यसरी चुके बैंकर
काठमाडौं: तरलता अहिले धेरै सुनिएको कुरा, रेडियो–टेलिभिजनका कार्यक्रमदेखि, सामान्य चिया पसलमा समेत तरलताको बहस सुनिन्छ। कतिपय ठाँउमा तरलताको अपव्याख्या समेत भएको छ। तरलता कसरी सिर्जना भयो।? यसको समधान कसरी गर्ने ? यस विषयमा बहस गर्न जरुरी छ।
धेरै व्यापारीहरुले कर्जा पाएका छैनन्। भन्सारमा सामान रोकिएको छ। इम्पुट गर्न पाएका छैनन्। एलसी खोल्न पाएका छैनन्। यसको समधान के त ? कसरी गर्न सकिएला? यस विषयमा केन्द्रीय बैंकको तर्फबाट सोधपुछ भै नै रहेको होला। मेरो विचारमा मध्यावधिक मौद्रिक नीतिको समिक्षा गर्नेबेलासम्म राष्ट्र बैंकले केही गर्ला। तर यस्तो अवस्था कसरी आयो ? समिक्षा जरुरी छ।
मेरो मनमा केही कुरा उठिरहेका छन्। जस्तो, केन्द्रीय बैंकले पुँजी वृद्धि गर्ने निर्णय गर्यो। जुन आवश्यकता थियो।
घर बनाउदा टुक्रे टुक्रे गरेर अहिले एक ताला बनाउने अर्को साल अर्को तला थप्ने, छड खिइने अवस्था आउने भन्दा एकै पटक बनाएर मजबुत गर्नुपर्छ भन्ने केन्द्रीय बैंकलाई लाग्यो। त्यहीअनुसार केन्द्रीय बैंकले चार गुणासम्म चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गर्यो। के चार गुणा पुँजी वृद्धि भयो भन्दैमा हामीलाई ब्याजबाट मुनाफा चार गुणा नै बढी चाहिने हो?, त्यो बैंकले विचार गर्नु पर्छ कि पर्दैन?
कस्ता बैंकले बढाए ब्याज?
तीन थरीका बैंक याद गर्नुपर्नेछ। सरकारी बैंक, विदेशी लगानीमा खडा भएका बैंक र नेपालका उद्योगी व्यवसायीले खडा गरेका बैंक। तपाइहरुले जुन बैंकबाट ऋण लिनु भएको छ। आफै समिक्षा गर्नुस् कुन बैंकले ब्याज बढाएको छ तपाइहरुलाई। मेरो विचारसमा सरकारी बैंकले ब्याज बढाएका छैनन्। मलाई जहाँसम्म लाग्छ विदेशबाट लगानी भएका ठूला बैंकहरुले पनि धेरै ब्याज वृद्धि गरेका छैनन्।
कसले बढाएको हो बैंकमा ब्याज? धेरै नेपाली उद्योगी व्यवसायीले लगानी गर्नु भएको छ। त्यही बैंकले ब्याज बढाएको छ। जुन ठूला व्यवसायिक घरनाले यहाँ बैंक चलाइरहेका छन्। उनीहरुले नै ब्याज बढाएका छन्। उनीहरुले सीईओलाई बाध्य बनाउँछन् र भन्छन् कि मलाई ३० प्रतिशत डेभिडेन्ट चाहिन्छ, मलाई ३० प्रतिशत डेभिडेन्ट नभई हुँदैन।
सीईओलाई प्रेसर बढ्न थाल्यो मलाई त ३०/४० प्रतिशत डेभिडेन्ट दिनुपर्ने भएपछि सीईओले के गर्छ। यदि २० प्रतिशत नाफा दिनको लागि अहिलेका बैंकहरुले २ अर्ब नाफा कमाउन पर्यो। दुई अर्ब नाफा कमाउनको लागि सीईओले हिसा गर्यो कि मैले कति कर्जा लगानी गर्नु पर्छ।
कर्जा लगानी बढाउनको लागि नाडा अटो शोमा साढे ५ प्रतिशतमा कर्जा बाँडेकै हो नि! मुनाफा कमाउनको लागि कर्जा बाँड्दा बाँड्दा सिस्टममा भएको डिपोजिट रित्तियो। यस्तो अवस्था आयो अहिले इनलेट भन्दा आउटलेट ज्यादा भयो। जब भाँडोमा इनलेट भन्दा आउटलेट ज्यादा भयो भाडो रित्तियो। यहाँ व्यापारीहरुले एक बोरा चिनी राखे र ग्राहकले माग्दा दिएनन् भने कालोबजारी गर्न थालेको भनेर म आफैं भन्छु। त्यस्तै हामीसँग पनि कर्जा माग्न आउनु भयो कर्जा दिएन भने तपाइ भन्नुहुन्थ्यो ' पैसा भाडोमा भै, भै किन दिनु हुँदैन? हामीलाई' त्यसैले हामी भाँडोमा हुँदासम्म लगानी गर्यौ।
यसो गर्छन् ठूला घरना
माघको पहिलो हप्ता हो, एउटा ठूला घरनाका व्यक्ति बैंकका संचालकले एउटा ग्यादरिङमा केही कुरा गरे। उनले भने, 'मैले मेरो बैंकको सीईओलाई दुई हप्ता अघि नै १२ प्रतिशत ब्याज वृद्धि गर भनेको उनले ढिला गरे। उनले ढिला गर्दा अहिले अरुले उठाइसके पैसा। यो रेट १५ प्रतिशत पुग्छ'। १५ प्रतिशत पुग्छ भनेर माक्रेटमा बहस गर्न मिल्छ? यस्तो गर्न त मिल्दैन नि, यो हल्ला गर्ने कुरा हैन नी। उहाँ ठूलो घरनाको व्यक्ति हो उहाँ ब्याज बढाउन यसरी लागि रहनु भएको थियो।
उहाँ मात्रै हैन यहाँ व्यापारी व्यवसायीहरुले ठूला ८/१० वटा बैंकमा स्वामित्व जमाउँछन्। हामीलाई थाहा छ। फलानो बैंक कसको, फलानै घरनाको, फलानो बैंक कसको? फलानो घरनाको…। हो हामीलाई प्रेसर छ मुनाफा कमाउने। हामीले मुनाफा कमायौ, कसरी कमायौ? सात प्रतिशतमा दिएको ऋणको ब्याज १४ प्रतिशत सम्म पुर्याएर कमायौ।
यही बेला हो बैंक चिन्ने
एउटा राम्रो व्यापारी मैले चिनेकै मान्छे भदौ असोज ताका कर्जा खोज्दै थिए। उनलाई मैले ८ प्रतिशत ब्याजमा कर्जा लैजान आग्रह गरे तर उनले मानेनन्। उनले भने, ' हैन मलाई अर्को बैंकले ७ प्रतिशत ब्याजमा ऋण दिएको छ,' उनले भने। उनी गए। केही दिनअघि मात्रै मेरोमा फेरि आए। 'सर मलाई त त्यो बैंकले १४ प्रतिशत ब्याज पुर्यायो बर्बादै पार्यो नि'। मैले त्यो बेला ८ प्रतिशतमा दिएको लोन ११ प्रतिशत भन्दा माथि लगेको छेन केही बैंकहरुले १४ प्रतिशतसम्म पुर्याएका छन्। त्यति बेला कमर्सिय बैकले दिएको लोन सात बाट १४ पुग्यो। मैले आक्षेप लगाएको हैन भएको यथार्थ कुरा भनेको मात्रै हो।
तर म भनिरहेको छु ऋणीले बैंक चुज गर्ने बेला यहि हो। कुन-कुन बैंकहरुले मानवियता देखाएको छ ध्यानमा राख्नुस्। कुन-कुन बैंकले मनपरी ब्याज बढाएको छ कुनले छैन चि्न्नुस्।
यहाँ चुक्यौ हामी
केही कुरामा भने बैंकका सीईओ पनि चुकेका छन्। हामीले जुन विषयमा विश्लेषण गरेर कर्जा लगानी बढायौं। त्यहाँ हामी चुकेकै हो।
छिटो बजेट आएको कारण साउनदेखि विकास खर्च गर्ने भनेर जेठमा बजेट आयो। हामीलाई साउनदेखि धेरै नै विकास खर्च हुन्छ। तर भएन। जस्तो हिजोका दिनमा थियो। त्यस्तै नै भयो। बैंकहरु चुकेकै हो।
अनुत्पादक क्षेत्रमा लगानी तरलता अभावको कारण होइन
हामीले अनुत्पादक क्षेत्रमा लगानी गर्यो भन्न् कुरालाई पनि ध्यान दिन जरुरी छ। व्यापक ओभर ड्राफ्ट लगानी गरे, गाडीमा व्यापक लगानी गरे, सेयरमा व्यापक लगानी गरे, व्यापक घर लगानी भयो, जग्गामा लगानी गरे भन्ने कुरा आएको छ। त्यही कारण तरलता अभाव भयो भन्ने कुरा पनि आएको छ।
त्यो मात्रै हुन सक्दैन। जग्गामा लगानी गरेर जग्गा अनुत्पादक त होला तर जग्गा खरिद गर्दा गरेको लगानीको कारणले तरलतामा समस्या आएको होइन। किनकि एउटाले जग्गा बिक्री गर्छ। बिक्री गर्ने मान्छेले पाएको पैसा बैंकमा राख्छ, यसले समस्या पार्ने होइन।
अर्को कुरा अभर ड्राफ्ट कर्जा नेपाल राष्ट्र बैंकले हामीलाई तोकेको छ। एक करोड भन्दा बढी प्रसनल ओभर ड्राफ्ट नदेउ भनेर त्यसै अनुसार हामीले गरेको हो। त्यसलाई अनुत्पादक भन्न मिल्दैन। सेयर कर्जाले पनि बैंकको तरलतामा समस्या पारेको छैन। गत असार महिना भन्दा अहिले सेयर लगानी प्रतिशत घटेको छ, सेयरमा दुई प्रतिशत लगानी मात्रै रहेको छ, त्यसमाथि पनि त्यो पैसा पनि बैंकमा आएर बस्छ।
घर खरिदमा दिएको कर्जा अनुत्पादक हैन
घर खरिदमा दिएको कर्जालाई अनुत्पादक भन्न मिल्दैन। एउटा घर बनाउनको लागि उत्पादन मुलक क्षेत्र भनिने सिमेन्ट त्यसैमा चाहिने हो। त्यसलाई डन्डि चाहिन्छ। त्यसलाई आल्मोनियम चाहिन्छ…।
त्यसैले अधिकांश जिल्लामा घर बनाउँदाका लागि लिइने ऋणमा कर छुट पाइन्छ। यसलाई अनुत्पादक भन्न मिल्दैन। हामीले पटक पटक सरकारलाई भन्दै आएका छौ घरमा दिएको पैसा अनुत्पादक हैन। हायर प्रचेजको कुरा छ डोजर, ट्रक, लगायतमा गाडी तिनै सामान बोक्न प्रयोग हुन्छन् त्यसैले हायर प्रचेज पनि अनुत्पादक हैन भन्ने लाग्छ। होला व्यक्तिगत गाडी पनि किनिएको होला। हामीलाई लाग्छ एउटा फ्याट्रिको म्यानेजर गाडी नचढ्ने। एउटा आयोजनाको प्रमुखले गाडी नचढ्ने हामीलाई त्यस्तो लाग्छ। त्यै पनि पुनर्विचार गर्नुपर्छ।
कसरी निस्कन्छ समधान?
राष्ट्र बैंकको गभर्नरलाई गुहारेर मात्रै समाधान हुनेवाला छैन। बैंकको सीईओहरुलाई गुहारेर समाधान निस्कने छैन।
समाधान भनेको नेपालका ठूला घरनाहरु जसले बैंकमा लगानी गरेको छ। जो बैंकको अध्यक्ष छ, जो बैंकको संचालक छ, जसले आफ्नो प्रतिनिधि पठाएको छ उनीहरुसँग बसेर छलफल सुरु गर्नुपर्ने देखिन्छ।
समस्या पनि व्यापारीले गरेका छन् समाधान पनि व्यापारीले नै दिन सक्छन्। निजी क्षेत्रका प्रतिनिधि मूलक संस्थाले बैंकका संचालक र ठूला घरनाका व्यक्तिलाई बोलाएर समधान गर्न लागे समधान हुन्छ। हामी त कर्मचारी हो उहाँहरुले भने अनुसार गर्ने हो। उहाँहरु भनेको ठूला घरनाका व्यक्ति, बैंकका सचालकहरु जो हामीलाई कति नाफा गर्नुभयो सीईओ साप भनेर घच्घचाइ रहनु हन्छ।
एकै पटक मुनाफा कमाउने कुराले समस्या आएको हो। त्यसो नगर्दा समाधान हुन्छ। यो बेला धेरै मुनाफा गर्ने होइन, यो बेला ३०/४० प्रतिशत नाफा गर्ने होइन, यो बेला वित्तीय क्षत्रलाई जोगाउनु पर्छ भन्ने ती सञ्चालकलाई लाग्नुपर्छ। अहिले नाफा १५/२० प्रतिशतमा झार्न पर्छ भन्ने कुरा ती संचालकको मनमा ती व्यवसायीक घरनाको मनमा लाग्नुपर्छ। ठूला बैंकमा लगानी गरेका व्यापारीले चाहेको खण्डमा एक सातामा यो समस्या हट्छ।
(मंगलबार नेपाल चेम्बर अफ कमर्शले गरेको अन्तक्रियामा लामिछानेले राखेको विचारको सम्पादीत अंश)
तपाईंको ईमेल गोप्य राखिनेछ ।