउने तर युवालाई रोजगार दिन नसक्ने बजेट आएको भन्दै आलोचना गरिन्।  यस्तै नेमकिपाका सांसद सुरेन्द्र राज गोसाईँले सरकार चलाउने पार्टीको गुटको छोटे राजाले बनाएको जस्तो बजेट आएको भन्दै आलोचना गरेका छन्। उनले भने, 'अघिल्लो तीन वर्ष भुकम्प भूकम्प भन्यौँ अब कोरोना कोरोना भन्यौँ अनि सरकार समाजवादको गफ दिन्छ।'

यस्तै नेमकिपाकै सांसद सिर्जना सायँजुले बजेट खिचडी जस्तो भएको बताईन्।

सत्तापक्षको बचाउ

प्रतिपक्षको आलोचनालाई सत्तापक्षका सांसदहरुले प्रतिवाद गरेका छन्। बागमती प्रदेश सरकारले यथार्थ धरातलमा टेकेर आएको नेकपाकी सांसद रचना खड्काले समर्थन गरिन्।

यस्तै नेकपाकै सांसद बद्री मैनालीले सरकारले बजेट समाजवाद उन्मुख, यथार्थपरक ल्याएको भन्दै प्रतिपक्षको विरोध गर्ने धर्म भन्दै सरकारको बचाउ गरेका थिए। नेकपाका अर्का सांसद डा.राजेन्द्रमान श्रेष्ठले सरकारको समर्थन गरे। उनले अनुभवले खारिएर आएको बजेट भन्दै सरकारको प्रशंसा गर्न भ्याए। बजेटमा सरकारको समर्थन गर्दै नेकपाकी सांसद सीता लामाले सरकारले पीडामा परेका श्रमिकहरुको राहतको व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्ने बताईन्।

प्रतिपक्षको आलोचनालाई चिर्ने भुमिकामा देखिएका नेकपा सांसद दिपक निरौलाले सरकारको बचाउ मात्रै गरेनन् सिंगो देशमा बागमती प्रदेश सरकारले गौरवको काम गर्ने बजेट ल्याएको भन्दै तारिफ समेत गरे। निरौलाले कोभिड १९ को चुनौतीलाई आत्मसाथ गर्ने दृढता प्रति सरकारलाई धन्यवाद व्यक्त गरे। नेकपाका सांसद बसुन्धरा हुमागाईंले सरकारलाई धन्यवाद दिँदै सरकारको बचाउ गरेका छन्। उनले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिएको बजेटले अर्थतन्त्र बलियो बनाउने बताए। नेकपा सांसद इन्द्रमाया गुरुङले पनि सरकारले ल्याएको बजेटको समर्थन गरिन्।

अर्थ मन्त्रीलाई 'करप्रसाद'

यस्तै नेपाली कांग्रेसका सांसद प्रभात तामाङले छन्द नमिलाएर ल्याएर मीठो गीत जस्तो बनाएको भन्दै सरकारलाई व्यङ्ग्य गरेका छन्। सरकारले वास्तविक आर्थिक धरातलमा बजेट नल्याएको बताए।  उनले सरकारलाई व्यङ्ग्य गर्दै 'श्रीमती माननीय'समेत भन्न भ्याएका छन्। तामाङले आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल उर्फ 'कर प्रसाद ढुंगेल' भन्दै व्यंग्य गरेका हुन्।

सांसदलाई बजेट बाँडेकोमा विरोध

प्रदेश सरकारले प्रदेश पूर्वाधार कोषको नाममा सांसदहरुलाई तीन तीन करोड बजेट दिन १ अर्ब ९८ करोड छुट्याएको प्रति विरोध भएको छ। मंगलबारको प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले विरोध जनाएका हुन्। विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले वडाध्यक्षलाई हस्तक्षेप गरेर बजेट बाँडेको भन्दै सरकारलाई कोरोना जोखिममा पनि लाज नलागेको बताएका थिए। उनले  सांसदलाई बजेट बाँडेर कस्तो समाजवादमा पुग्ने भन्दै प्रश्न गरेका छन्।

यस्तै राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङले पनि प्रदेश पुर्वाधार कोषको नाममा रकम दिन नहुने बताए। उनले कार्यकर्ता पाल्न दिन खोजेको आरोप लगाइन्।   कांग्रेस  सांसद विजया श्रेष्ठ केसीले सांसद कोषको नाममा  बजेट राख्न नपर्ने बताईन्। उनले त्यसको साटो उक्त रकम स्वास्थ्यमा खर्च गर्नु पर्ने बताईन्।  कांग्रेसकै नरोत्तम वैद्यले पनि सांसद विकास कोष खारेज हुनुपर्ने बताएका थिए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.