सीप जाने बेरोजगार भइँदैन

|

काठमाडौं : गोकर्ण, नाम्गेलमा डेरा लिई बसेका रमेश मगरले अहिले हिलो र ट्याक्टरको पहिचान जमाएका छन्। उमेरले २४ कटेको सोलुखुम्बुका मगरलाई यतिबेला धान रोप्ने सिजनले एकैछिन आराम गर्ने फुर्सद छैन। चार वर्षदेखि खेत जोत्ने पेसा अंगालेका उनी बिहान उज्यालो हुनेबित्तिकै ट्याक्टर कुँडाउँछन्, खेतमा पुगेर जोतीकन धान रोप्‍न योग्‍य  बनाउँछन्। ​

उनी भन्छन,‘अहिले धान रोप्ने सिजन छ। त्यसैले दिनहुँ खेतको हिलोमै मेरो दैनिकी बितिरहेको छ। कहिले खाजा खाने फुर्सद पनि हुँदैन।’ उनी गाउँमा कक्षा ६ मा पढ्दै थिए। दाइहरू कामको शिलशिलामा विदेशिए। उनका आमा र बुबाले काम गर्न नसक्ने भएपछि कक्षा ६ मै पढाइलाई बिट मारे। सायद उनलाई लाग्छ यो २०६५/०६६ सालको कुरा हो।

‘पढ्ने त रहर थियो,’उनले ती दिन सम्झिँदै सुनाए,‘पढ्न पाए त पढ्थेँ। तर, घरको आर्थिक अवस्था र काम गर्ने कोही मान्छे नभएपछि पढ्न पाइनँ। पढाइ छोडेपछि घरमा पनि हलो, कोदालो गरेँ।’ 

भलिबल खेलाडी बन्‍ने लक्ष्य तुहियो
भलिबल खेलमा उनलाई धेरै रुचि थियो। गाउँमा भलिबल खेल प्रतियोगिता हुँदा पनि उनी विजेता बन्थे। त्यसैले भलिबल खेलाडी बन्‍ने सोच उनले बोकेका थिए। तर,उनको त्यो सोच सपनामै सीमित भएको छ।

आफ्ना लक्ष्यको पल सम्झिँदै उनी भन्छन्,‘भलिबल  खेल्नका लागि सल्लेरी, खोटाङलगायत धेरै जिल्लामा जाँदा जहिल्यै प्रथम भइन्थ्यो। कहिले सेकेन्ड। मेरो पढाई पनि राम्रो भएकोले स्कुलले निःशुल्क पढाउने भन्दै थिए। धेरै पढेर राष्ट्रिय,अन्तर्राष्ट्रिय खेलाडी बन्ने सोच थियो। तर, ती मेरा सपना तुहियो। बरु खेत जोत्ने ट्याक्टर चालक बनेँ।’

उनको टिमसँगै खेलेका खेलाडी साथीहरू अहिले क्षेत्रीय खेलाडी भइसकेको उनले सुनाए। ‘मसँगै खेल्ने मेरा साथीहरू क्षेत्रीय खेलाडी भइसके,’दुखेसो पोख्छन्,‘उनीहरू खेलाडी भएर जताततै जान्छन्। आफू त ट्याक्टर जोत्यो खायो। अब यसैमा चित्त बुझाएर बस्नुबाहेक अरू के गर्न सकिएला र?’ 

विदेश जान राजधानी छिर्दा चिसो सिमेन्टमा बास 
दुबई  जानको लागि उनी २०७१ सालमा काठमाडौं छिरेका थिए। तर, श्रीमती गर्भवती भएको थाहा पाएपछि उनलाई विदेश जान मन लागेन। आफ्नै देशमा केही गर्ने सोच बनाए। सुरुमा राजधानी छिरेपछि पहिलोपटक टमाटर फर्ममा पाँच महिनासम्म काम गरे। महिनाको १५ सय भाडामा कोठा लिए तर उनीसँग न  सुत्ने पलङ थियो न अरू केही सामग्री। 

त्यसबेला उनलाई सामान किन्‍ने पैसा थियो न त पैसा सापट दिने आफन्त नै। पीडाका पल सम्झँदै उनी भन्छन्, ‘सुत्ने खाट नभएकाले भुइँमै सुत्दा धेरै चिसो हुन्थ्यो। वर्ष दिनसम्म त्यही चिसोमै सुतेँ। त्यो पीडा सायद जीन्दगीभर भुल्दिनँ होला।'   

खेत खन्‍नेदेखि खलासी, ड्राइभरसम्म
उनले कोठा पाएपछि भाडा तिर्नकै पीरले खेत खन्‍ने काम गरे। केही महिनासम्म खेत खनेरै गुजारा चलाए। तर, फेरि त्यो काम छोडेर लोड अनलोड र खलासीमा लागे। खलासी काम गर्दै जाँदा करिब ६ महिनामा उनले चालकको पनि काम सिके। एकदिन समान बोकेर गाडी जाँदै गर्दा ठोक्किएर गाडीको सिसा फुट्यो, त्यही निहुँमा साहुले उनलाई कामबाट निकालिदिए।  ​

सीपले जिउन सिकायो

छदाखाँदाको जागिर खोसिएपछि उनी थप चिन्तामा परे। उनलाई  ट्याक्टरले खेत जोतेर जीवन चलाउने सोच आयो।  अहिले उनी यही पेसामा सन्तुष्ट छन्। अहिले उनलाई ट्याक्टर जोत्न भ्याईनभ्याई छ। लकडाउनमा काम गर्न पाउँदा झनै उनी खुसीले दंग छन्। उनले एक सिजनमा ४५ हजार र हिउँदको समयमा ६५ हजारसम्म कमाइ हुने बताए।

‘काठमाडौं छिरेको सात वर्ष भन्दा बढी भइसकेछ,’उनले मुस्कुराउँदै भने,‘धेरै काम गरेँ। ट्याक्टर चलाउने सीप जानेपछि भने अहिले कमाइ राम्रै भएको छ। यसैले घरपरिवार राम्रैसँग पाल्न सकेको छु। हातमा सीप छ। त्यसैले भोकले मरिन्छ भन्‍ने चिन्ता छैन।’

दैनिक १७ सयसम्म कमाइ

उनका अनुसार अहिले एक घण्टा ट्याक्टर जोत्दा उनले तीन सय पाउँछन्। दिनभर जोतेमा कहिले दैनिक १७ सयसम्म उनले कमाउने गरेको सुनाए। ट्याक्टर मेसिन चलाउन धेरै गाह्रो नभए पनि खेतको कान्लामा उचाल्न भने गाह्रो हुने उनले बताए। ‘कान्ला मात्रै भएको खेतमा फलेकको भरमा झार्नुपर्छ। कहिले माथि चडाउनुपर्छ। चिप्लेर कति पल्टिन्छ।’ उनले थपे।  अबको उनको सोच गाडी चलाउने र टनेल खेती गर्ने दुई लक्ष्य छ।

धेरै थरीका काम गर्दै जाँदा धेरै कुरा सिकेको बताउँदै संघर्ष गरेमा जीन्दगी जीउन सहज मिल्ने अनुभव उनको छ। भन्छन्,‘मान्छेले अल्छी गर्‍यो भने काठमाडौंमा बाँच्न धेरै गाह्रो छ। त्यसैले काम त जस्तो सुकै गर्नुपर्छ।’ उनका अनुसार अहिलेसम्म नाम्गेल क्षेत्रका करिब २० रोपनी भन्दा बढी खेत जोतिसकेका छन्। उनले जोतिसकेका कतिपय खेतमा अहिले धान हरियो देखिन थालेको छ। 

पढ्न नपाउँदा अहिले पछुतो 
पढ्न नपाएकोमा धेरै पछुतो लागेको छ उनलाई। उनी भन्छन्,‘जहाँ पनि पढाइ नै चाहिँदो रहेछ। पढ्न पाएको भए विदेश जाँदा नि राम्रो काम पाइन्थ्यो होला। पढ्‍न नपाएकोमा मलाई पछुताएको छु त्यसैले भाइबहिनीहरूलाई राम्रोसँग पढ्न सुझाव दिन्छु।’ 

रमेश मगरजस्तै नाम्गेलका अर्का कान्छा श्रेष्ठ पनि खेतमा ट्याक्टर चलाउँछन्। उमेरले ६३ वर्ष पुगे पनि जोस जाँगर भने उत्तिक्कै छ। उनीसँग ७० हजार अनुदानमा खरिद गरेको आफ्नै ट्याक्टर छ। सात वर्षभन्दा बढी ट्याक्टर जोत्दै आएको उनी सुनाउँछन्।

उनका अनुसार दिनभरमा ९ रोपनी खेत जोत्न सकिन्छ। ‘गोरु जोत्नुभन्दा यो मेसिनले नै छिटो काम हुन्छ,’उनले भने,‘माटो पनि हिलो हुन्छ।’ उनले ट्याक्टर मेसिन चलाउँदा हातभन्दा बढी खुट्टा दुख्ने बताए। उनका अनुसार ट्याक्टरको भाडा र जोत्ने कामदारको ज्यालासहित घण्टाको १२ सय लाग्छ।

उनले भने,‘मेरो त उमेर ढल्किँदै गएकाले अब त खेत जोत्न त्यति सक्दिनँ। यो सीप सिकेमा भोको पेट भइँदैन।’ विदेश गएर गाली खाँदै पसिना बगाउनुभन्दा नेपालमै सीप सिकेर मिहिनेत गर्न युवाहरूलाई उनको सुझाव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.