बागमतीले खेलकुदकै लागि ७९ करोड छुट्यायो

|

इलाम : आगामी आर्थिक वर्षका लागि ७ वटै प्रदेशले बजेट विनियोजन गरेका छन्। ७ वटै प्रदेशले गरेर कुल २ खर्ब ६४ अर्ब २० करोड ५७ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ। सबैजसो प्रदेशहरूले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छन्।

गत जेठ १५ गते केन्द्रीय सरकारले खेलकुदका लागि २ अर्ब ३६ करोड बजेट विनियोजन गरेर निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कभर्डहल  प्रादेशिक रङ्गशाला सबै स्थानीय तहमा खेल ग्राम कार्यक्रम, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र जस्ता योजनाहरू अगाडि ल्याउँदै गर्दा प्रदेशले उस्तै प्रकारका योजनाहरू अघि सारेका छन्। रंगशाला स्तरोन्नति, एक स्थानीय तह एक खेलमैदान, मुख्यमन्त्री कप आयोजना, प्रादेशिक कभर्डहल जस्ता योजनाहरू प्रदेश सरकारको प्राथमिकतामा परेका छन्।

प्रदेश १ को खेलकुद क्षेत्रमा ३० करोड

आर्थिक वर्ष २०७७/७८ का ४० अर्ब ८९ करोड ९९ लाख ४७ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश एक सरकारले खेलकुद क्षेत्रको विकासका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश एकको बजेटमा प्रादेशिक एवं जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नति तथा निर्माण कार्यलाई जोड दिने बताएको छ।

जसमा धरानमा खेलकुद ग्राम निर्माण गरिनेछ। खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै प्रदेश खेलकुद बोर्डको आवश्यकता संरचना निर्माण गरिनेछ, प्रदेशस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिने बताएको छ। विराटनगरमा शहीद मैदानमा फ्लडलाइट निर्माण कार्य यसै वर्ष सम्पन्न गरिने उल्लेख छ।

प्रदेश २ : मलङ्गवा रंगशाला प्राथमिकतामा

खेलकुद मैत्री पूर्वाधारहरूको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरि समग्र खेलकुद क्षेत्रको विकास गरिने प्रदेश नं २ को बजेटमा उल्लेख गरिएको छ। यसका लागि प्रदेश २ सरकारले मलङ्गवा रंगशालाको स्तरोन्नतिका लागि प्राथमिकता दिइने अर्थमन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

खेलकुदमा सबैभन्दा बढी बजेट बागमतीको

७ वटा प्रदेशमध्ये सबैभन्दा ठूलो बजेट ल्याएको बागमती प्रदेशले खेलकुद क्षेत्रमा समेत ७० करोडमाथिको बजेट छुट्याएको छ। आगामी आर्थिक वर्षका लागि बागमतीले ७९ करोड १३ लाख रुपैयाँ छुट्याएको हो।  विकास, गतिशीलता र स्वास्थ्यका लागि खेलकुद भन्ने सोचका साथ खेलकुद क्षेत्रमा दिगो विकासको पूर्वाधार निर्माणमा जोड दिएको छ।

जसमा बहुवर्षीय र क्रमागत आयोजनाहरूको निरन्तरता एवं स्थानीय तहमा भएका खेल मैदान निर्माण गर्ने कार्य र खेलाडीको क्षमता विकासमा जोड दिने बताइएको छ। स्थानीय खेल प्रवर्द्धन, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता तथा राष्ट्रिय प्रतियोगिताको सहभागितासमेत व्यवस्थापन गरेको बताएको छ।

नीति निर्माणदेखि राष्ट्रिय खेलकुद व्यवस्थापनमा गण्डकी प्रदेश

चालु आर्थिक वर्षमा ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बजेट ल्याएको गण्डकी प्रदेशले गत वर्षको तुलनामा यस वर्ष खेलकुद क्षेत्रमा कम बजेट विनियोजन गरेको छ। गत वर्ष ११ करोडभन्दा बढी खेलकुदका लागि छुट्याएको गण्डकीले यस वर्ष करिब १० करोडको हाराहारीमा विनियोजन गरेको हो। 

गण्डकी प्रदेशको खेलकुद कानुन नीति निर्माण तथा संरचनालाई प्राथमिकतामा राख्दै प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला, प्रदेश खेलकुद एकेडेमी, क्रिकेट रंगशाला, हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर, गल्फ कोर्षस्कीको तालिम केन्द्र र जिल्लास्तरीय रंगशाला तथा एक स्थानीय तह एक खेल मैदानका लागि ८ करोड ४५ लाख विनियोजन गरेको छ।

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन तथा खेलाडीलाई प्रशिक्षण प्रदान गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ भने विजयी खेलाडीलाई पुरस्कृत गर्न आवश्यक बजेट विनियोजन गरेको मन्त्री गुरुङले बताएका छन्।

अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको आयोजना, खेलाडीलाई प्रोत्साहन भत्तासँगै समग्र खेलकुद विकासका लागि रकम छुट्टाएको छ। यससँगै मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई समेत प्रदेश सरकारले निरन्तरता दिने भएको छ।

प्रदेश ५ को खेलकुद बजेट १२ करोड

३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको प्रदेश ५ ले खेलकुदमा निरोधात्मक स्वास्थ्य र उद्यमका रुपमा विकास गर्न खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। जसका लागि २ वटा रङ्गशालालाई दक्षिण एसियालीस्तरको बनाउने भएको छ।

प्रदेश सरकारले निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरसिंह रंगशाला साफस्तरको बनाउने भएको हो। साथै मुख्यमन्त्री रनिङ शिल्ड लगायतका खेलकुद कार्यक्रमहरू सञ्चालन गर्नका लागि १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। यस्तै, रुकुम पूर्वमा उच्च हिमाली खेल संरचना निर्माण गरि पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन गर्नसमेत प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिएको छ।

आवश्यक पूर्वाधारमा कर्णालीको बजेट

केन्द्रीय सरकारले खेलकुद पूर्वाधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन हुने गरी खेल पूर्वाधार विकास गर्ने नीति लिएसँगै प्रदेशले समेत प्राथमिकतामा राखेको छ। राष्ट्रिय खेलकुद परिषद् प्रतियोगिता आयोजना तयार तथा खेलाडीको प्रशिक्षणका लागि वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माणको काम अगाडि बढाउने भएको हो।

साथै जिल्लामा रंगशाला कभर्डहल र खेलमैदानका काम अगाडि बढाउने, खेल क्षेत्रको स्तरोन्नति तथा खेलाडीको वृत विकासका काम सञ्चालन गरिने भएको छ। युवा परिचालन र खेलकुद विकासका लागि १५ करोड ६० लाख विनियोजन गरिएको छ।

सुदूरपश्चिमको बजेट खेलाडी कोष र पूर्वाधार विकासमा

सुदूरपश्चिम प्रदेशले खेलकुद क्षेत्रका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको छ। खेलकुदको माध्यमबाट प्रदेशमा स्वस्थ र अनुशासित तथा युवा जनशक्ति उत्पादन गर्न प्रदेश सभाका हरेक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण एवं स्तरोन्नति गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ।

यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने अत्याधुनिक एवम् सुविधासम्पन्न रंगशाला निर्माणका लागि महेन्द्रनगर तथा धनगढी रंगशाला स्तरोन्नति र संरचना सुधारका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ।

मुख्यमन्त्री खेलकुद तथा अन्य खेलकुद प्रतियोगिताका साथै खेल क्षेत्रको समग्र विकास र खेलप्रति आकर्षण बढाउनका लागि एक करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ।

खेलाडीको वृत्ति विकास तथा सम्मानका लागि प्रदेशस्तरमा खेलाडी कल्याण कोष सञ्जालनका साथै प्रदेशको गौरवको रुपमा रहेको फाप्ला क्रिकेट मैदान डिपिआर निर्माणको प्रारम्भिक अध्ययनका लागि १ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रस्तुत गरेको बजेटमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.