|

काठमाडौं : लगानी बोर्डले सार्वजनिक निजी साझेदारी(पीपीपी) तथा निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण मोडेलमा अघि बढाउनका लागि आठ ठूला परियोजना छनोट गरेको छ। विस्तृत अध्ययन भइसकेका यी आयोजना लगानीयोग्य भन्दै छनोट गरिएको हो।

छनोट भएका परियोजनामा २२ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको पूर्व–पश्चिम रेलमार्ग छ। यस्तै काठमाडौं उपत्यका मेट्रो रेल, तामाकोशी तेस्रो, काठमाडौं कुलेखानी हेटौडा सुरङमार्ग, काठमाडौं–पोखरा रेलमार्ग, रासायनिक मल कारखाना र दोस्रो अन्तर्राष्ट्रिय  विमानस्थल रहेका छन्।

स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानीयोग्य परियोजना अभाव भइरहेको भन्दै चिन्ता जनाइरहेका बेला यी परियोजना छनोट गरेको हो। परियोजना बैंक स्थापनाको प्रक्रिया अघि बढाएको बोर्डले अध्ययन भइसकेका र तत्काल लगानी गर्न तयार पाँच सडक पूर्वाधारसहितका आठ परियोजना छनोट गरेको हो।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार बोर्डले परियोजना बैंकअन्तर्गत एक सय २२ परियोजना पहिचान गरिसकेको छ र यसको विषयमा थप अध्ययन भइरहेको छ। ‘अध्ययन अघि बढिसकेका ८ परियोजनालाई क्रमशः विश्वव्यापी प्रतिस्पर्धा गरी पीपीपी मोडलमा अघि बढाउनेछौं’, उनले भने।

यी परियोजनाहरूलाई स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले लगानीका लागि आउने गरी सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी बोर्डले प्रक्रिया अघि बढाउन लागेको छ। लगानी बोर्डबाट स्वीकृत भइसकेका ती आठ परियोजनहरूलाई क्रमशः निर्माणका लागि विश्वव्वयापी प्रतिस्पर्धामा लैजाने तयारी भएको बोर्डका सहसचिव एवं प्रवक्ता मधु भेटवालले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.