सम्बन्धविच्छेद गर्नेमा रोजगारी र शीक्षित महिला धेरै

|

काठमाडौं :  कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लगाइएको लकडाउन अवधिभित्र काठमाडौंमा महिला हिंसाका घटना कम भएको छ। 

लकडाउन अवधिमा काठमाडौंमा महिला हिंसाका ५३ वटा मुद्दा परेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कालीमाटीको तथ्यांकमा उल्लेख छ। बाल यौन दुर्व्यवहारमा ३ जना, आत्महत्याका २७, बहुविवाहका ४, जर्बजस्ती करणी उद्योगका ३ र जर्बजस्ती करणीका ३ मुद्दा पारेको सेवा केन्द्रले जानकारी दिएको छ।

लकडाउन हुनुअघि दैनिक १४-१५ वटा मुद्दा आउने गरेपनि अहिले दैनिक ४ देखि ५ जना महिलाहरू घरेलु हिंसामा पिडित भएको भन्दै मुद्दा दर्ता गर्न आउने गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए।

प्रवक्ता केसीका अनुसार घरेलु हिंसाको मुद्दा बढ्नुको कारण श्रीमानले वास्ता नगर्ने र परस्त्रीसँग सम्बन्ध राख्नु हो। घरेलु हिंसामा बढी जसो मजदुर वर्ग र निम्नस्तरको मानिसहरू संलग्न छन्। 'महिला सेलमा आएका अधिकांश मुद्दाहरूमा मेलमिलाप गरेर पठाइएको छ,' उनले भने, 'शिक्षित वर्ग र रोजगारमा आबद्ध पीडित महिलाहरू भने श्रीमानसँग मिलेर जान अस्वीकार गर्छन्, सम्बन्धविच्छेद नै गर्न तयार हुन्छन्।'

घरेलु हिंसाका मुद्दा लिएर आउनेमा धेरैजसो काठमाडौं बाहिरका जिल्लाका महिलाहरू रहेको उनले बताए। यीमध्ये धेरैजसो धादिङ, काभ्रे र नुवाकोटका महिलाहरू रहेको उनले जानकारी दिए।

'अशिक्षा र चेतनाको कमीले महिला हिंसा'

मजदुरी गर्ने अधिकांश महिलाहरूमा चेतनाको कमी र व्याप्त अशिक्षा नै घरेलु हिंसा बढ्नुको मुख्य कारक तत्व रहेको सामाजिक परामर्शदाता डा.नम्रता पाण्डे बताउँछिन्। मुख्यतया: घरेलु हिंसा बढ्नुको कारण महिलाहरू आर्थिक रुपमा सक्षम नुहुनु पनि एक कारण रहेको उनको भनाई छ।

डा. पाण्डे भन्छिन्‌,' घटना परिस्थितिले नभई मनस्थितिले निम्त्याउँछ, आधुनिक जीवनशैलीको अभ्यासमा उचित तरिका नअपनाउनु, परिवार प्रेम घट्दै जानु, हरेक महिलाको अस्तित्वलाई पुरुषले स्विकार नगर्नु र हरेक महिलाले आफूलाई परिवार व्यवस्थापनमा बोझ ठान्नु, घरको समस्या आपसी मेलमिलापमा घरमै समाधान नगरी सार्वजनिक गर्नु सम्बन्धविच्छेदको कारण बनिरहेको छ।'

'पुरुषको सोच र विचार लाद्न खोज्दा पनि महिला हिंसा बढ्छ'

नेपाली समाज पितृसत्तात्मक सोचले चलेको छ, जहाँ सदा पुरुषहरू हाबी हुने भएकोले त्यसमा पुर आफ्नो सोच, विचार  र चिन्तन लाद्न खोजेको कारण घरमा महिलामाथि हिंसा बढन सक्ने समाजशास्त्री डम्बर चेम्जोङ बताउँछन्।

लकडाउनमा धेरै पुरुषहरू घरमै बस्दा उनीहरूमा दिक्दारीपन बढ्नु वा बाहिर जान नपाउँदा पनि घरमा झै-झगडा हुने गरेको उनले बताए। उनका अनुसार अधिकांश आर्थिक कारोबार र बाहिर परस्त्रीसँग सम्बन्ध हुँदा पनि महिलामाथि हिंसा बढेको छ।

'हरेक हिंसामा पुरुषको हात हुन्छ भन्ने पनि छैन, तर के चाहिँ हो भने पुरुषमा सदा हामी मुल हौं भन्ने भाव छ,' उनले भने, 'महिला हिंसाको पनि स्वरुपहरू धेरै छन्‌, प्रतीकात्मक स्वरुपमा पुरुषले महिलालाई हिंसामा पार्न खोज्ने सम्भावना बढी हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.