|

काठमाडौं : प्रत्येक २ वर्षमा हुनुपर्ने त्रिभुवन विश्वविद्यालयको स्ववियु चुनाव २०६५ सालपछि हुन सकेको छैन। फागुन १४ गतेका लागि तोकिएको स्ववियु मतदान मिति आउन १० दिनमात्र बाँकी रहदाँ स्ववियु निर्वाचन हुने नहुने अन्योल सिर्जना भएकको छ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि गठन गरेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले मंगलबार उपत्यकाका क्याम्पस प्रमुखहरुसँग छलफल गरेको छ। छलफलमा क्याम्पस प्रमुखहरुले हालको वातावरणमा स्ववियु निर्वाचन गराउन नसक्ने बरु जागिरबाट राजिनामा दिने बताएका छन्। शिक्षाध्यक्ष सुधा त्रिपाठी लगायत त्रिवि पदाधिकारीहरुसँगको छलफलमा अधिकांश क्याम्पस प्रमुखहरुले विद्यार्थीहरु नै चुनावमा जान नचाहेको बताए। विद्यार्थीहरु नै स्ववियु निर्वाचन भाँड्न लागेका कारण तत्काल निर्वाचन हुन नसक्ने क्याम्पस प्रमुखहरुको दाबी छ।

पढ्नस्: त्रिविलाई क्याम्पस प्रमुखहरुको रिपोर्टिङ : 'स्ववियु चुनाव गर्न सक्दैनौँ'

            स्ववियु चुनाव रोक्न त्रिवि शिक्षाध्यक्ष त्रिपाठीलाई धम्की

'विप्लवका विद्यार्थी''उसी पार' को मानसिक मिलन

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले मंगलबार राजधानीका क्याम्पस प्रमुखहरुसँग गरेको छलफलमा विश्वभाषा क्याम्पसका प्रमुख भीमनाथ रेग्मीले कर्मचारी अपहरण हुन थालेको र विद्यार्थीले नै चुनाव नचाहेकोले त्रिविले स्ववियु चुनाव गर्न नहुने बताए। 'आज बिहान विद्यार्थी कल्याण शाखाका प्रमुखलाई लिएर गएका थिए। मैले बारम्बार कुरा गर्दा मात्र २ घण्टापछि छोडे,' उनले भने। 

रेग्मीले मंगलबार बिहान विश्वभाषा क्याम्पसका विद्यार्थी कल्याण शाखा प्रमुख नविनचन्द्र मरासिनीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका एक केन्द्रीय सदस्यले लगेको जानकारी गराए। 

रेग्मीले विप्लव विद्यार्थीलाई देखाएर नेविसंघले पनि चुनाव नचाहेको बताए। 'मलाई विप्लवका विद्यार्थी र नेविसंघले २८ वर्षे उमेर सीमामा जनाएको विरोधले स्ववियु निर्वाचन हुनेमा शंका लागेको छ',  रेग्मीले भने, 'विप्लवका विद्यार्थी र 'उसी पार' का विद्यार्थीहरु मानसिक रुपमा चुनाव हुन नदिनेमा लागेका छन्। उनीहरुबीच सहकार्य भएको अवस्था देखिन्छ।'

जागिर जाओस्, चुनाव सकिन्‍न

पाटन संयुक्त क्याम्पस ललितपुरका क्याम्पस प्रमुख दिपेन्द्र विक्रम सिजापतिले स्ववियु चुनाव गराउने प्रयास गरेर विभिन्‍न धम्की खेप्‍नुभन्दा क्याम्पस प्रमुख पद र जागिरबाटै राजिनामा दिनु उचित हुने बताए । 'आज क्याम्पसमा राजिनामा मागिएको छ', सिजापतिले भने, 'यस्तै वातावरण रहने हो भने म पदबाट र जागिरबाट राजिनामा दिन तयार छु। विद्यार्थी भिडाएर चुनाव गराउनुको औचित्य छैन।'

उनले भने, 'लेखा, क्याम्पस प्रमुख लगायत कार्यालयमा ताला लगाएको छ। खल्तिबाट पैसा लगाएर चुनाव गराउन सकिदैन। यस्तो अवस्थामा चुनाव गराउन तयार छैन।'

४ वटा संगठन मात्र दर्ता

प्रदर्शनीमार्गमा रहेको 'ल' क्याम्पसमा ४ वटा संगठन मात्र दर्ता भएको क्याम्पस प्रमुख कर्ण बहादुर थापाले बताए। उनले प्रमुख विद्यार्थी संगठन नेविसंघले नै समयसीमाभित्र संगठन दर्ता नगरेकोले चुनाव गर्न सकिने अवस्था नरहेको बताए। 'चारवटा संगठन मात्र दर्ता भएका छन्। नेविसंघले आन्तरिक समस्याका कारण संगठन दर्ता गरेको छैन', थापाले भने, 'आज नेविसंघका केन्द्रीय नेता आएका थिए तर निर्वाचन कार्यालयमा ताला लागेको थियो। वातावरण तनावग्रस्त भएको छ।'

थापाले अहिलेको वातावरणमा चुनाव गर्न नसकिने बताए। उनले भने, 'यो वातावरणमा चुनाव गराउनै सकिदैन र गराउँदिन। अर्को, ल क्याम्पस अनिश्चित कालका लागि बन्द गर्न सक्छु।'

उनले ल क्याम्पसको स्ववियु निर्वाचन समितिले मंगलबार बिहान बैठक बसेर चुनाव गराउन नसकिने निर्णय गरेको बताए।  बैठकमै उनले समितिको निर्णय पढेर सुनाए। 

निर्वाचनमा जाने संगठनको साथ छैन

चुनावमा जान्छु भनेर बाहिर जति भाषण गरे पनि प्रमुख संगठनहरुले नै स्ववियु निर्वाचनमा जान नचाहेको क्याम्पस प्रमुखहरुको बुझाइ छ। उनीहरुले १ विद्यार्थी संगठनका केही सदस्यले चुनाव भाँड्ने क्रियाकलाप गर्दा 'चुनावमा जान्छौं' भन्‍ने ठूला संगठनका नेता चुप लाग्‍ने गरेको बताए। अमृत साइन्स क्याम्पसका प्रमुख राजेश मकाजुले क्याम्पसमा निर्वाचन गराउन सक्ने अवस्था नरहेको बताउदै भने, 'चुनाव गराउनैपर्छ भन्‍ने र गराउनु हुन्‍न भन्‍नेको दबाब छ। प्रशासनमा ताला लागेको छ।' उनले विद्यार्थी संगठनले साथ नदिएको बताउदै भने, 'चुनाव गराउने पक्षकाहरुलाई आउनुस् ताला फुटाऔं भन्दा आउदैनन्।'  

त्यस्तै अनुभव सुनाए ल क्याम्पस प्रमुख कर्ण बहादुर थापाले। '४०-५० जना विद्यार्थी पड्काइदिन्छौं भनेर गलत गरिरहेका छन् तर चुनाव चाहने विद्यार्थी पनि यो गलत हो भन्दैनन्।' त्यस्तै अखिल (क्रान्तिकारी) ले क्याम्पसको एक कोठाको ताला फोडेर कार्यालय राखेकोले पनि क्याम्पसमा तनावको स्थिति पैदा भएको थापाले बताए।

५ सय लिनुस् भर्ना गर्नुस् भन्छन्

चुनावमा जान्छौं भन्‍ने विद्यार्थी संगठनका विद्यार्थी नेताहरुले नै निर्वाचन कार्यतालिका लागु गर्नमा अवरोध गरेको बताए ललीतकला क्याम्पस कीर्तिपूरका प्रमुख रमेश पोखरेलले। 'नियमित रुपमा कार्यतालिका लागु गरेका थियौं। हिजो नेविसंघ र अखिलका उमेर नाघेका केन्द्रीय सदस्य आएर '५ - ५ सय लिएर भर्ना गर्नुस्' भने। १२ हजारसम्म भर्ना फी छ त्यो कसरी  गर्ने?' पोखरेलले भने, 'त्यसो नगरे उम्मेदवार छैन भनिरहेका छन्। आज पनि त्यै कुरालाई लिएर मतदाता नामावली च्यातिदिए।'

पढ्नुस्: केन्द्रीय क्याम्पसमै स्ववियु उम्मेदवार पाउन विद्यार्थी संगठनलाई धौधौ

विप्लव नेतृत्वको विद्यार्थीका एक केन्द्रीय सदस्यले धम्की दिएको उनले बताए। उनले भने, ''हाम्रो पार्टीको महाधिवेशनका बेला स्ववियु चुनाव गराउन अग्रसर हुनुभएको छ भन्‍ने सुने सर सम्झाउन आएको' भन्दै हातखुट्टा भाँच्‍ने अवस्था आउन सक्छ भनेर गयो।' उनले स्ववियु निर्वाचन अनिश्चित कालका लागि स्थगन गर्नु उचित हुने बताए।

विद्यार्थी नेता भन्छन्- जसरी पनि चुनाव हुन्छ

स्ववियु निर्वाचन खारेज गर्न क्याम्पस प्रमुखहरुलाई आएका धम्की र त्रिवि शिक्षाध्यक्षको गाडी जलाएको घटनाले निर्वाचन रोकिन नहुने विद्यार्थी संगठनका नेताहरुले बताएका छन्। अनेरास्ववयुका महासचिव ऐन महरले कार्यतालिका फेरबदल गरेर भएपनि निर्वाचन गर्नुपर्ने बताए। 'केही क्याम्पसमा कार्यतालिका लागु नहुँदैमा निर्वाचन रोक्नुहुन्‍न', महरले भने, 'कार्यतालिका पछाडी सारेर भएपनि १४ गते निर्वाचन गर्नैपर्छ।'

उनले भने, 'लोकतन्त्र नचाहनेले धम्की दिएकोले तिनलाई राज्यले नियन्त्रण गर्नुपर्छ।'

अखिल (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले गाडी जलाएको निहुँमा निर्वाचन रोक्न नहुने बताए। उनले भने, 'एक गाडी जलाएर स्ववियु बन्द गर्ने जुन काम भइरहेको छ त्यसलाई अन्त्य गर्नुपर्छ। बरु छलफल गरेर टुंगोमा पुग्‍नुपर्छ, १४ गतेको चुनाव सर्नुहुन्‍न।'

नेविसंघका सभापति नैनसिंह महरले संगठनका केही असन्तुष्टहरुले लगाएको ताला खोलिसकेको र उनीहरुलाई 'स्पष्टीकरण सोधिएको'  बताए। त्यस्तै क्याम्पस प्रमुखलाई धम्की दिने र गाडी जलाउने काम अराजकता भएको महरले बताए।

पढ्नुस्: नेविसंघले दियो क्याम्पसमा तालाबन्दी गर्नेलाई कारबाहीको चेतावनी

विप्लवले नेतृत्व गरेको माओवादीको विद्यार्थी संगठनले लगाएको तालाबारे महरले भने, 'कुनै शक्तिले स्ववियु चुनाव रोक्न सक्दैन। केही साथीले उठाएका मागहरुबारे छलफल गर्न सक्छौं।' 

सम्बन्धित सामाग्री: क्याम्पसमा स्ववियुको औचित्य के हो? स्ववियु नभए के हुन्छ?

        स्ववियु चुनावका एजेन्डा : राष्ट्रियतादेखि संविधान कार्यान्वयनसम्म, कुन संगठनको के छ तयारी?

        एक दिन भए पनि स्ववियु चुनाव सार्न १० विद्यार्थी संगठनको माग

        स्ववियु चुनावका लागि १० विद्यार्थी संगठन सँगसँगै,  विप्लव माओवादीको विरोध

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.