|
प्रतीकात्मक तस्वीर

सोलुखुम्बु :   सोलुदूधकुण्ड नगरपालिका ९ सिसाखोलाका एक दलित किशोरलाई स्थानीय श्याम थापामगरको घरको ढोका छोएको निहुँमा कुटिएको छ। जेठ ३१ गते बिहान करिब ९:४० बजे मगरको निर्माणाधीन घरको ढोकामा बसेको निहुँमा आफूमाथि कुटपिट भएको पीडित १६ वर्षीय दीपक विश्वकर्माको भनाइ छ।

घर बनाउने कर्मीको कपाल काटीदिन मगरको घरमा पुगेका विश्वकर्मालाई एक्कासि तँ तल्लो जातको भन्दै घरधनी तारा थापामगर र उनका २७ वर्षीय भाइ श्याम थापामगरले कुटपिट गरेको पीडितको दाबी छ।

डकर्मीले प्रयोग गरेको हथौडा र मुक्काले कुटपिट गर्दा दीपक विश्वकर्माको ढाड, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रत्यक्षदर्शी दिपेन्द्र रानामगरले बताए।

दबाब दिएर मिलापत्र गराइयो

कुटपिटबाट घाइते विश्वकर्माको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचारपछि घर फर्केको पीडितका बुबा नीरबहादुर विश्वकर्माले बताए। घटनालाई लुकाउन स्थानीय अगुवासहितले पीडित जहाँ गए पनि पीडकलाई कानुन नलाग्ने भन्दै निरन्तर दबाब दिएपछि असार १ गते पत्ताले प्रहरी चौकीमा गएर मिलापत्र गरिएको पीडितका बुबा नीरबहादुर विश्वकर्माको भनाइ छ।

'अस्पताल जाँदा आउँदाको गाडी भाडा १० हजार र अस्पतालमा खर्च भएको १० हजार ३ सय गरी २० हजार ३ सय रुपैयाँ खर्चबापत दिएर मिलापत्र कागजमा मेरो नाबालक छोरालाई जबरजस्ती सहिछाप गर्न लगाए' विश्वकर्माले भने, 'जबरजस्ती सहीछाप गर्न लगाएपछि न्यायको लागि जिल्ला प्रहरीमा पुग्यौँ, त्यहाँ पनि वडा अध्यक्षले मिलापत्र गर्नुपर्छ भन्नुभयो, प्रहरीले पनि एक पटक अध्यक्षज्यूले भन्नुभयो, मिल्न सक्नुहुन्छ भने मिल्न होइन भने आउनु भनेर पठाए, तर कसरी मिलापत्र गर्नु?' पीडित पक्षले जातीय छुवाछुत विरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने गरी सदरमुकाम आएका छन्।

धुम्रपान गरेपछि कुटेको स्वीकार

यता, पीडक भनिएका तारा थापामगरले भने आफूले जातीय छुवाछुत नभई धुम्रपान गर्दै गरेको पाएपछि विद्यार्थीले धुम्रपान गर्नुहुँदैन भन्दै कुटपिट गरेको स्वीकार गरेका छन्। जवरजस्त मिलापत्र नभई दुवैपक्षको राजीखुसीका साथ पत्ताले प्रहरी चौकीमा मिलापत्र गराएरसँगै घर फर्केको बताए। जातीय छुवाछुत गरेको भए कानुनअनुसार कारबाही भाग्न तयार रहेको मगरको भनाइ छ।

यता, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बूले जाहेरी नै नआएको बताए। पीडित भनिएका आफैँ प्रहरी कार्यालयमा आएर मौखिक रुपमा जानकारी मात्र गराएको उनको भनाइ छ। लिखित जाहेर नदिई मौखिक रूपमा जानकारी गराएर विभिन्न मिडियामा भने प्रहरीले जाहेर लिन नमानेको भनि झुट्टा प्रचार गर्न खोजिएको प्रहरीको भनाइ छ।  

यस्तै, गत वैशाख २७ गते बाटो हिँड्ने क्रममा सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाका मिनबहादुर नेपालीलाई तल्लो जातको मानिस अगाडी हिँडेको भन्दै गाली बेइज्जती गरेको कसुरमा प्रहरीले स्थानिय ३१ वर्षीया संगीता राईमाथि मुद्दा दर्ता भएको थियो।

जिल्ला अदालत सोलुखुम्बुमा जातीय भेद्भाव तथा छुवाछुत कसुरमा मुद्दा दताई भई पक्राउ परेकी पीडक राईलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।

जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा १ हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने व्‍यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.