|

पाँचथर : जिल्लाको मुख्य नगदे बालीमध्येको अकबरे खुर्सानीको उत्पादनमा गिरावट आएको छ। रासायनिक विषादी प्रयोग नगरिएको अर्गानिक खुर्सानी उत्पादन हुने जिल्लामा रोग र किराको प्रकोपले उत्पादनमा गिरावट आएको हो।

खुर्सानीको फूलमा देखिएको औंस किराको संक्रमणले फल नपाकी झर्ने र जरा तथा डाँठमा पनि ढुसीजन्य रोगको संक्रमणले बोट कुहेर मर्ने गरेपछि उत्पादनमा कमी आएको किसानहरुले बताएका छन्। चिलिङ्देनका अकबरे खुर्सानीको अगुवा कृषक तारावीर नेम्वाङ मुख्य नगदे बालीको उत्पादन खस्किँदा खर्च जुटाउनै समस्या भएको बताउँछन्।

अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका फाक्तेपका किसान टिकाध्वज चेम्जोङका अनुसार यहाँका एउटै घरले वार्षिक कम्तीमा ३ लाख रुपैयाँको बराबरको अकबरे खुर्सानी बिक्री गर्दै आएको छ। तर यस वर्ष आधाले कमी आएको किसानहरुको भनाइ छ। जिल्ला कृषि विकास कार्यालयले पनि यस वर्ष खुर्सानी उत्पादनमा १५ प्रतिशतले गिरावट आएको जनाएको छ।

कार्यालयका बाली संरक्षण अधिकृत सागर विष्टले किसानहरुले माटोको उपचार नगर्दा रोगकिराको संक्रमण फैलिएको हुन सक्ने बताउनुभयो। गत वर्ष जिल्लाबाट २२ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको अकबरे खुर्सानी निर्यात भएको थियो। कूल १ सय ६७ हेक्टर क्षेत्रफलमा ८ सय ९७ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो, जसमध्ये चिलिङदेन गाविसबाट मात्रै ५२ हेक्टर क्षेत्रफलमा २ सय ९६ मेट्रिकटन खुर्सानी ७ करोड ४० लाख रुपैयाँको निर्यात भएको थियो।

जिल्लाको चिलिङदिनसँगै नाँगी,यासोक, रानीगाउँ, स्याबरुम्बा, बलने, पौवासारताप, आङसराङ, रवि, कुरुम्बा, लिम्बा, दुर्दिम्बा र सराङडाँडाका किसानहरूले अकवरे खुर्सानी व्यावसायिक रुपमै उत्पादन गर्दै आएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.