कसैमा देखिएको थिएन लक्षण

|

डडेल्धुरा : क्‍वारेन्टाइनबाट घर गएका डडेल्धुराका ५८ जनाको कोरोना रिपार्ट पोजेटिभ आएको छ। गन्यापधुरा गाउँपालिकाले क्‍वारेन्टाइनबाट घर पठाइएकामध्ये ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गाउँपालिकाले कोरोना परीक्षणका लागि क्‍वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरी एक हप्ताअघि घर पठाएको थियो। 

कोरोना परीक्षणको रिपोर्ट नआउँदै घर पठाएका गन्यापधुरा गाउँपालिकाका ५८ जना संक्रमण भएको रिपोर्ट बिहीबार आएपछि गाउँपालिकाभरी नै सन्त्रास फैलिएको छ।

गन्यापधुरा स्वास्थ्य शाखा प्रमुख वासुदेव नौन्यालका अनुसार क्‍वारेन्टाइनमा राखेको १४ दिनसम्म कसैमा पनि कोरोनाको लक्षण नदेखिएको र स्वाब परीक्षणको रिपोर्ट ढिला भएकोले क्‍वारेन्टाइनबाट घर पठाइएको हो। 

‘रिपोर्ट आउन ढिला भयो कसै व्यक्तिमा पनि लक्षण देखिएको थिएन, त्यसैले हामीले होम क्‍वारेन्टाइनमा बस्नू बनेर घर पठाएका हौं,’ उनले भने,‘आज उहाँहरुको रिपोर्ट पोजेटिभ आएको छ।’

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार डडेल्धुरा जिल्लाका ८३ जनामा कोरोना रोग संक्रमण भएको पुष्टि भएको थियो। गन्यापधुरा गाउँपालिकाका ५८, परशुराम नगरपालिकाका २१ र अजयमेरु गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गन्यापधुरा गाउँपालिका वडा नं. ३ मा १९ जना, वडा नं.४ मा १५ जना, वडा नं. ५ मा एकजना वडा नं. २ मा २३ जना छन्।

यस्तै अजयमेरु गाउँपालिका वडा नं. १ मा एक जना र वडा नं. २ मा तीनजना छन्। डडेल्धुराकै परशुराम नगरपालिका वडा नं. ३ मा एकजना, वडा नं. ४ मा दुईजना, वडा नं. ५ मा १० जना वडा नं. ६ मा एक जना र वडा नं. ७ मा ८ जना रहेका छन्।

अजयमेरु गाउँपालिका ४ जना कोरोना पोजेटिभहरु क्वारेन्टाइनमै रहेका अजयमेरु स्वास्थ्य शाखा प्रमुख हिक्मत बहादुर कठायतले जानकारी दिए।

परशुराम नगरपालिकामा २२ जना कोरोना पोजेटिभ देखिएका मध्ये अधिकांश व्यक्तिहरु पनि क्‍वारेन्टाइनबाट घर गइसकेको परशुराम नगरपालिका स्वास्थ्य शाखा उपसंयोजक हिक्मत धामीले बताए। उनकाअनुसार परिगाउँ क्षेत्रका व्यक्तिहरु क्‍वारेन्टाइनबाट घर फर्किएका हुन्। 

घर पठाउँदा जोखिम 

डडेल्धुराका सबै स्थानीय तहहरुले आरडीटी पोजेटिभ देखिएका व्यक्तिहरुको स्वाब संकलन गरि क्‍वारेन्टाइनबाट घर पठाउँदै आएका छन्।

पिसिआर परीक्षणको रिपोर्ट नआउँदै स्थानीय तहहरुले घर पठाउँदै गर्दा क्‍वारेन्टाइन बसेका परिवारका साथै छिमेकीलाई समेत कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको छ।

गाउँपालिकाहरुले आरडीटी पोजेटिभ भएका व्यक्तिहरु होम क्‍वारेन्टाइनमा सुरक्षित बस्न भने पनि आरडीटी पोजेटिभ व्यक्तिहरु पिसिआर रिपोर्ट नआउँदै खुलेआम गाउँघर तथा साथीभाइसँग घुमिरहेका हुन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.